‘नेतृत्वमा दिर्घकालिन सोच भएन भने लोकतन्त्र कमजोर बन्छ’

भोजराज अर्याल,
(सभापती)
अर्थ तथा विकास समिति,
गण्डकी प्रदेश ।

नेपाली काँग्रेसका नेता एवं गण्डकी प्रदेशका अर्थ तथा विकास समिति सभापति भोजराज अर्याल प्रत्येक व्यक्तिमा मुलुकप्रति इमान्दार रहने प्रतिबद्धता चाहिने बताउँछन् । राजनीतिक नेतृत्व र कर्मचारीतन्त्र इमान्दार भएको खण्डमा प्राकृतिक स्रोत साधानले भरिपूर्ण संसारकै सुन्दर देश नेपाललाई यहाँको अथाह जलस्रोत विकासका माध्यमद्वारा समुन्नत बनाउन सकिने धारणा उनको छ । मध्यम वर्गीय परिवारमा जन्मिएर भारतको बनारसबाट उच्च शिक्षा हासिल गरेका अर्यालले वालिङ गाविसको अध्यक्ष तथा वालिङ नगरपालिकाको मेयरको जिम्मेवारी सम्हालिसकेका छन् । हाल गण्डकी प्रदेशको अर्थ तथा विकास समितिका सभापति रहेका अर्यालसँग पब्लिक आवाज पत्रिकाका सम्पादक अमृत अर्यालले लिएको अन्तर्वार्ता ः

१. माननीय ज्यू, दिनचर्या कसरी बितिरहेको छ ?

आम रुपमा विधायिकी जिम्मेवारी पाएको हिसाबले संसदीय कार्यतिर ध्यान दिनुपर्नेहुन्छ । यतिबेला संसद चलिरहेको कारणले संसदमा जनजिविकाको सवालका विषयहरुको उठान गर्ने काम नै अहिलेको दिनचर्या बनेको छ । मैले थप जिम्मेवारी पाएको अर्थ तथा विकास समितिमा ४÷५ वटा विधेयकहरु आएका छन्, उक्त विधेयकहरुको सम्बन्धमा दफाबार छलफल, सरोकारवालाहरुसँगको छलफल साथै विषयविज्ञहरुसँग कसरी ती विधेयकहरुलाई जनसोकारका विषयहरुसँग तादम्यता मिलाउन सकिन्छ भन्नेमै दिनहरु बितिरहेको छ । ती विषयहरुका साथै विभिन्न समयमा प्रदेश अन्तर्गत संचालनमा रहेका विकास निर्माणका आयोजनाहरुको अनुगमन, मूल्याङ्कनका आधारमा प्रदेश सरकारलाई सुझाव, निर्देशन दिने कामहरु भइरहेका छन् ।

२. तपाई त पुरानो राजनीतिक पृष्ठभूमि रहेको परिपक्व नेता हुनुहुन्छ, अहिले भइरहेको संसदीय अभ्यासलाई कसरी लिनुहुन्छ ?

