अपाङ्गताहरुलाई आयआर्जनमा जोड्ने अभियान

क्रान्ति अर्याल,
गल्याङ ।
अपाङ्गता भएका नागरिकको हक, हित तथा अधिकारको प्रवद्र्धन गर्दै उनीहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले अपाङ्गता सशक्तीकरण तथा सामुदायिक विकास केन्द्र नेपाल, पुतलीबजार–१ स्याङ्जाले स्थापनाको छोटो अवधिमै विभिन्न महत्वपूर्ण कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ । स्वयं अपाङ्गता भएका व्यक्तिहरू तथा अभिभावकहरूको सक्रियतामा स्थापना भएको यस संस्था अपाङ्गता सशक्तीकरणको क्षेत्रमा उदाहरणीय बन्दै गइरहेको छ ।
यसै क्रममा संस्थाले पुतलीबजार नगरपालिकाको सहकार्यमा अपाङ्गता भएका १० जना व्यक्ती तथा उनीहरूका अभिभावकहरूलाई एक दिने बाख्रा पालन सम्बन्धी तालिम सहित उन्नत जातका १÷१ वटा पाठी वितरण गरेको छ । कार्यक्रममा बोल्दै पुतलीबजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मीले नगरपालिकाको सहकार्यमा केन्द्रले सञ्चालन गरेका कार्यक्रमहरू प्रभावकारी भएको बताए । त्यस्तै अपाङ्गता समावेशी विकासमा संस्थाको प्राविधिक सहकार्य उल्लेखनीय रहेको र यो सहकार्य भविष्यमा पनि निरन्तर जारी रहने प्रतिबद्धता व्यक्त गरे ।
त्यस्तै नगर उपप्रमुख देवि अर्यालले तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतार्दै प्राप्त पाठीको उचित पालन पोषण गरी आयआर्जनमा जोडिन सहभागीहरूलाई आग्रह गरीन् । उक्त कार्यक्रममा पशु चिकित्सक डा. अनिल गौतमले बाख्रा पालन सम्बन्धी विविध प्राविधिक विषयमा सहजीकरण गरेका थिए । त्यस्तै संस्थाका अध्यक्ष युवराज पराजुलीले बाख्रा पालन गर्दा अपाङ्गता भएका व्यक्तिहरू तथा परिवारहरूले पालना गर्नुपर्ने मुख्य नियमहरूबारे जानकारी दिएका थिए ।
त्यसैगरी सोही कार्यक्रममा पुतलीबजार–१ निवासी क्या. चित्रबहादुर मल्लले आफ्नी धर्मपत्नी हुम कुमारी मल्लको ४५ दिनको पुण्य तिथिमा संस्थालाई प्रदान गरेको ह्विलचेयर पुतलीबजार–९ कोल्मा निवासी शारीरिक अपांगता भएका कुल बहादुर गुरुङलाई हस्तान्तरण गरिएको थियो । संस्थाले विद्यालय तथा क्याम्पसमा अपाङ्गता सचेतना अभियान, स्वयंसेवक छनौट तथा परिचालन, पैरवी, नीतिगत सहजीकरण, क्षमता अभिवृद्धि तालिम, सहायक सामग्री वितरण, ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र संचालन लगायतका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । त्यस्तै संस्थाले आगामी २०८१ साल चैत ३० गते आफ्नो स्थापनाको वार्षिकोत्सव पनि मनाउने संस्थाका अध्यक्ष युवराज पराजुलीले जानकारी दिए ।
प्रतिक्रिया