गुणस्तर सुधार र सामाजिक सुरक्षा हाम्रो प्राथमिकतामा

जीवन पौडेल,
(कार्यालय प्रमुख)
सामाजिक विकास कार्यालय, स्याङ्जा ।
४ वर्ष अगाडी जिल्ला सदरमुकाम स्याङ्जामा स्थापना भै संचालनमा रहेको सामाजिक विकास कार्यालयले शैक्षिक गुणस्तर सुधार र समावेशी विकासका क्षेत्रमा काम गर्दै आएको छ । नेपालले संघीय शासन प्रणालीको अवलम्बन गरेपश्चात् राजनीतिकसँगै प्रशासनिक संरचनामा समेत परिवर्तन आएपछी यो कार्यालयको स्थापना भएको हो । नेपाली जनताको दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न समयानुकूल प्रशासनिक संरचनाको स्थापना, विस्तार, परिमार्जन तथा सञ्चालन गर्ने क्रममा यो कार्यालय स्थापना भएको हो । यो कार्यालयको काम, गतिविधि र अन्य विषयमा सम्वन्धित रहेर कार्यालय प्रमुख जीवन पौडेलसँग पब्लिक आवाजका सम्पादक अमृत अर्यालले गरेको कुराकानीको सम्पादित अंश……..
१. पौडेल सर, आराम हुनुहुन्छ ? पछिल्लो समय केमा व्यस्त हुनुहुन्छ, तपाईंको दिनचर्या कसरी बितिरहेको छ ?
धन्यवाद । म पूर्णरुपमा आराम छु । पछिल्लो समय कार्यालयमार्फत यस आर्थिक वर्ष अधिकांश कार्यक्रम तथा योजनाहरु सम्पन्न भएको हुदाँ बाँकी रहेका केही कार्यक्रम तथा योजनाहरु सम्पन्न गर्ने र त्यसको प्रतिवेदन तयार गर्ने, कार्यक्रमको प्रभावबारे मूल्याङ्कन तथा विश्लेषण गर्ने लगायतको काममा व्यस्त रहेको छु ।
२. सामाजिक विकास कार्यालयको मुख्य उद्देश्य र कार्यक्षेत्रहरु के–के हुन् ?
सामाजिक विकास कार्यालयको मुख्य उद्देश्य सामाजिक न्याय र समानता सहितको समाजको स्थापनामा टेवा पु¥याउनु नै हो । विशेष गरी लक्षित समुदायहरु जस्तै बालबालिका, महिला, जेष्ठ नागरिक, अंपागता भएका व्यक्तिहरु, सिमान्तकृत समुदायको सशक्तिकरण, सचेतना अभिवृद्धि, सिप विकासका कार्यक्रमहरु सञ्चालन गर्ने र सामाजिक क्षेत्रका पूर्वाधारहरु जस्तैँ बालउद्यान, आमा समूह भवन, जेष्ठ नागरिक दिवा सेवा केन्द्र, संग्राहलय, विद्यालयको मर्मत् सम्भार, खेलमैदान, मन्दिर, गुम्बा, मस्जिद लगायत विभिन्न धर्मको आस्था केन्द्रहरुको निर्माण गर्ने कार्य गर्दछ । प्रदेश सरकार अन्तर्गतको शिक्षा हेर्ने कार्यालय भएको कारणले पनि शिक्षा क्षेत्रमा सुधार गर्न विभिन्न कार्यहरु गर्ने गर्दछ ।
३. हालसम्म कार्यालयले स्थानीय समुदायको सामाजिक उत्थानका लागि गरेका मुख्य कार्यक्रमहरु के–के हुन् ?
