वालिङमा लायन्सको सम्मेलन— ‘पर्यटन र आर्थिक विकासमा सघाउ पुग्ने अपेक्षा’

वालिङ ।
अन्तराष्ट्रिय लायन्स क्लव डिष्ट्रिक ३२५ एम नेपालको तेस्रो क्याविनेट बैठक वालिङमा हुदैछ । माघ २५ र २६ गते स्याङ्जाको वालिङमा लायन्स क्लवको क्याविनेट बैठक बस्ने भएको हो । सामाजिक क्षेत्रमा काम गर्दै आएको अन्तराष्ट्रिय संस्थाको रुपमा परिचित लायन्स क्लवको तेस्रो बैठकले अहिलेसम्म भएगरेका बैठकको समिक्षा र आगामी दिनका लागि गरिने कामको कार्ययोजना तयार गर्नेछ । बर्षमा ३ ओटा क्याविनेट बैठक बस्ने र यो पटकको बैठक स्याङ्जाको वालिङ नगरीलाई छनोट गरिएको लायन्स क्लवका गभर्नर चण्डीप्रसाद अर्यालले बताए । यस अगाडीका २ वटा बैठकहरु काठमाडौं र पोखरामा सम्पन्न भइसकेको अर्यालले जानाकारी दिए ।
बैठकले विभिन्न प्रतिवेदन पास गर्ने र समाजमा योगदान गरेका व्याक्तिहरुलाई लायन्स अवार्डबाट सम्मान गरिने कार्यक्रम समेत रहेको आयोजकले जनाएका छन् । गभर्नर अर्यालका अनुसार दुईदिने तेस्रो क्याविनेट बैठकको कार्यतालिका बमोजिम २५ गते बिशेष बैठक र २६ गते बिशेष रुपले बृहत कार्यक्रम सहित सम्पन्न हुनेछ । समापन कार्यक्रममा गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टको प्रमुख आथित्यतामा सम्पन्न हुने उनले बताए ।
दुईदिन सम्म संचालन हुने कार्यक्रममा ११ जिल्लाका लायन्सहरुको सहभागिता रहने आयोजकले जनाएको छ । स्याङ्जा, कास्की, तनहुँ, लमजुङ, गोरखा, पर्वत, बागलुङ, गुल्मी, अर्घाखाँची, काठमाण्डौं, धादिङ लगायतका जिल्लाहरुबाट झण्डै ७ सय जना लायन प्रतिनिधिहरुको सहभागिता रहनेछ । क्षेत्रीय तवरले निर्माण गरिएका लायन्स संस्थाहरु मध्ये यो ‘एम’ नामाकरण गरिएको लायन्स क्लव हो । स्याङ्जामा १५ बर्षदेखी लायन्स क्लव नामक संस्थाहरु सामजिक रुपमा सक्रिय रहदै आएका छन् । स्याङ्जामा मात्रै अहिलेसम्म ६ ओटा लायन्स क्लव रहेका छन् भने वालिङमा एउटा जुनियर लायन्स लियो क्लव पनि उत्तिकै सक्रिय रहेको छ ।
स्याङ्जामा जिल्ला सदरमुकाममा लायन्स क्लव अफ स्याङ्जा टाउन, लायन्स क्लव अफ स्याङ्जा पुतलीबजार सिटी, लायन्स क्लव अफ वालिङ सिटी, लायन्स क्लव अफ वालिङ ग्रिन सिटी, लायन्स क्लव अफ भीरकोट सिटी र लायन्स क्लव अफ गल्याङ सिटीले समाजिक रुपमा काम गर्दै आएका छन् । समाजमा परेका हरेक विपद् तथा दुखसुखमा सहयोगी बन्दै सामाजिक तथा वातावरणीय सुधारका क्रियाकलापमा लायन्स क्लवले महत्वपुर्ण भुमिका खेल्दै आएको तेस्रो क्याविनेट बैठक मुल आयोजक समितिका सचिव बिजय कोइरालाले बताए ।
