शैक्षिक अवस्था सुधार्न भीरकोटको चासो

भीरकोट ।
गत वर्षको एसईई परीक्षामा शैक्षिक गुणस्तर खस्केपछि भीरकोट नगरपालिकाले विद्यालयको अवस्था मापन गर्न कक्षा ३ र ५ मा समेत नगरपालिकास्तरीय परीक्षा सञ्चालन गर्ने नीति अघि सारेको छ । गत शैक्षिक सत्रमा कक्षा १० को एसईई परीक्षामा थोरै विद्यार्थी उत्तीर्ण भएपछि भीरकोट नगरपालिकाले शैक्षिक गुणस्तर सुधार्न विशेष कार्यक्रम चलाउने भएको छ । नगरपालिकाको शिक्षा समितिले शिक्षक र विद्यार्थीबीचको अनुपात मिलाउन तथा शिक्षकलाई व्यावहारिक शिक्षणमा लाग्न आग्रह गरेको छ । ‘हाम्रा विद्यालयको शैक्षिक अवस्था कमजोर रहेछ, अब, नसुधारी भएन,’ नगर शिक्षा समितिका संयोजकसमेत रहेका नगरपालिकाका प्रमुख गोविन्द कुमार कर्माचार्यले भने, ‘अब हामी जगबाट सुधार गर्ने अभियानमा लागिपरेका छौं । तलको जग बलियो नगराउने अनि एसईईमा फेल भए भनेर हुन्छ, त्यसैले अहिले कक्षा ८ को अतिरिक्त कक्षा ३ र ५ को समेत नगरस्तरीय परीक्षा संचालन गर्दैछौं’ यसबाट हरेक विद्यालयको स्तर मापन हुने र कमीकमजोरी सुधार गर्न मद्दत पुग्ने कर्माचार्यको विश्वास छ ।
‘सबै विद्यालयका उत्तरपुस्तिका ‘क्रस विद्यालय चेक’ प्रणालीमार्फत जाँच्ने व्यवस्था मिलाइएको छ । यसबाट विद्यालय र विद्यार्थीको शैक्षिक गुणस्तर मापन गर्न सजिलो भएको छ,’ प्रमुख कर्माचार्यले भने । उनका अनुसार कमजोर नतिजा ल्याउने विद्यालयलाई माथि उकास्न मुख्य प्राथमिकता दिइने योजना छ । कर्माचार्यका अनुसार शैक्षिक स्तर मापन गर्ने उद्देश्यले गत वर्ष कक्षा ८ र ९ को वार्षिक परीक्षालाई नगरपालिकास्तरीय बनाइएको थियो । शिक्षा समितिमार्फत एउटै प्रश्नपत्र निर्माण गरिएको थियो । नगर प्रमुख कर्माचार्यले शैक्षिक अवस्था सुधार्न शिक्षामा लगानीसमेत बढाएको बताए ।
नगरपालिकाभित्रका १८ विद्यालयले कक्षा ८ को र २९ विद्यालयले कक्षा ५ को नगरस्तरीय परीक्षा चैत ७ गतेदेखि सञ्चालन गर्दैछन् । ५ वटा निजी विद्यालय रहेको नगरपालिकाले सबै प्रश्नपत्र एकै स्थानमा संकलन गरेर जाँच्ने व्यवस्था मिलाएको छ। यस वर्ष नगरभित्रका १८ विद्यालयबाट कक्षा ८ को वार्षिक परीक्षामा ३ सय ७२ र २९ विद्यालयबाट कक्षा ५ को परीक्षामा ३ सय ४२ जना विद्यार्थी सहभागी हुने शिक्षा शाखा प्रमुख विष्णु कोइरालाले बताए ।
प्रतिक्रिया