माथि उल्लेख गरेका कार्यालयको लक्ष्य र उद्धेश्य अनुसार कार्यालयले लक्षित क्षेत्रका नागरिकहरुका लागि विभिन्न कार्यक्रमहरु गर्ने गरेका छौ । म यस कार्यालयको कार्यालय प्रमुख भएपछि सम्पादन भएका कार्यक्रमको बारेमा चर्चा गर्न चाहान्छु । बालबालिकाका क्षेत्रमा विभिन्न कार्यक्रमहरु सञ्चालन गरेका छौ । बालदिवसमा बालबालिका समूहको पञ्चेबाजा सायदै नेपालमै विद्यालय तहका बालबलिकाको लागि पहिलोपटक भएको प्रतिस्पर्धा हो । १५ सय जना भन्दा बढी बालबालिका तथा दर्शकको साथमा विशेष गरी सिमान्तरकृत बालबलिका र दलित समुदायका बालबालिकाहरु बढी संख्यामा सहभागि गराएर कार्यक्रम सम्पन्न ग¥यौं । जसको मुख्य उद्धेश्य संस्कृतिको संरक्षण, परम्परागत सीपको पुस्तान्तरण, हाम्रो उत्सव, विवाह र चाडपर्वको लागि पञ्चेबाजा संरक्षण र आयआर्जनमा टेवा पु¥याउनु रहेको छ । जिल्लाको एकमात्र बालगृहको लागि यस वर्ष ५ लाख अनुदान उपलब्ध गरायौँ । जसले बालबालिकाको सहज जीवनयापन र शिक्षा तथा स्वास्थ्य र अन्य व्यक्तित्व विकासमा सघाउ पुग्ने आशा राखेका छौँ । जिल्लाका सबै स्थानीय तहका बालबालिकाको प्रतिनिधत्व हुने गरी जिल्ला बालसञ्जाल गठन र परिचालन गर्ने, विद्यालय बन्द र त्यसको प्रभाव तथा बालबालिकाका विविध विषयमा रहेर बालबालिकासँग प्रमुख जिल्ला अधिकारी कार्यक्रम सञ्चालन गर्ने, स्याङ्जाका स्थानीय तहहरुलाई बालमैत्री स्थानीय शासन घोषणाको लागि प्रतिवद्ध बनाउने, बालबालिकालाई रमाई रमाई पुस्तक पढ्ने बानीको विकास गरी सामाजिक सद्भाव, हाम्रो सांस्कृतिक मूल्यमान्यता, प्रकृति आत्मियता, श्रमप्रति सम्मानभाव, आत्मविश्वास जस्ता अनेकौं पाटामा सकरात्मक परिवर्तन ल्याउन बालसाहित्यिक पुस्तक वितरण गर्ने गरेका छौ । जेष्ठ नागरिक दिवसमा जेष्ठ नागरिकसँग अन्तरक्रिया गरिएको छ । यस अन्तर्गत यातायात र स्वास्थ्य सुविधाजस्ता विषयवस्तुमा छलफल भएको थियो । सिमान्तकृत बालबालिकालाई जेष्ठ नागरिकको ज्ञान र सीप हस्तान्तणको प्रयास भएको छ । यस अन्तर्गत बालबालिकामा दुना बुन्ने, टपरी बुन्ने, डष्टविन बनाउने, डोको बुन्ने र अन्य कलात्मक बस्तु बनाउने कार्यक्रम सम्पन्न गरिएको छ । विशेष गरी अभिभावक नभएका बालगृहमा बस्ने बालबालिकाहरु लक्षित कार्यक्रम सञ्चालन भएको छ । तालिमबाट बनेका सामानहरु कार्यालयले खरिद गरिदिएको छ । यसले बालबालिकालाई शैक्षिक सामाग्री खरिदमा सहयोग पुगेको छ भने उक्त सामानहरु अन्य कार्यक्रममा कार्यालयको तर्पmबाट मायाको चिनोको रुपमा प्रयोग भएको छ । अमोर सेवा बालगृहमा ३८ जना बालबालिकालाई उक्त कार्यक्रम सम्पन्न भएको थियो । वातावरण संरक्षणमा जेष्ठ नागरिकको सिप बालबालिका र यूवाहरुलाई सिकाउने काम सम्पन्न भएको छ भने जेष्ठ नागरिक सम्मान गरिएको छ । फ्याकिएका विस्कुट र चाउचाउका खोलको प्रयोग गरी चकटी बनाउन तथा बाबियाको कूचो बनाउन, मकैको भुत्लाबाट चकटी तथा चोयाबाट डस्टबिन बनाउन आँधीखोला गाउँपालिका वडा न ५ मा रहेको गोगनपानी आधारभूत विद्यालयमा ५० जना विद्यार्थी र युवाहरुलाई सीप हस्तान्तण सम्पन्न गरेका छौ । जेष्ठ नागरिकको सिपलाई बालबालिकामा हस्तान्तरण गर्नु पर्ने मान्यताको साथ अभियान सञ्चालन गरेका छौ । जेष्ठ नागरिक आश्रमामै पुगेर न्यानो मायाको लागि कम्बल वितरण कार्यक्रम सम्पन्न भएको छ । चापाकोट नगरपालिका वडा नं. ६ मा रहेको राधा दामोदर आश्रममा रहनुभएका २२ जना र अन्य ८ जना गरी कुल ३० जना जेष्ठ नागरिकहरुलाई न्यानो कम्बल वितरण गरिएको छ । ३ लाख रुपैंयाँ जेष्ठ नागरिक आश्रमलाई प्रदान गरेका छौ । विद्यार्थी शिक्षक