स्याङ्जाका निर्माणाधिन सडक अनुगमन

स्याङ्जा ।
जिल्लामा निर्माणाधिन रहेका सडकहरु सगै सिद्धार्थ राजमार्ग अनुगमन गरिएको छ । बिशेषगरी संघ र प्रदेश सरकारबाट निर्माण हुन लागेका सडकहरुको अवस्था, गुणस्तरका बिषयमा जिल्ला समन्वय समितिको नेतृत्वमा अनुगमन गरिएको हो । टेन्डर भएरपनि लामो समयसम्म सडक निर्माण नगर्ने जस्ता समस्या आउन थालेपछि जिल्ला समन्वय समितिको पहलमा स्याङ्जाभित्र निर्माण गर्न लागिएका सडकको अवस्था बारे अनुगमन गरिएको समन्वय समितिका उपप्रमुख खड्कराज सुवेदीले जानकारी दिए ।
सडक डिभिजन कार्यालय पोखराका प्रमुख नवराज बराल सहित निर्माणाधिन सडकको अनुगमन गर्दै सल्लाह, सुझाव र निर्देशन दिने काम भएको जिल्ला समन्वय समिति स्याङ्जाका उपप्रमुख सुवेदीले बताए । गत महिना टोलीले सिद्धार्थ राजमार्गको राम्दीदेखी कुभिण्डे सम्मको ८० किलोमिटर र राम्दी र भीरकोटमा निर्मााधिन पूलको समेत अन्ुगमन सम्पन्न गरेको थियो । अनुगमनपछि सडक विभागले सिद्धार्थ राजमार्गको स्याङ्जा सडकखण्डमा विग्रेका ठाउँमा तत्काल बनाउन शुरु समेत गरेको छ । वालिङ र भीरकोट जोड्ने आँधीखोलामा निर्माणाधिन पूल लामो समयसम्म सम्पन्न हुन नसकेपछि यो आर्थिक बर्षभित्र पूल सम्पन्न गर्नेगरी सडक विभागका प्रमुखलाई निर्देशन समेत दिइएको उपप्रमुख सुवेदीले बताए ।
त्यस्तै माघ १६ गते गरिएको जिल्ला सदरमुकाम पुतलीबजारको घुम्ती चिसापानीको साढे ८ किलोमिटर सडकखण्डको पुतलीबजार कोल्मा र बिरूवा गाँऊपालिका ओरष्टे खण्ड लामोसमय सम्म निर्माण कार्य नहुँदा भएको कठिनाईलाई मध्यनजर गरेर टोलीले अनुगमन गरेको छ । उक्त अनुगमनमा जिल्ला समन्वय प्रमुख श्रीप्रसाद जिटी, प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, सडक डिभिजन प्रमुख नवराज बास्तोला, सडक हेर्ने इन्जिनियर, ठेकेदार कम्पनी लगायतको सहभागितामा अनुगमन गरिएको थियो । रकम अभावमा रोकिएको सडकका लागि सरकारबाट आर्थिक व्यवस्थापन गरिएपछि यो आर्थिक बर्षभित्र सम्पन्न गर्ने प्रतिवद्धता ठेकेदार कम्पनी र सडक विभागले जनाएको बताइएको छ ।
ठेकेदार कम्पनीले समयमै निर्माण नगरेर र सडक विभागले वेवास्था गरिदिदा जिल्लाका धेरै सडक र पूल अलपत्र अवस्थामा छन् । जिल्ला समन्वय समितिले अलपत्र परेका निर्माणाधिन सडक र पूलको अनुगमन थालेपछि यो आर्थिक बर्षको असार मसान्त सम्म धेरै सडकहरु समयमै सम्पन्न हुने विश्वास लिइएको छ । अव तीनैतहका सरकारहरुले निर्माण गरेका योजनाहरुको अनुगमनलाई तिब्रता दिने र सम्झौता अनुरुप समयमै निर्माण नगर्ने ठेकेदार कम्पनीलाई कारवाहीको दायरमा ल्याउने प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताइन् ।
प्रतिक्रिया