अहिले संसदमा अत्यन्त असल मानिस पनि आएका छन् । अहिलेको संसद् विभिन्न कोणबाट रमाइलो र अध्ययन गर्न लायक छ । ठिकै ढंगबाट अभ्यास अघि बढिरहेको छ भन्ने लाग्छ ।वास्तवमा अहिले राजनीतिक मान्यता नै बदलियो । हिजोको राजनीति सिद्धान्त, निष्ठा, त्याग एवम् बलिदानमा आधारित थियो । उदाहरणका लागि वी. पी. कोइरालाले सत्ताका लागि कहिल्यै कसैसँग सम्झौता गर्नुभएन, यदि सम्झौता गरेको भए जीवनको अन्तिम क्षणसम्म प्रधानमन्त्रीको कुर्चीमा रहिरहन सक्नुहुन्थ्यो । गणेशमानजीले राजाले किस्तीमा राखेर दिएको प्रधानमन्त्री पदको नियुक्तिपत्र बदर गरिदिनुभयो । पुष्पलालले राजाका धेरै प्रयासका बाबजुद पनि सम्झौता गर्नुभएन् । तर अहिलेका राजनीतिककर्मीहरु तथा नेताहरु हामी संघर्षका लागि मात्र आएको होइन लिनका लागि आएका हौं भनेर खुलेआमभन्छन् । राजनीतिको पुरानो मान्यता थियो नेता इमान्दार, योग्य, विश्वासिलो हुनुपर्दछ, भरोसा गर्न लायक हुनुपर्दछ तर अहिले त्यो राजनीतिक धरातल नै खलबलिएको छ । येनकेन जुनसुकै विधि अवलम्बन गरेर भए पनि राजनीतिक सत्ता प्राप्त गर्नु पर्दछ भन्दछन् । बर्तमानमा राजनीति अपराधीकरण, व्यापारीकरण, ठेकेदारीकरण र पाखुरेकरण भैरहेको छ । राजनीतिक पार्टीहरु अपराधीहरुको संरक्षणको थलो बनेका छन् ।मूलधारका राजनीतिक पार्टीहरुले राजनीतिमा आफैद्वारा भित्राइएका विकृति र विसंगतिहरुलाई समयमा नै सच्चिन र सच्याउन सकेनन् भने बर्तमान राजनीतिका केही खराब पात्रहरुलाई देखाएर पद्धतीलाई नै दोषी करार गरी नागरिकमा अझ बढी निराशा पैदा गराई लामो संघर्ष र बलिदानबाट प्राप्त उपलब्धी संघीय लोकतान्त्रिक गणतन्त्रलाई सिध्याउने कसरत हुनसक्छ बेलैमा सोचौं । नागरिकको सचेतनाले नै लोकतन्त्रलाई मजबुद बनाउँछ ।

३. यहाँलाई पञ्चायत विरुद्धको आन्दोलनको नेतृत्वकर्ता भनेर पनि चिनिन्छ, तपाईमा प्रजातन्त्र पुनःस्थापना पछीको मेयर र गणतन्त्रपछीको सांसद समेतको अनुभव छ, तुलनात्मकरुपमा यी ३ वटै परिवेशमा के भिन्नता पाउनु हुन्छ ?

पञ्चायतकाल एउटा नियन्त्रित व्यवस्था थियो । तत्कालिन समाजमा व्याप्त अन्याय, अत्याचार, सामाजिक विकृति, भेदभावका विरुद्ध विद्रोह थियो पञ्चायत विरुद्धको आन्दोलन । मानिस बोल्न, लेख्न, हिँडडुल गर्न, खान, लाउन तत्कालिन शासहरुको स्वीकृति विना पाइँदैनथ्यो । गाउँका चेलीबेटीहरु फटाहाहरुले बेचिदिन्थे । कमजोर घरानाका विधवाहरुले सतित्व धान्न मुश्किल थियो । राम्रो खेतीयोग्य जमिन सर्वसाधारणले उपभोग गर्न पाउँदैनथे । हाम्रो त्यतिबेलाको उद्देश्य भनेको ती सबै अन्याय, अत्याचार विरुद्धको विद्रोह थियो । त्यसवापत हामीले धरपकड, थुनछेक, कुटाई, पिटाई, जेलनेल लगायत जहाँदेख्यो त्यहीँ गोली ठोक्ने आदेश, टाउकाको मूल्य तोक्ने सम्मका दुष्चक्रहरुको सामना ग¥यौं । त्यसपछी २०४६ सालको आन्दोलन मार्फत मुलुकमा परिवर्तनको ढोका खुलेको थियो । त्यसपछिका दिनहरुमा २०४९ सालको स्थानीय तहको निर्वाचनमा वालिङ गा.वि.स.को अध्यक्ष हुने अवसर प्राप्त भयो । अत्यन्तै न्यून स्रोतका बाबजुद पनि जनप्रतिनिधि र नागरिबीचको विश्वास, आत्मीयताले धेरै महत्वपूर्णं कामहरु भए । मलाई लाग्छ मेरो राजनीतिक जीवनको त्यो स्वर्णिमकाल थियो । २०५४ मा हाम्रै सक्रियतामा आसपासका ३ ओटा गा.वि.स. मिलाएर नगरपालिका स्थापना भयो । सौभाग्यले उक्त नगरपालिकाको प्रथम नगर प्रमुख बन्ने अवसर प्राप्त भयो । आम नागरिकहरुसँगको सहकार्य र एक अर्काप्रतिको विश्वासका कारण तत्कालिन ५८ नगरपालिकामध्ये वालिङलाई अग्रपङ्तिकै नगरपालिकामा स्थापित गराउन सफल भयौं । मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा गइसकेपछि मुलुकमा संविधानतः ३ तहका सरकारहरुको व्यवस्था भइसकेपछि प्रदेश सभाको दोस्रो कार्यकालमा प्रदेशसभा सदस्य बन्ने अवसर प्राप्त भएको छ । यो जिम्मेवारीमा साढे २ वर्षको अनुभवको आधारमा विगतको तुलनामा सन्तुष्ट हुने आधारहरु अत्यन्त कमजोर रहेको महशुस गरेको छु । मैले माथि नै उल्लेख गरिसकेको छु, अहिले राजनीतिक मान्यताहरु बदलिएका छन् । एकअर्कामा अविश्वास बढ्दो छ । धैर्यता पटक्कै छैन । जनप्रतिनिधिहरु स्वार्थमा लिप्त छन् । संविधानतः समावेशी, समानुपातिक, समन्यायिक जस्ता विषयहरु उल्लेख भए तापनि यी सबै शब्दवलीहरुमा मात्र सीमित छन् । जसको हातमा जिम्मेवारी आयो आफ्नै मात्रै स्वार्थ पुरा गर्ने भावनाबाट ग्रसित छ । त्यसैले विगत र अहिलेको राजनीतिको तुलनात्मक मूल्याङ्कन गर्दा उत्साहित हुने अवस्था त्यति देखिँदैन । बर्तमान राजनीति भ्रष्टाचारको दलदलमा फसेको छ, नीतिगत भ्रष्टाचार मौलाएको छ, मूलधारका राजनीतिक पार्टीहरुमा समेत सैद्धान्तिक विचलन छ । राजनीतिक इमान्दारिता अत्यन्त दुब्लाएको छ । पार्टीहरुमा चरम गुटबन्दी छ । दीर्घकालीन सोचको अभाव छ । कर्मचारीतन्त्रले राजनीतिक नेतृत्वलाई पटक्कै टेर्देन । नागरिकमा निराशा बढ्दो छ, राजनीतिक पार्टीहरुप्रतिको विश्वास समाप्त प्रायः भएको छ । नागरिकहरु आफ्नो कर्तव्य बिर्सेका छन् । यो देश मेरो पनि हो, देश निर्माणमा मेरो पनि दायित्व छ भन्ने कुरा चटक्कै बिर्सिएको छ । पहिला पहिला बाटोघाटो निर्माणका लागि अन्य जिल्लासम्म गएर निर्माण गर्ने परिपाटी थियोभने अहिले आफ्नो घर आँगन सफा गर्न पनि स्थानीय सरकार तथा अन्य सरकारको मुख ताक्ने परिपाटी बसेको छ ।

४. गण्डकी प्रदेशको अर्थ तथा विकास समितिको सभापती हुदै गर्दा सभापतीको पाटोबाट अर्थ तथा विकास सम्वन्धि कस्तो खालको दूरदृष्टिको अभ्यास गर्दै हुनुहुन्छ त ?

आम बुझाइमा अर्थ तथा विकास समिति भन्नाले समग्र प्रदेश कै आर्थिक र विकास निर्माणको पाटो यसै समितिद्वारा निर्धारण गरिन्छ भन्ने बुझाई रहेको पाईन्छ । वास्तवमा अर्थ तथा विकास समिति भनेको प्रदेश संसद अन्तर्गतको विषयगत संसदीय समिति भनेर बुझ्नु पर्दछ । यो समिति अन्तर्गत गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, उद्योग तथा पर्यटन मन्त्रालय एवम् अर्थ मन्त्रालयहरु पर्दछन् । यस समितिले उपरोक्त मन्त्रालयहरु मार्फत भए गरेका कार्यहरु, निर्णयहरु र विकास निर्माणका कामहरु निगरानी, अनुगमन, मूल्याङ्कन र निर्देशन दिने काम गर्दछ । प्रदेश सरकारले बजेट निर्माण गर्ने समयमा बजेटलाई कसरी प्रभावकारी र आम नागरिकहरुको पहुँचयोग्य बनाउन सकिन्छ भन्ने विषयमा सरकारलाई सुझाव दिने गर्दछ । हालसम्म यस समितिले सरकारलाई दिएका सुझाव र निर्देशनहरु निम्न रहेका छन् ः प्रदेश सरकारको आर्थिक पारदर्शीता सम्बन्धमा, समावेशिता र प्राथमिकताका अधारमा योजना छनोट गर्ने सम्बन्धमा, बन्द उद्योगहरु सञ्चालनमा ल्याउने ः विशेषगरेर गोरखकाली रबर उद्योग पुनः सञ्चालनमा ल्याउने सम्बन्धमा, भृकुटी कागज कारखाना र त्यसले ओगटेको ५२ विघा जमिन सरकारको नाउँमा फिर्ता ल्याई पुनः उद्योग सञ्चालन गर्ने सम्बन्धमा, उत्पादनविहीन अवस्थामा रहेका तटीय वन क्षेत्रलाई कृषि प्रयोजनमा ल्याई युवाहरुलाई स्वरोजगारीका अवसरहरु सिर्जना गर्ने, वन पैदावारलाई वैज्ञानिक रुपमा उपभोग गर्न उद्योग स्थापना गर्ने सम्बन्धमा, बढ्दो युवा विदेश पलायन रोक्न स्वदेशमै व्यवसाय सञ्चालन गर्न सुरक्षित ऋण व्यवस्था मिलाउने सम्बन्धमा, केही वर्ष अगाडि भएको अंशवण्डा तथा रजिष्ट्रेशन दस्तुरमा अस्वाभाविक रुपमा भएको बृद्धिलाई सुधार गर्दै अन्य करका क्षेत्रहरुको खोजी गरी करको दायरा बृद्धि गर्ने सम्बन्धमा, पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट बाहिरिने यात्रुहरुलाई घुम्ति बस सेवा सञ्चालन गर्ने सम्बन्धमा, महंगी नियन्त्रण र यातायात क्षेत्रलाई नियमित नियमन गर्ने सम्बन्धमा । यी लगायत धेरै समसामयिक विषयहरुमा सुधार र विस्तार गर्न सरकारलाई सुझाव र निर्देशन दिइएको छ ।

५. मुलुकका काँग्रेससहित प्रमुख राजनीतिक शक्तिको ध्यान लोकतन्त्रलाई सुदृढीकरणमा जोडबल हुनुपर्नेमा भागबन्डाको राजनीतिमा अल्झिन पुगे भन्ने आरोप छ, तपाईंलाई कस्तो लाग्छ ?

देशलाई ठीक बाटोबाट हाँक्न नसकेको विषय सबैमा जगजाहेर नै छ तर कोसिस भने नगरेको होइन ।लोकतन्त्रमा सक्षम सत्ता पक्ष, बलियो र जिम्मेवार प्रतिपक्ष भन्ने मान्यताका बाबजुद मुलुकमा दुईवटा ठूला राजनीतिक दलहरु मिलेर सरकार सञ्चालन गर्ने जुन काम भएको छ, झट्ट हेर्दा प्रजातान्त्रिक मूल्य र मान्यताको प्रतिकुल हो कि जस्तो लाग्छ । अत्यान्त लामो संघर्ष र बलिदानबाट प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास नभइसकेको अवस्थामा नेपालको भूराजनीतिक अवस्था र यहाँको अस्थिर राजनीतिक मनोवृत्तिका कारण विभिन्नखाले चलखेलहरुभैरहेका छन् । २०१५ साल पछि बनेको कुनैपनि निर्वाचित सरकारहरुले आफ्नो ५ वर्षे अवधि पुरा गर्न नपाएको अवस्था छ । त्यही मनोवृत्तिलाई पछ्याउँदै विभिन्नखालका गतिविधिहरुर क्रियाकलापहरु संचालन हुन थालेका छन् । इतिहासको गर्तमा पुगिसकेका संस्थाहरुलाई समेत उत्खनन् गरेर क्रियाशील गराउने र विभिन्न आवरणहरुमा मुलुकमा अराजकता, अस्थिरता र नागरिकहरुमा निराशा सिर्जना गर्ने कार्यहरु बढ्दै गएकोले त्यस्ता क्रियाकलापहरुको नियन्त्रणका लागि स्थायी सरकारको माध्यमद्वारा सुशासन कायम गरी भ्रष्टाचारजन्य क्रियाकलापहरुलाई नियन्त्रण गरी मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्रको माध्यमद्वारा अगाडि बढाउने उद्देश्यका साथ यो गठबन्धन निर्माण गरिएको हो । उद्देश्य अनुसार यो गठबन्धन अगाडि बढ्न सक्यो र मुलुकमा सकारात्मक ढंगबाट कामहरु अगाडि बढ्न सके भने धेरै लामो संघर्षद्वारा प्राप्त भएका उपलब्धीहरुको रक्षा गर्नसकिन्छ ।

६. मुलुक अघि बढ्न नसक्नुमा राजनीतिक क्षेत्र मात्रै दोषी हो कि अरु क्षेत्रको पनि प्रभाव छ ?

राजनीति अत्यान्त ठूलो हृदय भएका र दूरगामी सोच भएका मानिसहरुले मात्र गर्न सक्दछन् । राजनीति जटिल विषय पनि हो । भनिन्छ राजनेताले १०० वर्षको योजना बनाउँछ । राजनीतिज्ञले कम से कम ५० वर्षीय योजनाका साथ काम गर्दछ । राजनीति गर्दछु भनेर आएकाले कम से कम २५ वर्षको योजना बनाउँनुपर्छ र त्यही अनुसारको आफ्नो नीति र कार्यक्रमहरु निर्माण गर्नुपर्दछ । हाम्रोमा अहिले ५ वर्ष पछिसम्मको दिर्घकालिन सोच पनि नभएका मानिसहरु नेतृत्वकर्ताको रुपमा स्थापित भएका छन् । आज बोलेका कुराहरु एकहप्तामै विचलित भएका हुन्छन् । तिनैलाई नेता मान्ने, तिनीहरुकै नेतृत्वलाई स्वीकार गर्नुपर्ने अहिलेको हाम्रो बाध्यता हो । सानानिता कुराहरुमा पनि नेतृत्वमा रहेका मानिसहरु विवादमा तानिने अहिलेको परिपाटी जस्तै भएको छ । लोकतन्त्रमा आवधिक निर्वाचन हुन्छ, अघिल्लो निर्वाचनमा जनतासँग कबुल पुरा नगर्नेहरुलाई जनताले खारेज गरिदिने लोकतन्त्रको एउटा सुन्दर पक्ष हो ।

७. युवा विद्यार्थीको दैनिकरुपमा ठूलो संख्यामा भइरहेको विदेश पलायनललाई राज्यप्रति जनताको विश्वास घटेको वा अवसरका खोजीका रुपमा कसरी हेर्न सकिन्छ ?

भनिन्छ विज्ञानको प्रगतिको संसार सानो गाउँमा परिणत भएको छ भनेर । विदेश जानै नहुने होइन । सपनाको आकाशमा तरंगित हुने सपना देख्नु कुनै अपराध होइन । हरेक नागरिकले मलाई मेरो देश, मेरो धर्तीले मेरा लागि केही योगदान गरेको छ । मेरो घर, मेरो परिवारले पनि मेरा लागि केही योगदान गरेका छन् भन्ने भावनाका साथ हामी विदेश गयौं भने पनि हाम्रो देशप्रतिको माया, ममता र अपनत्व रहिरहन्छ । अहिले हामी धर्तीको स्वर्ग ठानेका अमेरिका, क्यानडा, अस्ट्रेलिया, बेलायत, जापान आदि देशहरु पनि धनी भएर अहिले विकसित भएका होइनन् । कुनैबेला त्यहाँको सरकारले योजना बनायो होला, त्यहाँका नागरिकहरुले रगत पसिना बगाए होलान् वा कडा परिश्रम र मेहनत गरेहोलान, त्यहाँको सरकारले इमान्दारीपूर्वक सुशासन कायम गरे होला र ती देश अहिले सबैको आकर्षणको केन्द्र बन्ने सकेका छन् । हामी अहिले ती देशहरुमा आफ्नो सुन्दर भविश्यको परिकल्पनाका साथ घरमा भएका बुढा बाबुआमा, आफ्ना परिवारलाई छोडेर हाम्रै पुर्खाले जोडिदिएको थाँतथलो बेचेर, बैंकमा धितो राखेर विदेश जानालाई हामिले ठूलै उपलब्धी मान्ने गरेका छौं । हो, हाम्रो सरकारले उनीहरुले जस्तो इमान्दारिता देखाउन सकेको छैन होला, त्यहाँका नागरिकहरुले पाउने जस्तो सेवा सुविधा उपलब्ध गराउन सकेको छैन होला, त्यहाँ जस्तो रोजगारीका अवसर दिन सकेको छैन होला, तर देश अरु कसैले बनाएर बन्ने होइन । त्यही देशका नागरिकहरुको रगत र पसिनाले सिंचिएर मात्र देश विकास हुन्छ ।अहिलेको युगमा संसारभरीका नागरिकहरु नयाँ नयाँ प्रविधिको विकासलाई नियाल्दै एक देशबाट अर्को देशमा जाने, त्यहाँबाट केही कुरा सिक्ने र आफ्नो देशमा ल्याएर लागु गर्ने प्रचलन बढेको छ । यस वर्ष ५ प्रतिशत अमेरिकनहरुले अमेरिकाको नागरिकता त्याग गरेछन् । त्यस्तै अवस्था बेलायतको पनि रहेछ । विदेश जानै नहुने होइन तर दुःखको कुरा के हो भने हाम्रा युवाहरुश्रम बेच्न, रगत र पसिना बेच्न गइरहेका छन् । अन्यत्रका युवाहरु सीप बेच्न गइरहेका छन् । हामीले पनि हाम्रो शिक्षा प्रणालीमा सुधार गरेर, हामीले उत्पादन गरेका प्राविधिक जनशक्तिहरु विदेश गएर सीप बेचेर डलर स्वदेशमा ल्याएर विकास गर्न सक्यौ भने त्यो युवा विदेश पलायन भयो भनेर चिन्ता गर्नुपर्ने विषय रहँदैन । यहाँ त जो शासक वर्गको रुपमा रहँदै आएका छन्, देशको साधन स्रोत बढी भन्दा बढी जसले उपभोग गरेका छन् यो देशका उच्च पदस्थ कर्मचारीहरु, उच्च पदस्थ कर्मचारीका छोराछोरीहरु, उच्चतहमा रहेका नेताका छोराछोरीहरु स्वदेशमा कमाएको पैसा विदेशमा लगेर त्यहाँको विलासितायुक्त जीवन जिउनका लागि पलायन हुने परिपाटी देशका लागि घातक हो ।एकथरी मानिसहरु भए गरेका सकारात्मक कामहरुलाई पनि त्यो केही पनि होइन भन्दै नागरिकमा निराशा बाँड्ने काम गरिरहेका छन् । त्यसबाट तत्काल उनीहरुलाई केही फाइदा त होला तर समग्रमा देशलाई त्यसले भलो गर्दैन ।

८. काँग्रेस एउटा पुरानो पृष्ठभूमि भएको तथा विपिको समाजवादसँग नजिक भएको पार्टी भएपनि सिद्धान्तभन्दा व्यक्ति केन्द्रित भयो भन्ने आरोप छ नि ?

नेपाली काँग्रेस अत्यान्त गर्विलो इतिहास, फराकिलो वर्तमान, उज्यालो भविष्य भएको राष्ट्रियता, प्रजातन्त्र, समाजवाद मूल आदर्श भएको राजनीतिक पार्टी ७८ वर्ष पछि पनि बदलिँदो आर्थिक, सामाजिक, राजनीतिक परिवेशमा पनि यसका मूल सिद्धान्तमा आधारभूत परिवर्तन गर्नुपर्ने अवस्था देखिँदैन । नागरिकको जीवनशैलीमा आएको परिवर्तनलाई तादम्यता मिलाउन उत्पादनमुखी अर्थतन्त्र, स्वरोजगारीका लागि उपयुक्त वातावरण, युवालक्षित स्वरोजगार प्रवर्धन कार्यक्रम, समन्यायिक वितरण प्रणाली, लक्षित वर्ग उत्थान कार्यक्रम, महिलाहरुको लागि प्रतिस्प्रधात्मक क्षमता विकास कार्यक्रम, शिक्षा प्रणालीमा समयानुकुल सुधार, सर्वसुलभ स्वास्थ्य सेवा, कृषि, पर्यटन र प्राकृतिक स्रोतको सही ढंगले परिचालन गरी देशलाई समृद्धिको बाटोमा अघि बढाउने नीति निर्माण गर्ने, वनलाई कृषि उत्पादनमा जोड्ने नेपाली काँग्रेसको नीति र सिद्धान्त अन्तर्गत पर्दछन् । तर बर्तमान अवस्थामा आफ्ना मूल्य, मान्यता र आदर्शलाई छोडेर तपाइँले भनेको जस्तै व्यक्ति केन्द्रित भयो भन्दा गलत भन्नुभयो भन्न मिल्दैन । देशमा सुशासनको अभावले भ्रष्टाचारमा व्यापक बृद्धि भइरहेको छ । नेपालको राजनीतिमा अहिले अराजनीतिक प्रवृत्ति हावी भएको अवस्था छ । अहिले एउटा वर्ग (भुइँफुट्टा) को हातमा नेपालको राजनीति गएको छ । जसलाई देश र जनतासँग भन्दा आफ्नो र आफ्नाहरुको स्वार्थसँग मात्र सरोकार छ ।

९. पछिल्लो समय राजनीतिलाई व्यवसायसँग जोडेर हेरिन थालेको छ, यसलाई कसरी हेर्नुभएको छ ?

वास्तवमा राजनीति भनेको नीतिहरु मध्येको (राजा) उच्च भएकोले राजनीति भनिएको हो । राजनीतिक मानिसहरुमा सबैभन्दा पहिला देशप्रति माया हुनुप¥यो । जनताहरुप्रति इमान्दार हुनुप¥यो । राजनीति गर्ने मानिसहरुमा इमान्दारिता झुल्किनु प¥यो । हेर्दा शालिन हुनुप¥यो, क्षमतावान हुनुप¥यो, विश्वसनीयता हुनुप¥यो यत्तिको मानिसलाई प्रतिनिधि बनायो भने भोली हामीलाई दुःख परेको बेला सहयोग गर्ला भन्ने परिवेश देखा पर्नुप¥यो । देश, निर्वाचन क्षेत्र, स्थानीय तहमा जनताको आवश्यकता अनुसार नीति निर्माण, विकास निर्माणका काममा इमान्दारिताका साथ जस्तोसुकै समस्या आइप¥यो भने पनि अभिभावकीय जिम्मेवारी निर्वाह गर्ला भनेर नागरिकलाई विश्वास दिलाउनु प¥यो । राजनीतिनितान्त सेवाभावले गरिने विषय हो । तर अहिले विभिन्न अपराधमा जोडिएका व्यक्ति, समूहहरु, तस्करहरु, सहकारी ठगहरु, ठेकेदारहरु, राजश्व छली गर्नेहरु, धनवादी र डनवादीहरुको खर्चमा पालिएका भरौटेहरुले कब्जा गरेका छन् राजनीतिक पार्टीलाई । तसर्थ राजनीतिप्रति मानिसहरुको हेर्ने दृष्टिकोण अत्यान्त नकारात्मक बन्दै गइरहेको अवस्था छ ।

१०. अन्त्यमा पब्लिक आवाजमार्फत आम नागरिकलाई के भन्न चाहनुहुन्छ ?

तपाइँको लोकप्रिय मिडिया पब्लिक आबाज मार्फत आम नागरिकलाई के निवेदन गर्न चाहन्छु भने निराशाले मानिसलाई सही गन्तव्यमा पु¥याउँदैन । राजनीतिको गति कहिलेकाहीँ सुस्त पनि हुने गर्दछ, त्यसलाई लोकतन्त्रको कमजोर पक्षको रुपमा लिने गरिन्छ । मुलुकमा केही हुँदै नभएको होइन, अलि धेरै हुनुपथ्र्यो अलि कम भएको हो । कसैको बहकावमा नलागौं, दशकौंदेखि हामी राजनीतिक परिवर्तनका लागि लड्यौं अब आर्थिक परिवर्तनका लागि लागौं । छिटो परिवर्तनको आकाँक्षाले ८÷१० वर्ष अगाडि मध्यपूर्वका देशहरुमा युवाहरुको नेतृत्वमा पूर्ण प्रजातन्त्रका लागि भनेर बृहत आन्दोलन भयो, जसलाई चमेली क्रान्ति पनि भन्ने गरिन्छ । यही क्रममा इजिप्टमा ४० औं वर्षदेखि सैनिक शासनबाट भर्खर प्रजातान्त्रिक परिपाटीबाट निर्वाचित सरकार बनेको ३÷४ वर्षमै जनता छिटो विकास चाहन्थे, सरकार त्यो दिन सकिरहेको थिएन, उक्त क्रान्तिको सिकार बन्यो, सरकार ढल्यो, पुनः इजिप्ट सैनिक सरकारको हातमा पुग्यो । अस्ति भर्खरै बंगलादेशमा विद्यार्थी आन्दोलन भयो, शेख हसिनाको सरकार ढल्यो, युवा विद्यार्थीहरु सहितको अन्तरिम सरकार बन्यो उक्त सरकारले देशमा शान्ति प्रक्रिया बहाल गर्न सकेन, सेनाले मुकदर्शक भएर टुलुटुलु हेरेर बस्न सकिँदैन भनेर भनिरहेको छ । हाम्रोमा माक्किएका, खिया लागेका पाटपुर्जाहरु अयोग्य, असक्षम, नियत खराब भएका भ्रष्टाचारीहरुलाई छानी छानी फालेर लोकतन्त्ररुपी सुन्दर बगैंचालाई सबै मिलेर गोडमेल गरौं, ७५ वर्ष भन्दा बढी समय र तीसौं हजार नागरिकको बलिदानलाई खेर नफालौं । सकारात्मक बनौं । आफ्नो पनिकर्तव्य निर्वाह गरौं भन्न चाहन्छु ।

प्रतिक्रिया