स्याङ्जामा एचपिभी खोपको तयारी पुरा

स्याङजा ।
माघ २२ गतेबाट शुरु हुने एचपिभी खोप अभियानको तयारी पुरा भएको जानकारी दिइएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय पुतलीबजार स्याङ्जाले एचपिभि खोप अभियान—२०८१ का बारे अन्तरक्रिया एवम् गोष्ठिमा जिल्लाभर संचालन हुने एचपिभी खोप अभियानको तयारी पुरा भएको जनाएको हो । महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सर विरुद्ध एचपिभि खोप अभियान अन्तर्गत स्याङ्जाका ११ वटै स्थानीय तहमा खोप लगाईदै छ । देशभर यो खोप अभियान यही माघ २२ देखि फागुन ६ गते सम्म कक्षा ६ देखि १० सम्मका छात्राहरू र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीहरूलाई एचपिभी खोप दिने लक्ष्य नेपाल सरकारको छ ।

प्रदेश जनस्वास्थ्य कार्यालय पुतलीबजार स्याङ्जाले आयोजना गरेको अभिमुखीकरण गोष्ठिमा जिल्ला खोप समन्वय समितिका पदाधिकारीहरु र पत्रकार तथा सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा महिलाको पाठेघरको मुखको क्यान्सर बारे जानकारी, संक्रमणका लक्षण, रोकथामका उपाय, अभियानमा प्रयोग हुने एचपिभी खोपको परिचय, खोप सेवा सञ्चालनको पृष्ठभूमिसाथै खोप सेवा सञ्चालनको औचित्य, खोप सेवाका लक्षित उमेर समूह र संख्या तथा खोप अभियान सञ्चालन कार्यनीति बारे जनस्वास्थ्य प्रशासक केशवप्रसाद चापागाईंले जानकारी दिए । ११ ओटै पालिकाको अभिलेख तयार गरिसकेको र सत् प्रतिशतलमा यो खोप लगाइने लक्ष्य लिइएको जनस्वास्थ्य प्रमुख चापागाईले बताए । सबै पालिकाहरुका स्वास्थ्य संस्थामा शुक्रवार बेलुका सम्म खोप उपलब्ध गराइने समेत उनले गोष्ठिमा जानकारी गराए । जिल्लाका ११ वटै पालिकामा ९ हजार ३ सय १९ जनालाई एचपिभी खोप दिइने छ । खोप लगाईसकेपछि खोप कार्ड सुरक्षित राख्नुपर्ने स्याङ्जाका जनस्वास्थ्य प्रमुख चापागाईंले बताए ।

जिल्लामा ३ सय १९ खोपकेन्द्रमा स्वास्थ्यकर्मी र स्वयंसेवकहरुको सहयोगमा एचपिभी खोप लगाइने छ । सबै खोपकेन्द्र तयारी अवस्थामा रहेको समेत चापागाईले बताए । पुतलीबजार, वालिङ, भीरकोट र चापाकोट नगरपालिका र फेदिखोला गाउँपालिकामा २२ देखि २७ गतेसम्म तथा आँधीखोला, अर्जुनचौपारी, कालीगण्डकी, बिरुवा गाउँपालिका र गल्याङ नगरपालिकामा २२ देखि २५ गतेसम्म खोप संचालन हुने छ भने हरिनास गाउँपालिकामा २२ देखी २४ सम्म संचालन हुने आयोजकले जनाएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख श्रीप्रसाद जिटी, प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष प्रदिप कोइराला लगायतले सरकारले राखेको लक्ष्यलाई सफल बनाउन सबैले सहयोग गर्न आग्रह गरेका थिए ।

 

प्रतिक्रिया