महोत्सवको लहर— स्याङ्जामा तीन दिनको फरकमा २ महोत्सव

वालिङ ।
देशभरका प्रमुख व्यवसायीक शहरहरुमा अहिले मेला महोत्सव आयोजना भइरहेका छन् । आर्थिक चलायमान बनाउने लक्ष्य राखेर उद्योगी व्यवसायीहरुका संघसंस्थाले महोत्सव गर्दै आइरहेका छन् । यस्तै लक्ष्यलाई बोकेर स्याङ्जामा तीनदिनको फरकमा दुईओटा महोत्सव हुदैछ । स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघले मंसिरमै फागुन ६ देखी १८ गतेसम्म सातौ महोत्सव गर्ने घोषणा अनुरुप तयारीलाई तिब्र बनाएको छ भने वालिङ चेम्वर अफ कमर्सले पौषको अन्तिम साता प्रथम महोत्सव फागुन ९ गतेदेखी १८ गतेसम्म गर्ने गरी घोषणा गरेर अगाडी बढेको छ ।
स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघले जिल्ला सदरमुकाम पुतलीबजार खेलमैदानमा महोत्सवको आयोजना गर्दैछ भने वालिङ चेम्बर अफ कमर्सले वालिङ खेलमैदानमा आयोजना गर्दैछ । सातौ स्याङ्जा महोत्सव प्रदेशस्तरीय कृषि, पर्यटन, अद्यौगिक व्यापार मेला २०८१ का रुपमा आयोजना गर्न लागेको संघले जनाएको छ । ‘स्याङ्जा महोत्सवको आधार, कृषि, पर्यटन नै आर्थिक समृद्धिको पुर्वाधार’ भन्ने नारा सहित आयोजना गर्न लागेको सातौ स्याङ्जा महोत्सव सम्पन्न गर्न जिल्लाका राजनीतिक दल, सुरक्षा निकाय, उद्योगी व्यवसायी, सामाजिक संघसंस्था लगायत सरोकारवालासगँ छलफल जारी राखेको संघका महासचिव रविन केसीले जानकारी दिए ।
यता ‘आर्थिक सामाजिक सम्पन्न समाज, समृद्ध वालिङ’ भन्ने नारासहित आयोजना गर्न लागिएको प्रथम पिंक सिटी महोत्सव वालिङ २०८१ नामाकरण गरी वालिङ चेम्बर अफ कमर्स महोत्सवको तयारीमा जुटेको जनाएको छ । फागुनको ९ गतेदेखी १८ गतेसम्म प्रथम वालिङ सिटी महोत्सव आयोजना गर्न लागेको वालिङ चेम्बरले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको थियो । तर पछि महोत्सवको नाम र नारा मिलेको भन्दै वालिङ उद्योग वाणिज्य संघले असन्तुष्टि जनाएपछि नाम र नारा फेरेको छ । महोत्सवको समय नजिकिदै गर्दा वालिङ चेम्बर बेला—बेलामा विवादित बन्ने गरेको छ भने स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघले आफ्नो प्रचार प्रसार देखी महोत्सवका सबै कामहरु दफावार रुपले अगाडी बढाएको छ ।
एकै समयमा दुई महोत्सव आयोजना हुँदा जिल्लाका व्यवसायीहरु केही असन्तुष्ट देखिएका छन् । मिति जुधाउनुमा को दोसी भन्ने बिषयमा दुवै संस्थाका आ—आफ्नै तर्क छन् । तर महोत्सव जुधाउदा सुरक्षा अवस्थाबारे दुवै आयोजक कति संवेदनशिल छन् भन्ने बिषयमा पनि प्रश्न उठ्न थालेको छ । महोत्सवका बारेमा सबैभन्दा बढी असन्तुष्टि वालिङका व्यवसायीहरुमा रहेको छ । हरेक दुई—दुई बर्षमा महोत्सव गर्दै आएको वालिङ उद्योग वाणिज्य संघले सार्वजनिक रुपमा असन्तुष्टि नजाएपनि आन्तरिक रुपमा वालिङ चेम्बरले गरेको महोत्सव प्रति ध्यानाकर्षण गरेको बताइएको छ ।
स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको सातौ महोत्सवको आन्तरिक तयारी पुरा गरेर फागुन २१ गते पत्रकार सम्मेलन गरी सबै सार्वजनिक गर्ने तयारीमा जुटेको संघका अध्यक्ष महादेव श्रेष्ठले जानकारी दिए । हामी अहिलेसम्म महोत्सवका लागि प्रायोजक खोज्ने क्रममा व्यस्त थियौं अध्यक्ष श्रेष्ठले भने, ‘अब हामी पत्रकार सम्मेलन गरेर तयारीलाई तिब्र बनाउने छौं ।’ यो जिल्लाको एकमात्र महोत्सव हो यही सन्देश दिनेगरी आयोजकहरु आ—आफ्नो ठाउँबाट लागेका छौं उनले भने । एक महिना अगाडी देखी महोत्सवको सचिवालय उद्घाटन गरेर सातौ महोत्सव सफल बनाउन संघका कार्यसमिति देखी साधरण सदस्य समेत तिब्रगतिमा अगाडी बढेको अध्यक्ष श्रेष्ठले बताए ।
यता वालिङ चेम्बरले तयारी पुरा हुन थालेको बताएपनि अहिले सम्म प्रचार प्रसारमा भने खासै चासो दिएको देखिएको छैन । चेम्बरका अध्यक्ष प्रकाश न्यौपानेले महोत्सव सफल बनाउन तिब्र गतिमा काम अगाडी बढाइएको बताए । वालिङका राजनीतिक दल, उद्योगी व्यवसायीहरुसगँ बसेर छलफल गर्ने तयारीमा रहेको उनले बताए । महोत्सव संचालन गर्ने स्थान खेलमैदानको जमिन टुङ्ग्याउनु भयो भन्ने पब्लिक आवाजको प्रश्नमा केही टुङ्गिएको र केही छलफलकै क्रममा रहेको बताए । सातौ स्याङ्जा महोत्सवको तयारी तिब्र बनिरहदा चेम्बरको प्रथम महोत्सवको तयारी भने वालिङ लगायत आसापासमा खासै देखिएको छैन । यसरी मेला महोत्सव आयोजना गर्दा स्थानीय उत्पादनले प्रश्रय पाएको देखिदैन । दुवै महोत्सवले स्थानीय उत्पादनलाई जोड दिनुपर्ने देखिन्छ ।
प्रतिक्रिया