अवको शिक्षा प्रविधिमैत्री हुनुपर्छ ः सांसद तिवारी

वालिङ ।
स्याङ्जाको वालिङ ६ मा रहेको राष्ट्रिय माध्यमिक विद्यालयले ६९ औं बार्षिकोत्सव तथा अभिभावक दिवस एक समारोहका विच सम्पन्न गरेको छ । विद्यालयको ६९ औं बार्षिकोत्सव उद्घाटन गर्दै गण्डकी प्रदेशका सांसद कल्पना तिवारीले अवको शिक्षा प्रविधिमैत्री हुनुपर्ने बताएकी छन् । प्रविधिले फड्को मारेका बेला हामीले हाम्रा विद्यार्थीहरुलाई प्रविधिसगँ जोडेर अध्यापन गराउनुपर्नेमा जोड दिएकी हुन् । प्रविधि र व्यवसायिकता शिक्षामा आजैदेखी जोड्न सकेनौ भने भोलीका दिनमा हाम्रा सन्ततिले दुःख पाउने सांसद तिवारीको भनाई थियो । विद्यालयको भौतिक विकासमा आफ्नो तर्फबाट हुन सक्ने सहयोग रहने भन्दै सांसदहरु भनेको कानुन बनाउने भुमिका खेल्ने पद रहेको बताउदै सांसद तिवारीले गण्डकी प्रदेश सरकारलाई कानुनले बलियो बनाउने अभिभारा समेत बोकेको बताइन् । गुणस्तरीय शिक्षा बनाउने जिम्मेवारी नेपालको संविधानले स्थानीय सरकारलाई दिएको बताउदै सांसद तिवारीले शिक्षक, अभिभावक र विद्यार्थीनै बढी जिम्मेवार रहनुपर्ने धारणा व्याक्त गरिन् । विद्यार्थीमा भएको प्रतिभाको खोजी गरि प्रथामिकताका आधारमा शिक्षण दिन सकेमा विद्यार्थीको भविष्य उज्यालो हुने सांसद तिवारीको भनाई थियो ।
नेपालको संविधानले महिलाहरुलाई नेतृत्वमा पुग्न सहज बनाएको स्मरण गर्दै महिलाहरुले यस्ता अवसरहरुको सदुपयोग गर्न समेत आग्रह गरिन् । लोकतान्त्रिक मुलुकमा कुनै नागरिक पढ्नबाट बन्चित हुन नहुने भन्दै सांसद तिवारीले त्यसैमा पनि महिलाहरु त झनै यो प्रणालीमा पढ्न बाट बन्चित हुन नहुने बताईन् । विद्यालयको भौतिक, आर्थिक र गुणस्तरीय शिक्षामा गण्डकी प्रदेश सरकार सहयोगी बन्ने प्रतिवद्वता सांस तिवारीको थियो ।
कार्यक्रममा वडाअध्यक्ष श्यामकृष्ण श्रेष्ठ, वालिङ नगर शिक्षा अधिकृत दुर्गा न्यौपाने गैह्रे, विद्यालयका संस्थापक अध्यक्ष तथा वालिङ बहुमुखी क्याम्पसका अध्यक्ष उदय श्रेष्ठ, विद्यालयका पुर्व अध्यक्ष लोकनाथ अर्याल, पुर्व प्रअहरु युक्तबहादुर बोगटी, हुमकान्त कोईराला, विद्यालय व्यवस्थापन सदस्य तथा वडा सदस्य तिलकुमारी थापा, समाजसेवी आनन्द पाठक, वडा सदस्य नन्दुराज अर्याल, समाजसेवी मुक्ति प्रसाद पाण्डे, रामचन्द्र केसी, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश सदस्य श्रीकृष्ण सिग्देल, वालिङ उद्योग वाणिज्य संघका महासचिव रमेश अर्याल, पुर्व शिक्षक टंकप्रसाद पाण्डे, शिक्षक लक्ष्मण रेग्मी र गिताकुमारी अर्याल लगायतका बक्ताहरुले सामुदायिक विद्यालयलाई अब प्राविधिक र व्यावसायिक विद्यार्थी उत्पादन गर्नुपर्ने तर्फ ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।
विद्यालयको ६९ औं स्थापना दिवसको अवसरमा पुर्व प्रअ युक्तबहादुर बोगटी र हुमकान्त कोइरालालाई सम्मान गरिएको थियो । साथै पुर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकनाथ अर्याललाई पनि सम्मान गरिएको थियो । विद्यालयमा उत्कृष्ट शिक्षक, शिक्षिकहरुलाई समेत सम्मान गरिएको थियो । बार्षिकोत्सव अवसरमा शिक्षक, शिक्षिकाहरुले संयुक्त नृत्य प्रर्दशन गरेका थिए भने विद्यार्थीहरुले पनि सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदमप्रसाद पाण्डेको अध्यक्षतामा सम्पन्न भएको बार्षिकोत्सव तथा अभिभावक दिवसको संचालन शिक्षक हिमलाल पंगेनीले र विद्यालयको बार्षिक प्रतिवेदन सहित आफ्नो भावीरणनीति विद्यालयका प्रअ छविलाल अर्यालले प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया