झण्डै एकहजार नागरिकको आँखा परिक्षण

वालिङ ।
वालिङ नगरपालिकाले आयोजना गरेको आँखा शिविरमा झण्डै एक हजार नागरिकको आँखा परिक्षण गरिएको छ । चैत्र २५ गतेदेखी वडागत तहमा आयोजना गरेको शिविरमा ९ सय ५ जनाले आँखा परिक्षण गरेका हुन् । हिमालय आँखा अस्पातालको प्राविधिक सहयोग, सन्दुक रोहित फाउण्डेसनको समन्वय र वालिङ नगरपालिकाको आयोजनामा चैत्र २५ देखी ३१ गतेसम्म आँखा शिविर संचालन गरिएको छ ।

वालिङ नगर स्वास्थ्य शाखाका प्रमुख कमलप्रसाद पाण्डेका अनुसार अहिले सम्म धनुबाँसे स्वास्थय चौकी, एलादी स्वास्थ्य चौकी, महेन्द्र मावि र मिर्दि शहरी स्वास्थ्य क्लिनिकमा शिविर सम्पन्न भइसकेका छन् । शिविरमा ६ सय १७ जना महिला र २ सय ८८ जना पुरुषले आँखा जाँच गराएको स्वास्थय प्रमुख पाण्डेले बताए । शिविरबाट १ सय ९ जनामा मोतिबिन्दु रोग देखिएको छ । उनीहरुको निशुल्क अपरेसन हुने पाण्डेको भनाई छ ।

आँखा मानिसको संवेदनशिल अंग हो स्वास्थ्य शाखा प्रमुख पाण्डेले भने,‘शिविरबाट धेरैजनामा मोतिबिन्दु रोग देखिनु राम्रो संकेत होइन ।’ यसको न्युनिकरण गर्न अव ६÷६ महिनामा आँखा शिविर राख्नुपर्ने देखियो पाण्डेले भने । बिशेष गरेर उमेर ढल्केपछि ६÷६ महिनामा आँखा जाँच गराउनुपर्छ तर ग्रामिण क्षेत्रका स्वास्थ्य चौकीमा आँखाको उपचार गर्ने सहज पहुँच नभएकाले यो समस्या देखिएको पाण्डेको अनुमान छ । यसको नगरपालिकाले नीतिगत निर्णय गरेर नागरिकलाई आँखामा देखिने मोतिबिन्दु रोगको न्युनिकरणमा लाग्नुपर्ने सुझाव पाण्डेको छ ।
वालिङमा लामो समयदेखी गह्रौ नगर अस्पतालमा आँखाको छुट्टै डाक्टर राखेर सेवा दिदै आएको छ । तर समयमै आँखा जाँच गराउन नागरिकले चासो नदिदा ग्रामिण क्षेत्रमा मोतिबिन्दु रोगीहरुको संख्या बढेको छ ।

नगरपालिकाले बेला—बेलामा आँखा शिविर आयोजना गर्दै आएको वालिङ नगर प्रवक्ता पदमराज गुरुङ्ले बताए । यो पटकको शिविरले हाम्रो ध्यानाकर्षण गराएको छ प्रवक्ता गुरुङ्ले भने,‘आगामी बजेटमा नीतिगत निर्णय गरेर समस्या समाधानतर्फ लाग्ने छौं ।’ प्राविधिक स्वास्थ्यकर्मीहरु सगँ छलफल र परामर्स शुरु गरेर यो समस्या समाधान गर्ने तर्फ लाग्ने गुरुङ्ले बताए । नागरिकको स्वास्थ्यमा स्थानीय सरकारको चासो रहने र समाधानमा लाग्ने प्रयत्न हुने उनले बताए ।

शिविर ३१ सम्म चल्ने नगरपालिकाले जनाएको छ । शिविरको अन्तिम दिन वालिङ १४ को स्वास्थ्य चौकीमा हुने छ । २९ गते वालिङ १३ को मगर समाज भवन बायाँटारी, ३० गते गह्रौ प्रथामिक अस्पताल वालिङ र ३१ गते वालिङ १४ मा हुने तालिका सार्वजनिक गरिएको छ । पायक पर्ने स्थानमा पुगेर आँखा जाँच गराउन नगरपालिकाले अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया