स्याङ्जाका बिरामी र कारगारका कैदीलाई फलफूल वितरण

स्याङ्जा ।
राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ को सन्दर्भ पारेर स्याङ्जामा फलफुल वितरण गरिएको छ । जिल्ला समन्वय समितिको नेतृत्वमा पुतलीबजार नगरपालिका, जिल्ला प्रशासन, प्रहरी, पत्रकारहरु लगायतको टोलीले जिल्ला अस्पताल र जिल्ला कारगारमा रहेका कैदीबन्दीहरुलाई फलफुल वितरण गरेको हो । १०४ बर्षिय निरकुंश राणा शासन अन्त्य २००७ साल फागुन ७ गते भएको दिनलाई नेपालले प्रजातन्त्रको दिवसका रुपमा मनाउदै आएको छ ।

स्याङ्जामा पनि फागुन ६, ७ र ८ गते विभिन्न कार्यक्रम आयोजना गरी राष्ट्रिय प्रजातन्त्र दिवस मनाउने निर्णय गरिए अनुसार आज फागुन ६ गते पहिलो दिन जिल्ला अस्पताल र कारागारमा रहेका कैदीबन्दीलाई फलफुल वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले जानकारी दिए । तीनैदिन सम्पुर्ण सरकारी कार्यालयमा राष्ट्रिय झण्डा फहराउने, दिप प्रज्वलन गर्ने र स्याङ्जावासीका घर—घरमा साझ दिप प्रज्वलन गर्ने निर्णय गरिएको सहायक प्रजिअ पौडेलले बताए ।

जिल्ला अस्पतालमा रहेका १८ जना उपचारत रहेका बिरामी र पुतलीबजारमा रहेको जिल्ला कारागारका १ सय ४१ कैदीबन्दीलाई फलफुल वितरण गरेको बताइएको छ । फलफुल वितरण कार्यक्रममा जिल्ला समन्वय प्रमुख श्रीप्रसाद जि.टी., पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मी, उपप्रमुख देवी अर्याल, सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेल, प्रहरी उपरीक्षक शालिग्राम शर्मा, पुतलीबजार निमित्त प्रमुख प्रशासकीय अधिकृत बाबुराम बराल, वडा नं १४ का सदस्य मुबारक मियाँ लगायतको उपस्थितिमा फलफुल वितरण गरिएको नेपाल पत्रकार महासंघ स्याङ्जाका सह—सचिव रमेश गोदारले जानकारी दिए ।

टोलीले सो अवसरमा बिरामीको अवस्था र कैदीबन्दीको बिषयमा समेत जानकारी लिएको गोदारले बताए ।

प्रतिक्रिया