शिक्षकहरु समाजका ऐना ः उपसभापति तिवारी

वालिङ ।
नेपाली काँग्रेस गण्डकी प्रदेशका उपसभापति कल्पना तिवारीले शिक्षकहरु समाजको ऐना भएको बताएकी छन् । नेपाली कांगे्रसको शुभेच्छुक संस्था नेपाल शिक्षक संघ हरिनास गाउँपालिकाको छैठौँ स्थानीय प्रतिनिधि सभाको उद्घाटन गर्दै उपसभापति तिवारीले लाखौं बालवालिकालाई उज्यालो छर्ने शिक्षक समाजको ऐना भएको बताएकी हुन् । विसुद्ध शिक्षकहरुको हकहितका लागी स्थापित नेपाल शिक्षक संघले शिक्षकहरुको पेशागत दक्षता विकास गर्दै शैक्षिक गुणस्तरमा प्रतिवद्ध भएर लाग्न सबै शिक्षकहरुलाई उपसभापति तिवारीले बताइन् । शिक्षा कमजोर हुँदा समाज हुदै मुलुकनै कमजोर हुन्छ उपसभापति तिवारीले भनिन्,‘शैक्षिक गतिविधिमा शिक्षकहरु इमान्दारी बन्नुपर्छ ।’ गुणस्तरीय शिक्षामा शिक्षकहरुले ध्यान दिएमा लाखौ बालबालिकाको भविष्य सुनिश्चित हुन्छ उनले भनिन् । शिक्षा र शिक्षक समाजका अंग भएकाले शिक्षकहरुमा ठुलो जिम्मेवारी रहने उपसभापति तिवारीले बताइन् ।
हरिनास गाउँपालिकालाई शिक्षा र विकासमा अगाडी लैजान शिक्षक र जनप्रतिनिधिको महत्वपुर्ण भुमिका हुने उनले बताइन् । गण्डकी प्रदेश सांसद समेत रहेकी उपसभापति तिवारीलेले जनप्रतिनिधिले विकासमा दलगत स्वार्थ त्याग्नुपर्ने बताइन् । विकासमा राजनीति गर्दा जनप्रतिनिधिको भुमिकामा प्रश्न उठ्छ उपसभापति तिवारीले भनिन्,‘सबैको साझा जनप्रतिनिधि बनेर विकासका योजनामा काम गर्नुपर्छ ।’ नागरिकले ल्याएका योजनालाई कुनै दलगत होइन, साझा रुपले हेर्नुपर्छ उनले भनिन् । नागरिकका अपेक्षा धेरै र राज्यकोषमा बजेट थोरै हुँदा काम गर्न कठिनाई हुने गरेको बताउदै सांसद तिवारीले आवश्यकता अनुसार विकासका योजनाको काम गर्दै जानुपर्ने बताइन् । हरिनास गाउँपालिकाको विकासका लागी आँफूले संसदमा आवाज उठाउने बताउँदै विकास निर्माणका पक्षमा कुनै दलगत स्वार्थ आफ्नो नरहेको बताइन् ।
कार्यक्रममा नेपाल शिक्षक संघ स्याङ्जाका अध्यक्ष पशुपति पौडेल, नेपाली कांगे्रस गण्डकी प्रदेश सदस्य धु्रवप्रसाद शर्मापंगेनी, सोमनाथ लम्साल, नेपाली कांगे्रस हरिनास गाउँपालिका सभापति टोपबहादुर भुजेल, नेपाल शिक्षक संघ अर्थ सचिव कमल लम्साल, रेडियो आँधीखोलाका अध्यक्ष शान्ता थापालगायतले शिक्षकहरुले आफ्नो अधिकार सगै जिम्मेवारीलाई समेत लक्ष्य अनुसार काम गर्नुपर्ने धारणा सहित शुभकामना व्यक्त गरेका थिए । कार्यक्रम नेपाल शिक्षक संघ हरिनासका अध्यक्ष सुरज मानन्धरको सभापतित्वमा सम्पन्न भएको थियो ।
प्रतिक्रिया