स्थानीय तहमा किन टिक्दैनन् प्रमुख प्रशासकीय अधिकृत !

अमृत अर्याल,
स्याङ्जा ।
संघीयताको जग स्थानीय तह हो । स्थानीय तहका हरेक गतिविधिहरुलाई नागरिकहरुले नजिकबाट नियालिरहेका हुन्छन । साथै नागरिक स्थानीय सरकारको सुखदुखका सारथी बन्न चाहन्छन । नागरिकप्रतिको जिम्मेवारी एवं प्रतिवद्धता र आफ्नो कर्मभूमिप्रतिको सपना पुरा गर्न स्थानीय तहका प्रमुखहरुमा समेत दीर्घकालीन सोच, संकल्प र कार्ययोजना हुने गर्दछ । त्यो कार्ययोजना कार्यन्वयन गर्ने एक प्रकारको हुटहुटी नै हुने गर्दछ । त्यो हुटहुटीलाई अनुभूति हुने गरी साकार पार्न असल र काविल प्रशासकीय अधिकृतको खोजीमा समेत हुन्छन स्थानीय तहको राजनीतिक नेतृत्व । त्यस्तै जनता र राष्ट्रको हितमा सेवा गर्ने कसम खाएर सरकारको सिन्दुर लगाएका राष्ट्रसेवकहरु समेत त्यस्तै स्थानीय प्रमुख र पालिकाको खोजीमा हुन्छन ताकी आफ्नो सोच, इमान, क्षमता र दक्षताको भरपुर उपयोग गरी नमूना प्रशासक बन्न सकियोस । तर विविध कारणले स्थानीय तहहरुमा प्रमुख प्रशासकीय अधिकृत टिक्न सकेका छैनन् ।

पछिल्लो समय स्याङ्जा जिल्लाको हरीनाश गाउँपालिका, चापाकोट, भीरकोट र वालिङ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतहरुको छिटो छिटो सरुवा हुने गरेको छ । नयाँ को आउने हुन् कहिले आउने हुन् थाहा छैन । तर बहालवाला अधिकृतहरु पालिकामा हाजिर भएको धेरै दिन नहुदै बिदा लिएर अन्यत्र सरुवाको खोजीमा मन्त्रालय धाउन थालेका छन् । सामान्यतया कर्मचारी सरुवा नियमित प्रक्रिया हो । आम नागरिकलाई यसबारे त्यति चासो पनि रहँदैन । तर स्याङ्जाका अधिकांश स्थानीय तहमा यो अहिले चर्चाको विषय बनेको छ ।

२०८१ कार्तिक १२ गते प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्मा सरुवा भएर गएपछी हरीनाश गाउँपालिका २ महिनासम्म प्रमुख प्रशासकीय अधिकृत विहिन हुनपुग्यो । ६४ दिनपछी पुस १६ गतेबाट शिवकुमार पौडेल प्रमुख प्रशासकीय अधिकृतको रुपमा हाजिर भएपछी अहिले बल्ल पालिकाका कामहरु सुचारु भएका छन् । मंसिरमा प्रमुख प्रशासकीय अधिकृत ध्रुव खनाल सरुवा भएपछी चापाकोट नगरपालिकाले १ महिनापछी मात्र प्रशासकीय अधिकृत पाएको छ । चापाकोटमा पुस २० गतेबाट मात्र रमेश गौतमले प्रमुख प्रशासकीय अधिकृतको रुपमा हाजिर भै कामकाज सुरु गरेका छन् ।

२०८१ असोज ६ गते धर्मराज ढुंगाना सरुवा भैसकेपछी प्रमुख प्रशासकीय अधिकृतको रुपमा भीरकोट आएका थमनसिंह गौतम १ महिना पनि बसेनन् । पुस २४ गते तानसेनबाट सरुवा भै भीरकोट हाजिर भएका हरीराम नागिला पनि आएको केही समयमै बिदामा बसेका छन् । तेजराज शर्माको सरुवा भएपछी केही समय खाली रहेको वालिङमा असोज १३ गतेदेखि गंगालाल सुवेदी प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत छन् । उनी पनि पाएसम्म सरुवा हुने मनस्थितीमा देखिन्छन् । केन्द्रको नीति गतिलो नभएको र आफुखशी मनोमानी गर्न नपाएर प्रमुख प्रशासकीय अधिकृतहरु हिड्ने गरेको जनप्रतिनिधिहरुको आरोप छ ।

किन टिक्दैनन् स्याङ्जाका पालिकाहरुमा प्रशासकीय अधिकृत ? यतिबेला सबैको चासो र जिज्ञासा बनेको छ । निजामती सेवामा अब्बल ठहरी पास भएका कर्मचारीहरु स्याङ्जामा आउँदा फेल भएकै हुन त ? कर्मचारी फेल भएका हुन् वा स्थानीय सरकार ? आखिर के गरिन्छ स्याङ्जाका पालिकाहरुमा जसले गर्दा कर्मचारीहरु यहाँ काम गर्न सक्दैनन् बरु सरुवा हुन्छन् वा गराइन्छन् ? किन बारम्बार निमित्तको भरमा काम चलााइन्छ ? यो प्रसंगले यहाँका केही पालिकाहरुको सुशासनलाई बारम्बार गिज्याई रहेको छ । प्रमुख प्रशासकीय अधिकृत बारम्बार सरुवा गरिनुले स्थानीय सरकारले सदाचार र सुशासनको बाटो बिराएको प्रष्ट आभास हुन्छ । समग्र पालिकाको विकास र समृद्धिको हितलाई सर्वोपरि ठानेर पालिकाहरु सुध्रिनु पर्छ । आफ्नो राजनैतिक अभिष्ट पूरा गर्न दवाब दिएर हुँदैन् । विधिसम्मत चल्नुपर्छ । पालिकाको हितमा सबै पक्षको हातेमालो जरुरी छ । स्थानीय सरकारको टाउकोमा मात्र सबथोक थोपर्नु जायज हुँदैन ।

स्याङ्जाका केही स्थानीय तहहरुमा प्रमुख प्रशासकीय अधिकृत नहुँदा शिक्षक÷कर्मचारीहरुले तलब खान पाएका छैनन् । ठुला योजना संझौता नहुँदा योजनाको काम सुरु हुनै सकेको छैन । सामाजिक सुरक्षा भत्ताको पर्खाइमा रहेका जेष्ठ नागरिकहरुत्यसै अलपत्र परेका छन् । नक्सा पास नहुँदा निर्माण कार्य रोकिएको छ । स्थानीय तहको राजीनितक नेतृत्व स्थानीय तहको सत्ताको मियो हो । पालिका हाँक्ने व्यक्ति आफैमा दुरदृष्टि सोच र संकल्प नहुँदा शासन संचालन, सेवा प्रवाह र विकास निमार्ण सम्बन्धी निर्णय गर्दा आफू जोमिख नलिने, निर्णयमा ढिलाई गर्ने, निर्णय नै नगर्ने, पटक पटक निर्णय परिवर्तन गर्ने, निर्णयको अपनत्व नलिने र निर्णय कार्यन्वयनमा निस्कृय रहने जस्ता प्रवृत्ति देखा परिरहन्छ । जसले गर्दा प्रशासकीय प्रमुख र राजीनितक नेतृत्व बीचमा अविश्वास सिर्जना भइ द्धन्दको घाउँ लाग्न सुरु हुन्छ । कतिपय अवस्थामा अदृश्यरुपमा हलो अड्काउने गोरु चुट्ने भूमिकामा समेत राजनीतिक नेतृत्व हुन्छन ।

प्रतिक्रिया