राजमार्गमा उखुको जुस बेच्दै अनिल, स्वदेशमै सुन फलाउने उदाहरणीय युवा ।

क्रान्ति अर्याल, गल्याङ ।
पछिल्लो समय वैदेशिक रोजगारीको प्रभावका कारण युवाहरू देश छोड्ने क्रम तीव्र बनेको छ । गाउँघरमा श्रम गर्ने जनशक्ति घट्दै गइरहेको अवस्थामा स्याङ्जाका एक युवक स्वदेशमै परिश्रम गरेर राम्रो आम्दानी गरिरहेका छन् ।
स्याङ्जाको कालिगण्डकी गाउँपालिका-५ लुङ्सिङका ३५ वर्षीय अनिल न्यौपाने सिद्धार्थ राजमार्गको छेउमा उखुको अर्गानिक जुस बेच्दै आर्थिक रूपमा आत्मनिर्भर बनेका छन् । बिहान-बेलुका कृषि कर्ममा व्यस्त रहने अनिल दिउँसो गल्याङ नगरपालिकाको ‘जिरो’ भन्ने ठाउँमा उखुको ताजा जुस बिक्री गर्छन् । दैनिक ७०–८० गिलास जुस बेच्ने उनले प्रति गिलास ५० रुपैयाँ लिने गर्छन् । जसले राम्रो आम्दानीको स्रोत राम्रो बनेको छ । करिब तीन वर्षअघि डेढ लाख रुपैयाँको उखु पेल्ने मेसिन किनेर जुस निकाल्न थालेका अनिलले आफ्नै १२ रोपनी पाखोबारीमा उखु खेती गर्दै आएका छन् । त्यही उखुबाट जुस निकालेर राजमार्गमा बेच्ने उनको व्यवसायिक मोडल सफल देखिएको छ । अनिलले कक्षा १२ सम्म अध्ययन गरेका छन् ।
एक दशक भारतका विभिन्न ठाउँमा रोजगारी गरेर खासै आम्दानी गर्न नसकेपछि उनी स्वदेश फर्किए । यहाँ केही गर्ने अवसर देखेर उनले मेहनत गर्न थाले, जसको फलस्वरूप अहिले राम्रो कमाइ गरिरहेका छन् । स्वदेशमै श्रम गरेर सुन फलाउन सकिन्छ भन्ने उनको सफलताको कथा युवाहरूका लागि प्रेरणादायी बनेको छ । विदेश जान बाध्य युवा पुस्ताका लागि अनिल न्यौपाने एक ज्वलन्त उदाहरण हुन् ।
प्रतिक्रिया