सम्पादकीय— नयाँ वर्षमा नागरिकमा पलाएको आशा

शनिबारदेखि विक्रम संवत् २०८१ आरम्भ हुदैंछ । बिदा भएको २०८० नेपालका लागि त्यति सुखद रहेन । अर्थतन्त्र र राजनीतिमा धेरैजसो निराशालाग्दा चित्रहरु देखा परे । सबै घटनाले गतवर्ष नेपालमा समृद्धिका लागि गरिएका प्रयासले धक्का खाएको देखाएका छन् । आउने वर्ष यी समस्यासँग जुधेर अघि बढ्ने अवस्था सिर्जना होस् । सबैलाई नयाँ वर्ष २०८१ को शुभकामना । वर्ष २०८० बिदा भएर गएको छ । हामी नेपाली नयाँ वर्ष २०८१ मा प्रवेश गरेका छौं । धेरै वर्षहरु यसरी नै वित्दै जाने हुन् । यो एउट शास्वत सत्य नै हो । समय सदा एकैनास र एकै गतिमा रही रहन सक्दैन । वर्ष वित्ने कुरा स्वभाविक छ तर समयको काल खण्डले नेपाल र नेपालीलाई स्मरण योग्य केही उल्लेख्य कोसेली छोड्न सफल रह्यो या रहेन भन्ने कुरा महत्वपूर्ण कुरा हो । राजनैतिक रुपमा मुलुक अस्थिरताको बाटोतर्फ उन्मुख भएको वर्षका रुपमा यो वर्षलाई लिन सकिन्छ । प्रचण्ड नेतृत्वको सरकारले समृद्धिको उच्च स्वरमा कुरा गरे पनि मुलुक र जनताको हितार्थ खास उल्लेख्य आर्थिक, सामाजिक, साँस्कृतिक र राजनैतिक विकास र समृद्धिको दिशामा बाटो पहिल्याउँदै हिड्ने काम भएको पाइएन ।

जनताले प्रत्यक्ष अनुभूत गर्ने किसिमका साथै जनताको दैनीकी र जीवनस्तरसँग सम्बन्ध राख्ने कुनै ठोस उपलब्धी प्राप्त गर्न सकेनांै । सामान्यतया कुनै पनि विषय, सन्दर्भ र घटनाका सम्बन्धमा चर्चा परिचर्चा गर्दा राम्रो र सुधारिएको पक्षको भन्दा सुधार गर्नुपर्ने पक्ष औंल्याउँदै उपदेश बढी दिने संस्कारबाट ग्रस्त रह्यौं यो वर्ष पनि हामी । भ्रष्टाचार नदेखिने गरी मौंलाउँदै गयो भने नियन्त्रण र नियमन गर्ने निकायमा बसेकाहरु निकम्मा सावित भए ।सार्वजनिक संस्थान, गुठी र राज्यको सम्पतिमा आँखा गाड्नेहरुलाई राज्यले नै संरक्षण गरेको पाइयो । आफ्ना नजिकका र आसेपासेलाई काखी च्याप्दा गलत संस्कार र भष्ट्राचारले बढावा पायो ।

बलात्कार, दाईजो र महिला हिंसाका जघन्य घटनाको बढावा भयो । आ–आफ्ना निश्चित विचार, दर्शन, सिद्धान्त र राजनैतिक नाराबाट टस्मस् नहुने र अहंकारको डम्फु बजाउँदै भित्तामा सिंगौरी हान्ने गलत राजनैतिक अभिष्टका कारण मुलुकले खास प्रगति गर्न सकेन । गएको वर्षमा जे–जस्ता असहमति, असमझदारी र कटुता भएपनि अव उप्रान्त सवै बेमेलहरु एकै ठाउँमा गन्थन गरेर राष्ट्रिय हित र स्वार्थका खातिर सबै एकै ठाउँमा आएर सहमति, सहकार्य र एकताको सन्देश प्रवाह गर्न यो नयाँवर्ष सफल रहोस् । कुराको आत्मरतिमा रमाइरहेको सरकारले कर्ममा विश्वास गरोस् । मुलुकको समग्र विकास प्रक्रियाले गति लेओस् । विगत जे जस्तो भएपनि आगत र भविष्य सुन्दर एवं स्वर्णिम होस् । सबैका आपसी बेमेल, कटुता, असमझदारी हटुन् । सबै नेपाली एउटै मालामा सामुहिक भावनामा जोडिन सक्ने प्रण गरौं । नयाँ बर्ष, नयाँ योजना, संकल्प र कार्यान्वयन सहितको वर्ष बनोस् वर्ष २०८१ ।

प्रतिक्रिया