विकास बैंकहरु मध्ये धेरै नाफा कमाउनेमा गरिमा बैंक

वालिङ ।
ग्रामिण क्षेत्रमा स्थापना भएर राष्ट्रिय स्तरको बैंक हुन सफल भएको गरिमा विकास बैंकले नाफा कमाउनेमा अग्रस्थान ओगेटेको छ । नेपालका विकास बैंकहरुमध्ये नाफा कमाउनेमा गरिमा विकास बैंक पहिलो हुन पुगेको हो । सामाजिक उत्तरदायीत्वमा समेत अग्रस्थानमा सहयोगी बन्दै आएको गरिमा बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासिकमा नाफा कमाउन अब्बल भएको छ । बैंकले सो अवधिसम्म ५५ करोड ५८ लाख रुपैयाँ नाफा कमाएर सर्वाधिक मुनाफा कमाउने विकास बैंक बन्न सफल भएको छ । नाफा सगै सामाजिक उत्तरदायीत्वमा समेत बैंक निकै अगाडी देखिएको छ ।

त्यस्तै, मुक्तिनाथ विकास बैंक दोस्रो स्थानमा छ । बैंकले ५० करोड ३१ लाख रुपैयाँ नाफा कमाएको छ । स्याङ्जा सदरमुकाम पुतलीबजारमा स्थापना भई राष्ट्रिय स्तरको बैंक हुन पुगेको मुक्तिनाथ विकास बैंक पनि सामाजिक उत्तरदायित्वमा निकै सहयोगी भुमिका निर्वाह गर्दै आएको छ । गरिमा र मुक्तिनाथ विकास बैंक स्याङ्जाको वित्तिय क्षेत्रका लागि पहिचान बनाएका बैंक हुन् । तेस्रो बढी नाफा कमाउनेमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक रहेको छ । शाइन रेसुङ्गाले ३३ करोड ८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

यसका साथै कामना सेवा विकास बैंकले ३२ करोड २४ लाख, महालक्ष्मी विकास बैंकले २८ करोड ७४ लाख, ज्याति विकास बैंकले २५ करोड १ लाख, लुम्बिनी विकास बैंकले १४ करोड ७६ लाख, मितेरीले २ करोड ५८ लाख, कर्पोरेट डभलपमेन्टले १ करोड ७ लाख रुपैयाँ र ग्रीन डेभलपमेन्ट बैंकले ८७ लाख रुपैयाँ नाफा कमाएका छन् । सप्तकोशी डेभलपमेन्ट बैंकले भने ५ करोड ७८ लाख रुपैयाँ, एक्सेल डेभलपमेन्ट बैंकले ९ करोड ५ लाख रुपैयाँ र नारायाणी डेभलपमेन्ट बैंकले ५२ लाख रुपैयाँ घाटा ब्यहोरेका छन् ।

चालु आर्थिक बर्षको दोस्रो त्रैमासिक वित्तिय विवरण हेर्दा विकास बैंकहरुको मुनाफा १६.०८ प्रतिशतले बृद्धि भएको देखिन्छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा विकास बैंकहरुले २ अर्ब ५३ करोड ४५ लाख रुपैयाँ नाफा कमाएका छन् । यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा १६ प्रतिशत बढी हो । गत आवको दोस्रो त्रैमाससम्म विकास बैंकहरुले समग्रमा २ अर्ब १८ करोड रुपैयाँ नाफा कमाएका थिए ।

कम्पनीको मुनाफा आर्जनको क्षमता अनुसार चालु आवको दोस्रो त्रैमाससम्म सबैभन्दा धेरै इपीएस गरिमा विकास बैंककै रहेको छ । बैंकको इपीएस १८.०५ रुपैयाँ छ भने मुक्तिनाथ बैंककोे १४.२८ रुपैयाँ रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको एनपीएल ५ प्रतिशत भन्दा बढी भएमा सो संस्थामा खराब कर्जा बढ्दै गएको र वित्तीय अवस्था नै कमजोर भएको बुझ्न सकिन्छ । तर विकास बैंकहरुमा अधिकांशको एनपीएल ५ प्रतिशतको हाराहारीमा वा सो भन्दा बढी देखिन्छ । गरिमाको ४.७२ प्रतिशत र मुक्तिनाथ बैंकको ३.९८ प्रतिशत रहेको छ ।

प्रतिक्रिया