वालिङ ५ का महिलालाई बीउ पाठी उपहार

वालिङ ।
स्याङ्जाको वालिङ नगरपालिका–५ का महिलाहरुलाई उत्पादनमा जोड्न बाख्राको बीउ पाठी वितरण गरिएको छ । स्थानीय दिप्का बडहरे स्वावलम्वी महिला समूहका सदस्यहरुलाई बीउ पाठी तथा बीउ बोका वितरण गरिएको हो । आर्थिक समृद्धिका लागि साझेदारी कार्यक्रम अन्तर्गत भोकालाई एक छाक भोजन होईन, जिउने जुक्ति सिकाऔँ भन्ने मुलनाराका साथ वालिङ नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोग तथा दियालो संस्थाको व्यवस्थापनमा सञ्चालन भईरहेको वालिङ कृषि विकास परियोजना अन्तर्गत बीउका रुपमा पाठापाठी वितरण गरिएको हो ।
कार्यक्रममा बोल्दै वडा नं.५ का वडाअध्यक्ष छबी आलेले महिलाहरुलाई उत्पादनमा जोड्नका लागि कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए । वडाको सहकार्यमा परियोजना मार्फत विभिन्न कार्यक्रम भईरहेको भन्दै वडा अध्यक्ष आलेले महिलाहरुलाई आर्थिक रुपमा सबल बनाउन सवैको सक्रियता आवश्यक रहने बताए । कार्यक्रममा पूर्ब वडा अध्यक्ष ढाकाराम पंगेनीले सामान्य घरायसी खर्च आफैले जुटाउनु पर्ने बताउँदै समूहमा आवद्ध भएर काम गर्दा सहज हुने हुँदा भविष्यका लागि बचत गर्न समेत सुझाव दिए ।
समूहकी अध्यक्ष एकमाया मल्लले समूह गठनको छोटो समयमा नै सुधारिएको खोर निर्माण, नियमित बचत जस्ता काम सुरु गरिसकेको जानकारी दिईन् । महिलाहरु बिच सामुहिकताको भावनामा विकास गर्न कार्यक्रमले सहयोग गरेको उनको भनाई छ । कार्यक्रम अन्तर्गत दिप्का बडहरे महिला स्वावलम्वी समूहका १७ जना सदस्यहरुलाई पाठापाठी वितरण गरिएको परियोजना संयोजक राधाकृष्ण डुम्रेले जानकारी दिए ।
प्रतिक्रिया