बयरघारी स्वरेक मैदान पर्यटकीय सडक कालोपत्रे गरिँदै

भीरकोट ।
भीरकोटको पर्यटकीय क्षेत्र स्वरेक मैदान र बयरघारी जोड्ने ग्रामिण सडकखण्ड कालोपत्रे गर्ने काम अगाडि बढेको छ । गण्डकी प्रदेश सरकारको समपूरक योजना अन्तर्गत वडा नं. ५ को तिलहार नेटा आग्रीडाँडा सडकखण्डमा धमाधम कालोपत्रेको काम भैरहेको छ । उक्त खण्ड कालोपत्रे गर्न भीरकोट नगरपालिकाको ६० प्रतिशत र गण्डकी प्रदेशको ४० प्रतिशत लगानी रहेको योजना शाखा प्रमुख यामप्रसाद रेग्मीले बताए । नगरपालिकाले स्वरेक मैदानलाई जोड्ने पर्यटकीय सडक मार्गलाई पहिलो प्राथमिकतामा राखेर निर्माणको कामलाई अगाडि बढाएको हो ।
यसैगरी एकेकृत शहरी विकासको आर्थिक सहयोगमा अहिले बयरघारी सुन्दरबजार खण्डको काम पनि भैरहेको छ । सो सडकखण्डको कालोपत्रे गर्ने काम ०८२ असोजसम्म सम्पन्न हुनेछ । भीरकोट नगरपालिका वडा नं. ५ का स्थानीय पिताम्वर पाण्डेले भीरकोट नगरपालिकाले स्वरेक मैदान जोड्ने पर्यटकीय सडकको काम अगाडि बढाएपछि स्थानीय व्यवसायीलाई मात्रै फाइदा नभई पर्यटन क्षेत्रका लागि समेत ठूलो सहयोग पुगेको बताए । पक्की सडक बनेसँगै पर्यटकीय क्षेत्रको सम्भावना अझ बढेको छ, उनले भने, स्थानीयवासीको पनि अर्थोपार्जनमा यो पर्यटकीय सडकले अर्को फाइदा पुर्याइएको छ । अर्का स्थानीय रामप्रसाद अधिकारीले पक्की सडक बनेपछि व्यवसायलाई अगाडि बढाउन थप मद्दत पुगेको बताए । त्यस्तै भीरकोट नगरपालिका–५ का स्थानीय तथा नेपाली काँग्रेसका पार्टी सभापति यामप्रसाद अधिकारीले पक्की सडक मापदण्डअनुसारको गुणस्तरीय सामान नै प्रयोग गरेर बनाएको पाइएको बताए ।
यस्तै संघीय समपूरक अनुदानमा वडा नं. ८ मा भाग्योदय मावि देखि पखेरे चोकसम्मको सडकखण्ड पनि कालोपत्रे हुदैंछ । भीरकोट नगरपालिका र संघीय सरकारको ५०, ५० प्रतिशतको लगानीमा यो खण्ड कालोपत्रे हुने भएको हो । भीरकोटको वडा नं. ८ र ९ लाई जोड्ने सो सडक खण्ड निर्माण कार्य सम्पन्न भएपछि ओखतीपानी होमस्टे लगायत पर्यटकीय क्षेत्रको विकाससँगै स्थानीयवासीको समेत आर्थिकस्तरमा वृद्धि हुने र जीवनस्तर उकास्ने अपेक्षा गरिएको छ । भीरकोट नगरपालिकाका नगरप्रमुख गोविन्दकुमार कर्माचार्यले भने, हामीले ग्रामिण सडक कालोपत्रे र आँधीखोला तटवन्धनलाई पहिलो प्राथमिकतामा राखेका छौं । यसैगरी बयरघारी मस्जिद देखि जोगखोलासम्म र लोहाडाँडा देखि भारथानसम्मको सडकखण्डमा कालोपत्रे गर्ने कामसमेत अन्तिम चरणमा पुगेको छ । स्वरेक मैदान जोड्ने सडक पर्यटनको लागि अति महत्वपूर्ण सडक भएकाले सो सडक सम्पन्न भएपछि पोखराको पर्यटकलाई स्वरेक मैदानसम्म ल्याउन र त्यहाँबाट प्याराग्लाइडिङ गर्नका लागि निकै सहज हुने कर्माचार्यको भनाइ छ । सडकलाई प्राथमिकतामा राखेर क्रमागत योजनाको रूपमा विकास गर्ने र बहुवर्षीय योजनाको रुपमा स्वीकृत गरेर लैजाने विषयमा कुरा भइरहेको नगरप्रमुख कर्माचार्यले बताए ।
त्यससँगै बयरघारी बानेथोक देउराली जोड्ने सडक स्तरोन्नतीका लागि डिपिआर (विस्तृत परियोजना प्रतिवेदन) तयार भै आगामी बर्षबाट कार्य प्रारम्भको चरणमा रहेको कर्माचार्यले बताए । त्यस्तै संघीय सरकारको विशेष अनुदानमा आँधीखोलामा स्थायी तटबन्ध निर्माण कार्यलाई तीव्रता दिइएको छ । सो तटबन्ध निर्माण कार्य सम्पन्न भएपछि भीरकोटका खेतीयोग्य जमिनको संरक्षण हुने नगरपालिकाको दावी छ । यो वर्ष मात्रै आँधीखोलाको वारीपारी गरेर २ हजार ३ मिटर स्थायी तटवन्ध गरिने भएको छ । सडकसँगै पुल, भवन र सिँचाइसहित दर्जनौ योजनाको डिपिआर तयार गर्ने काम सम्पन्न भइसकेको कर्माचार्यको भनाइ छ।
प्रतिक्रिया