सम्पादकीय— सहकारीहरुको जवाफदेहिता खै !

वालिङ नगरपालिकामा दर्ता भएका अधिकांश सहकारी संस्थाहरुले अझै पनि वार्षिक साधारणसभाको प्रतिवेदन बुझाउन चुकेका छन् । नगरपालिकाले फागुन महिना भित्र प्रतिवेदन बुझाउन सार्वजनिक सूचनाजारी गरे पनि ६७ वटा सहकारीहरुले अहिलेसम्म पनि उक्तकार्य पुरा नगर्नु गम्भीर विषय हो । सहकारी प्रणालीलाई नेपालको आर्थिक विकासमा आधारभूत स्तम्भ मानिन्छ । यसले स्थानीय स्तरमा बचत, लगानी र स्वरोजगारको अवसर सिर्जनागर्ने महत्वपूर्ण भूमिका खेल्दै आएको छ । तर जब यस्ता संस्थाहरु पारदर्शिता र जवाफदेहिताको सवालमा उदासीन देखिन्छन्, तब तिनको उद्देश्य र विश्वसनीयता माथि प्रश्न उठ्न थाल्छ ।

वालिङ नगरपालिकाले वडाको सिफारिसका आधारमा सहकारीलाई दर्ता गर्ने प्रक्रिया अपनाएको छ, तर त्यस पछिको अनुगमन र नियमनमा कमजोरी देखिएको छ । अझ चाखलाग्दो त के छ भने, तीन महिना अघि पब्लिक आवाजले ६८ वटा सहकारी निष्क्रिय रहेको खबर सार्वजनिक गरेको थियो । यो तथ्यले सहकारीहरुको वास्तविक अवस्था झन् गम्भीर रहेको देखाउँछ । संस्थागत सुशासनको अभाव, व्यवस्थापनको कमजोरी र नियमनकारी निकायको ढिलासुस्तीले गर्दा सहकारी क्षेत्र बदनामबन्दै गएको अवस्था छ । यदि सहकारीहरु आफ्ना वार्षिक प्रतिवेदन समयमै बुझाउन असमर्थ छन् भने त्यसको सीधा अर्थ उनीहरु आफ्नो आन्तरिक सञ्चालनमा पनि गम्भीर छैनन् भन्ने बुझिन्छ ।

अबप्रश्न उठ्छ—नगरपालिकाले यस्ता संस्थाहरुलाई दर्ता मात्र गरेर पन्छिन मिल्छ ? नियमित अनुगमन, लेखापरीक्षण तथा निष्क्रिय सहकारीहरुलाई विघटन गर्ने प्रक्रिया तत्कालै अगाडि बढाइनु आवश्यक छ । सहकारीहरुलाई सेवाप्रदायकको हैसियतमा जिम्मेवार बनाउन र सदस्यहरुको हित संरक्षण गर्न स्थानीय सरकार सक्रिय बन्नु आजको आवश्यकताहो । सहकारीहरुको वास्तविकता यथार्थ रुपमा सार्वजनिक गर्न, पारदर्शिता सुनिश्चितगर्न र जवाफदेहिता कायम गर्न नगरपालिका, सहकारी विभाग र नागरिक समाजको संयुक्त प्रयास अपरिहार्य छ । यथाशीघ्र प्रतिवेदन नबुझाउने सहकारीहरुलाई कारवाहीको दायरामा ल्याएर सहकारी क्षेत्रलाई सुधार गर्ने दिशादिनु आवश्यक छ । यसो नभए, सहकारीहरु जनविश्वास गुमाउने अवस्थामा पुग्न बेर लाग्नेछैन ।

वालिङ नगरपालिकामा दर्ता भएका केही सहकारीहरुले ढिलै भएपनि वार्षिक प्रतिवेदन बुझाए तर अधिकांश अझै पछाडि परेका छन् । सहकारी शाखाका अनुसार ६७ सहकारीले प्रतिवेदन बुझाएका छैनन्, जुन गम्भीर बेवास्ता हो । नगरपालिकाले पौष मसान्तभित्र साधारणसभा सम्पन्न गरी प्रतिवेदन बुझाउन अनुरोध गरे पनि ठूलो संख्यामा रहेका सहकारीहरुले कुनै प्रयास नगर्नु दुःखद पक्षहो । प्रतिवेदन बुझाएका ३५ सहकारीले भने निर्धारित समयमै साधारणसभा सम्पन्न गरेका छन् । सहकारीहरुको उत्तरदायित्व र पारदर्शिता सुनिश्चित गर्न नगरपालिकाले अब कडा कदम चाल्नु आवश्यक देखिन्छ ।

 

प्रतिक्रिया