अत्याधिक दोहनले आँधीखोलाको अस्तित्व संकटमा

अमृत अर्याल,
वालिङ ।
स्याङ्जाको सभ्यताको रुपमा रहेको आँधीखोलाको अस्तित्व संकटमा परेको छ । श्रवण कुमारका बुबाआमाको आँसुबाट उत्पत्ति भएको मानिएको आँधीखोलाको संरक्षणका लागि आवाज उठ्न थालेको छ । पछिल्लो समय उत्खनन् कार्यले खोलाको सतह घट्दै गएको छ । सहायक खोलाहरुको मुहान सुक्दै जाँदा आँधीखोलाको अस्तित्व संकटमा पर्ने खतरा बढेको हो । बजारका ढलहरु सोझै खोलामा मिसाउँदा प्रदूषण बढ्दै गएको छ । समयमै यसको संरक्षणमा ध्यान जानुपर्नेमा आवाज उठ्न थालेको छ । समयमै ध्यान नदिने हो भने आँधीखोलाको सभ्यता संकटमा पर्ने देखिन्छ । मानव सभ्यतासँग जोडिएको, ऐतिहासिक र पौराणिक महत्व बोकेको आँधीखोला पछिल्लो समयमा दोहनको सिकार बन्दै गएकाले यसको रोकथाम र संरक्षणमा स्थानीय सरकारहरु पनि मौन छन् ।

जिल्ला समन्वय समितिका उपप्रमुख खड्कराज सुबेदी भन्छन्, ‘आँधीखोलामा पहिला पानीमुनी देखिने ढुंगा अहिले धेरै माथि आइसकेका छन्, यो जथाभावीरुपमा खोलाबाट ढुंगा, गिट्टी, बालुवा उत्खनन् कार्यबाट निम्तिएको संकट हो’ सुबेदीले भने, ‘स्थानीय तहहरुले वातावरणीय प्रभाव मूल्याङ्कन नगरी हचुवाको भरमा उत्खनन गरेका छन् । स्थानीय तहहरु रोयल्टीको लोभमा पर्दा आँधीखोला मासिदैछ ।’ आँधीखोलाको किनारमा रहेका बजारका ढलहरु सिधै मिसाउँदा खोलामा प्रदूषण बढ्दै गएकाले बेलैमा यसको नियन्त्रण र ढलको व्यवस्थापनमा ध्यान दिनुपर्ने उनले बताए । स्याङ्जाको सभ्यता तथा अमूल्य गहनाको रुपमा रहेको आँधीखोलाको संरक्षण र संवद्र्धनमा यहीँका नीति निर्माता र नागरिक पहिला सचेत हुनुपर्नेमा सुबेदीको जोड छ ।

खोलाबाट जथाभावीरुपमा ढुंगा, गिट्टी र बालुवाको दोहन रोक्नुपर्ने अवस्था छ । आँधीखोला स्याङ्जाकै गहना र सभ्यतासँग जोडिएकाले यसको संरक्षणका लागि सबैले आ–आफ्नो ठाउँबाट लाग्नुपर्ने बताइएपनि स्थानीय तहहरु भने उत्खननमै सक्रिय देखिन्छन् । आँधीखोला गाउँपालिका, पुतलीबजार नगरपालिका, भीरकोट नगरपालिका, वालिङ नगरपालिका, गल्याङ नगरपालिका र कालीगण्डकी गाउँपालिका हुँदै आँधीखोला बग्छ । उत्पत्ति भएको अन्धाअन्धी दहदेखि आँधीमुहान (मिर्मी) पुग्दासम्म जिल्लाका मुख्य मुख्य बजार यही खोलाको किनारमा अवस्थित छन् ।

स्थानीय तहले ठेकेदार कम्पनीमार्फत नदीजन्य पदार्थ गिट्टी, बालुवा, ढुंगा उत्खनन गर्ने गरे पनि कहीकतै अवैध रुपमा उत्खनन भइरहेको पाइएको छ । एकातर्फ पालिकाले ठेक्का लगाए अनुशार उत्खनन भैरहेको छ भने अर्काेतर्फ अवैध रुपमा नदीजन्य पदार्थ गिट्टी, बालुवा, ढुंगालगायतका सामग्री उत्खनन तथा चोरी निकासी बढ्दै गएको बताइन्छ । असोजदेखि जेठसम्म नदीजन्य पदार्थ उत्खनन गर्न पाउने र स्थानीय तहको आम्दानीको बलियो स्रोत भएकाले पनि यसको उत्खनन रोकिएको छैन ।

आँधीखोलालाई स्थानीय तहहरुले कमाई खाने भाँडो मात्र बनाएको सर्वसाधारणको आरोप छ । आँधीखोलाको दोहन मात्र भयो संरक्षणमा ध्यान दिइएन भनेर गत वर्ष यहाँका नागरिकहरु आन्दोलित भएका थिए । स्याङ्जाको सभ्यता जोडिएको आँधीखोलाले अहिले क्रसर उद्योगलाई मात्र फाइदा पुगेको नदी संरक्षण मञ्चका अध्यक्ष मेघ आले बताउछन् । यहाँको आँधीखोला गाउँपालिका, पुतलीबजार, भीरकोट, वालिङ र गल्याङ नगरपालिकाले आँधीखोलाबाट बर्षेनी करोडौं रकम राजस्व संकलन गर्ने गरेका छन् । तर पनि राजस्वबाट प्राप्त रकम कमैले मात्र यसको संरक्षणमा खर्च गरेको देखिन्छ ।

अत्याधिक उत्खननले जलवायु परिवर्तन र अन्य विपदहरु निम्तिन थालेको विज्ञहरुको भनाई छ । नदीजन्य पदार्थ व्यवस्थापन कार्यविधिको दफा १२ अनुशार नदीजन्य पदार्थको दररेट राजस्व र बाडफाँडमा १० प्रतिशत नदी संरक्षणमा छुट्टाउनुपर्ने प्रावधान छ । तर सबैले त्यसो गरेको पाइदैन । यहाँका आँधीखोला गाउँपालिका, पुतलीबजार, भीरकोट, वालिङ र गल्याङ नगरपालिकाले मात्र आँधीखोलाबाट बार्षिक रुपमा ६ करोडको हाराहारीमा राजस्व संकलन गर्ने गरेका छन् । गत बर्ष भीरकोट नगरपालिकाले ३ करोड २५ लाख, वालिङ नगरपालिकाले १ करोड १३ लाख, पुतलीबजार नगरपालिकाले १ करोड १० लाख, आँधीखोला गाउँपालिकाले २८ लाख र गल्याङ नगरपालिकाले २२ लाख आँधीखोलाबाट राजस्व संकलन गरेको देखिन्छ ।

बार्षिक रुपमा आँधीखोलाबाट मात्रै ३ करोड भन्दा बढी राजस्व संकलन गरेको भीरकोटले अहिले साढे ३ करोडको लगानीमा आँधीखोलामा २ किमी भन्दा बढी तटबन्ध गरेको छ । जिल्ला सिंचाईको सहकार्यमा आँधीखोला तटबन्धलाई प्राथमिकतामा राखेर काम गरेको नगरप्रमुख गोविन्द कुमार कर्माचार्यको भनाई छ । बार्षिक १ करोड भन्दा बढी राजस्व संकलन गर्ने गरेको वालिङले आँधीखोला करीडोर निर्माणमा ध्यान दिएको पाइन्छ । आँधीखोलाबाट १ करोड राजस्व संकलन हुदाँ वार्षिक रुपमा २ करोड भन्दा बढी करिडोर निर्माणमा बजेट छुट्टाउने गरिएको लेखा अधिकृत ज्ञानप्रसाद अर्यालले बताए । पुतलीबजारले तटबन्धको क्षेत्रमा केही बजेट छुट्टाएको भएपनि आँधीखोला संरक्षणको लागि छुट्टै योजना भने देखिएन् ।

आन्तरिक राजस्व उठाउन पहल नगरेको भनेर मलेपले ताकेता गरेपछी नदीजन्य पदार्थमा ठेक्का लगाएको बताउने आँधीखोला गाउँपालिकाले खोला छेउछाउका कुलो मर्मतमै ५५ लाख खर्च गरेको देखिन्छ । नदीजन्य पदार्थको उत्खननले खोला गहिरिएर जादाँ कुलो तथा सिंचाईका लागि झन धेरै खर्च गर्नुपरेको इन्जिनियर प्रकाश पौडेलको भनाई छ । गल्याङले पनि आँधीखोलामा माछा संरक्षण लगायतका केही कुरामा अलिकति ध्यान दिएको भएतापनि आँधीखोला संरक्षणका लागि अन्य बजेट छुट्टाएको पाइदैंन ।

आँधीखोलाबाट बार्षिक रुपमा १ लाख ७० हजार ४ सय २४ घनमिटर नदीजन्य पदार्थ उत्खनन गर्ने गरिएको पालिकाहरुको तथ्याङकमा देखिन्छ । यो त वातावरणीय प्रभाव मूल्याङ्कनको प्रतिवेदन अनुशार उत्खनन भएको मात्रा हो । लुकीछीपी हुने अबैध उत्खननको गणना गर्दा आँधीखोलाबाट मात्र बार्षिक २ लाख घनमिटर भन्दा बढी नदीजन्य पदार्थ उत्खनन हुने गरेको देखिन्छ । तथ्याङक अनुशार भीरकोटले गत बर्ष ८९ हजार ९ सय ६० घनमिटर, पुतलीबजारले ३४ हजार ३ सय ८ घनमिटर, वालिङले ३३ हजार १ सय ५६ घनमिटर, आँधीखोलाले ७ हजार ५ सय घनमिटर र गल्याङले ५ हजार ५ सय घनमिटर नदीजन्य पदार्थ उत्खनन गरेको तथ्याङक छ ।

यसरी उत्खनन बढेपछी जीवनयापनको आधार बनेको आँधीखोलाले आफ्नो अस्तित्वको झोली थापिरहेको छ । स्थानीय सरकारहरुले यसको संरक्षणका केही प्रयास गरेको भएतापनि परिणाम सन्तोषजनक छैन । उनीहरुले यसलाई आम्दानीको स्रोत मात्र बनाए भन्ने आरोप लाग्ने गरेको छ । बार्षिक रुपमा वातावरणीय प्रभाव मूल्याङ्कनको प्रतिवेदन अनुशार उत्खनन गरिएको दावी गरिएतापनि खोलाको सतह घट्दै गैरहेको छ । स्याङ्जाको सभ्यतासँग जोडिएको आँधीखोला जोगाउन भन्दै नदी संरक्षण अभियानले गत बर्ष यहाँका सबै पालिकामा ज्ञापन पत्र पनि बुझाएको थियो । तर पनि उनीहरुकोले चासो दिएको देखिदैन ।

नदीजन्य पदार्थ उत्खनन कार्यविधिको दफा ५ मा नदीजन्य पदार्थको उत्खनन संकलन र बिक्रि गर्ने स्थानीय तहले त्यसरी उत्खनन संकलन गर्नुअघि प्रचलित कानुनबमोजिम प्रारम्भिक वातावरणीय परीक्षण वा वातावरणीय प्रभाव मूल्याङ्कन गराउनुपर्ने व्यवस्था छ । तर स्थानीय तहहरुले नाम मात्रको मूल्याङ्न गर्ने गरेको आरोप छ । विकासमा सारथी बनेको आँधीखोला संरक्षणमा सबैको ध्यान जानुपर्नेमा आम सर्वसाधारणको सुझाव छ । समयमै आँधीखोला संरक्षणमा तीनैतहका सरकारहरु लाग्नुपर्ने देखिन्छ । तथापी अझै बढी यसको संरक्षणमा स्थानीय सरकारहरु लाग्नुपर्छ । अन्यथा भावी पुस्ताका लागि ठुलो संकट निम्तिने छ ।

प्रतिक्रिया