दुईदिन सम्म संचालन हुने बैठकको लायन्स क्लव अफ वालिङ सिटी र लायन्स क्लव अफ ग्रिनहोम वालिङ सिटीले आयोजकको भुमिका निर्वाह गरेको कोइरालाले बताए । जिल्लाका अन्य क्लवले पनि सहयोगीको भुमिका निर्वाह गरेको कोइरालाको भनाई छ । हामी यो एतिहासिक बैठक सम्पन्न गर्ने तयारीमा छौं उनले भने, ‘वालिङमा आउने लायन पाहुनाहरुलाई खाने बस्ने व्यवस्था मिलाई सकेका छौं ।’ यो बैठकका लागि ११ जिल्लाबाट ७ सय जनाको सहभागिता रहनेछ उनले भने । ११ जिल्लाका डिष्ट्रिक ३२५ एम शाखाका १ सय ४० लायन्स क्लवहरुको यो बैठकमा सहभागिता रहने कोइरालाले बताए । यो कार्यक्रम सम्पन्न गर्न झण्डै १६ लाख खर्च हुने आयोजकले जनाएका छन् ।
वालिङ लगायत स्याङ्जा जिल्लाको आर्थिक गतिविधिसँगै पर्यटकीय प्रवद्र्धनमा यो बैठकले महत्वपुर्ण भुमिका खेल्ने आयोजकले जनाएका छन् । यहाँका उद्योगी व्यवसायीहरुलाई लायन्स क्लवसगँ जोड्ने र समाजको नेतृत्व, राष्ट्रको निर्माणमा उद्यमीहरुको भुमिका महत्वपुर्ण हुन्छ भन्ने सन्देश यो बैठकले दिने गभर्नर अर्यालले बताए । सेवामा कुनै भेदभाव नगरी सहयोग गर्नुपर्छ भन्ने सन्देश हामी लायन्सहरुले दिनुपर्छ भबक्समा रन्ने अर्को सन्देश पनि यो बैठकले दिने उनले बताए । वालिङ लगायतका आसपासका क्षेत्रमा रहेका पर्यटकीय क्षेत्रहरुको अवलोकन, धार्मिक क्षेत्रहरुको दर्शन सहित आँधीखोलाको महत्व लगायतका बिषयमा जानकारी दिने उदेश्य पनि यो बैठकमा समेटिएको आयोजकले बताएका छन् ।
बैठक आयोजक क्लवले स्याङ्जा भित्र रहेका धार्मिक तथा पर्यटकीय गन्तव्यहरुका बिषयमा प्रचारप्रसार गर्ने उदेश्यले ब्रोसर समेत प्रकाशित गरेको छ । जसले स्याङ्जामा रहेका महत्वपुर्ण पर्यटकीय र धार्मिक क्षेत्रको प्रचारप्रसारमा महत्वपुर्ण भुमिका खेल्ने आयोजकको दावी छ ।
लायन्स क्लवको इतिहास
वालिङ ।
लायन्स क्लव बिशुद्ध समाजिक सेवा गर्ने संस्था हो । यो संसारका २ सय १२ राष्ट्रमा संचालित छ । संसारभर लायन्स क्लवमा १४ लाख मानिसहरु सदस्य रहेका छन् । नेपालमा लायन्स क्लव स्थापना भएको ५४ बर्ष पुगेको छ । नेपालमा पहिलो अध्यक्ष पुर्व प्रधानमन्त्री स्वर्गिय मातृकाप्रसाद कोइराला हुन् । कोइरालाले विराटनगरबाट लायन्स क्लव गठन गरेर देशैभर भित्राएका थिए । हालसम्म नेपालमा लायन्स क्लवमा ४५ हजार सदस्य आवद्ध छन् । लायन्स क्लव स्थापना भएको झण्डै १ सय ८ बर्ष पुगेको छ । यो समयावधी सम्म लायन्स क्लवले धेरै सामाजिक विकासका कामहरु गर्दै आएको छ ।
राजनीतिक रङ्ग, लिङ्ग नदेखाई यस क्लवमा आवद्ध सबै लायन्स हौ भन्ने सन्देश दिएर अगाडी बढेको छ । जसले गर्दा समाजमा भएको सामाजिक, आर्थिक रुपान्तरणमा कुनै भेदभाव नहुने भएकाले लायन्स क्लव बिशुद्ध सेवाभाव गर्ने संस्थाका रुपमा चित्रण हुदै आएको छ । यो संस्थाले बिशेष गरेर आयआर्जन, शिक्षा, स्वास्थ्य, प्राकृतिक विपद् लगायतका क्षेत्रमा आर्थिक, सामाजिक सहयोगीको भूमिका निर्वाह गर्दै आएको छ ।
प्रतिक्रिया