स्याङ्जामा झण्डै ३५ सय मतदाताको नाम हटाइयो

श्रीकृष्ण सिग्देल,
स्याङ्जा ।
जिल्ला निर्वाचन कार्यालय स्याङ्जाले झण्डै ३५ सय मतदाताको नाम हटाएको छ । २०७९ सालमा भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन पछि निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक गरेपछि ३ हजार ४ सय ७८ जनाको नामावली हटाएको हो । मृत्यू, दोहोरो र नागरिकता त्याग गरेका आधारमा कार्यालयले मतदाता नामावलीबाट नाम हटाएको निर्वाचन कार्यालय स्याङ्जाका प्रमुख श्रीराम थापाले जानकारी दिए ।

प्रमुख थापाका अनुसार स्याङ्जामा ३ हजार १ सय ८३ जनाको मृत्यू भएका कारण मतदाता नामावलीबाट नाम हटाइएको बताए । त्यस्तै दोहोरो नामावली भएका २ सय ८४ र नागरिकता परित्याग गर्ने ११ जनाको पनि मतदाता नामावलीबाट नाम हटाइएको छ । जसबाट २०७९ मंसिरमा भएको निर्वाचनपछि कार्यालयले अद्यावधिक गर्दा ३ हजार ४ सय ७८ मतदाता नामावलीबाट हटेका हुन् । सो अवधीमा स्याङ्जामा १ हजार ७ सय ८३ जना नयाँ मतदाता थपिएका छन् । यो तथ्याङ्क २०८२ को बैशाख मसान्त सम्मको हो ।

२०७९ को मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा स्याङ्जाबाट २ लाख ४४ हजार ८९ जना मतदानमा सहभागी भएको थिए । तर बैशाख मसान्त सम्म स्याङ्जामा २ लाख ४१ हजार ९ सय १० जना मतदाता रहेको निर्वाचन कार्यालयका प्रमुख थापाले बताए । यो हिसाबले हेर्दा स्याङ्जाको मतदाता संख्या घटेको देखिन्छ । जसमा महिला १ लाख २३ हजार ६ सय ४२ र पुरुषको संख्या १ लाख १८ हजार २ सय ६७ अन्य १ जना रहेको छ । रुपन्देही लगायत केही क्षेत्रमा कार्तिकमा तोकिएको उपनिर्वाचनका लागि निर्वाचन आयोगले असार १६ गतेबाट मतदाता नामावली खिचाउन बन्द गरेको छ । आयोगले अन्तिम नामावली भदौ २५ गते प्रकाशन गर्ने तयारी गरिरहदा २३ र २४ गतेको जेनजीको आन्दोलनले सरकार नै फेरिएपछि स्थगित गरेको थियो । जसले गर्दा नयाँ निर्वाचन मिति समेत तोकिएको छ ।

अन्तरिम सरकारले फागुन २१ गते निर्वाचनको मिति तोकेपछि धेरै मतदानबाट बन्चित हुने चर्चा समेत चल्न थालेको छ । मतदाता नामावलीमा नाम दर्ता नभएकाहरुका लागि के गर्ने भन्ने बिषय छलफलको क्रममा रहेको आयोगले जनाएको छ । मतदाता नामावाली ऐन २०७३ अनुसार निर्वाचन मिति घोषणा भइसकेपछि उक्त निर्वाचन प्रयोजनका लागि नाम दर्ता गरिने छैन भन्ने व्यवस्था रहेको छ । तर कसैले नागरिकता बनाउँदा मतदाता नामावलीमा पनि नाम दर्ता गराएका छन् र उनी आउँदो निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते १८ वर्ष पूरा हुन्छन् भने त्यस्ता व्यक्तिले पनि मतदान गर्न पाउने बताइएको छ ।

निर्वाचन आयोगले उपलब्ध गराएको २०८१ चैत ३१ सम्मको तथ्यांक अनुसार १ करोड ८१ लाख ४८ हजार ६ सय ५४ मतदाता रहेका छन् । जुन अघिल्लो प्रतिनिधिसभा निर्वाचनको भन्दा १ लाख ६० हजार ५४ ले बढी हो ।

 

प्रतिक्रिया