प्रतिभा पहिचानको लागि भएको ४ वटा विधाका कार्यक्रम मध्ये स्याङ्जा जिल्लालाई २ वटा विधामा प्रदेश भरीमै प्रथम (सर्वोत्कृष्ट) बनाउन सफल भएका छौं । साथै जिल्लामा जिल्लास्तरीय कार्यक्रम पहिलो पटक फरक तीन स्थानीय तहमा प्रतिस्पर्धा गरिएको छ । त्यस्तै शिक्षक वक्तृत्वकला प्रतियोगिता, शिक्षक हाजिरिजवाफ प्रतियोगिता, विद्यार्थी वक्तृत्वकला प्रतियोगिता, विद्यार्थी नृत्य प्रतियोगिता सम्पन्न गरिएको छ । जसमा २ सय जना प्रतियोगिहरु सहभागि हुनुभएको थियो । विद्यार्थी, शिक्षक र अभिभावक सम्बन्धमा नयाँ आयम ल्याइ शैक्षिक सुधार गर्न विद्यालयमा अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गरिदैछ । हामीले सकरात्मक चिन्तनको कार्यक्रम ग¥यौं जसले आत्महत्या रोकथामको साथै सकरात्मक भावना सिर्जना गराउन मद्दत पुग्ने विश्वास लिएका छौं । सेवाप्रवाहलाई नागरिकमुखी बनाउनको लागि विभिन्न कार्यक्रमहरु गरेका छौं । जस्तै सेवाग्राहीलाई सितल हुने गरी बस्न खरको छानो सहितको सेवाग्राही विश्राम गृहको निर्माण भएको, जनताको प्रत्यक्ष उपस्थितिमा लागत अनुमान तयारको लागि सुझाव संकलन र फिल्डमै उपभोक्ता समितिलाई अभिमुखिकरण कार्यक्रम लगायत धेरै कामहरु सम्पन्न भएका छन् ।
४. शिक्षा र सामाजिक सुरक्षाका क्षेत्रमा तपाईंहरुको प्राथमिकता के छ ?
शिक्षामा गुणस्तर सुधार, सबैको पहुँच सुनिश्चित गर्नु र सामाजिक सुरक्षामा लक्षित वर्गको पहिचानसहित उनीहरुलाई सशक्त र सुरक्षित बनाउने हाम्रो प्रमुख प्राथमिकता हो । शिक्षातर्फ हाम्रो कार्यालयले यस आर्थिक वर्षको हालसम्म धेरै कामहरु सम्पन्न गरेको छ । गणित, विज्ञान र अंग्रेजी विषयमा जिल्लाका विभिन्न १५ वटा विद्यालयका १ हजार जना भन्दा बढी विद्यार्थीलाई निशुल्क अतिरिक्त कक्षा सञ्चालन गरेका छौ । जसले बालबालिकाको सिकाइ उपलब्धी बृद्धि हुने कुरामा विश्वस्त रहेका छौं । बालबिकास कक्षा सञ्चालन भएका ८ वटा आधारभूत विद्यालयमा कक्षा सुधारको लागि अनुदानबाट २ सय ५० जना बालबालिका लाभान्वित भएका छन् । सामाजिक विकास कार्यालय स्याङ्जाले स्याङ्जाका ११ वटै स्थानीय तहसँगको समन्वय, साझेदारी र सहयोगमा विषयगत शिक्षक समुह गठन गर्ने, परिचालन गर्ने, अभिमुखिकरण गर्ने गरेको छ ।
५. समावेशीता र लैंगिक समानताका लागि कार्यालयले कस्ता पहलहरु गरिरहेको छ ?
हामीले महिला नेतृत्व विकास तालिम, लैंगिक हिंसाविरुद्ध जनचेतनामूलक कार्यक्रम, तथा नीति निर्माणमा लैंगिक समावेशी दृष्टिकोण समावेश गरिरहेका छौँ । लक्षित समुदायका आवाजहरुलाई प्रदेश सभा सदस्य र मन्त्रालय सम्म पु¥याउने गरेका छौ । स्थानीय तहमा कार्यरत महिला र बालबालिका शाखाका कर्मचारीहरुलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न भएका छन् । जेष्ठ नागरिक दिवा सेवा केन्द्र जसले जेष्ठ नागरिक भेला हुने दुखसुख साट्ने लगायत सिप हस्तान्तरणमा टेवा पु¥याउन यस आवमा ७ वटा सेवा केन्द्र सञ्चालन गरेका छौ ।
६. सामाजिक विकासका कार्यक्रममा स्थानीय तह र संघ–संस्थासँगको सहकार्य कस्तो छ ?
हामी स्थानीय तहहरुसँग निकट सहकार्यमा काम गरिरहेका छौँ । नीतिनिर्माणदेखि कार्यान्वयनसम्म हामीले स्थानीय सरकार, गैरसरकारी संस्था तथा नागरिक समाजसँग मिलेर कार्यक्रम सञ्चालन गर्दै आएका छौँ । सामूहिक प्रयासबाट कार्यक्रमहरु अझ प्रभावकारी भएका छन् । जिल्लाका सबै विद्यालयमा सिर्जनात्मक लेखन कार्यशाला सञ्चालन गरि ११ वटै स्थानीय तहबाट उत्कृष्ट ३३ जना विद्यार्थीहरु छनौट हुन सफल हुनुभएको र उहाँहरु बाट कार्यालयले जिल्लास्तरमा पनि प्रतिस्पर्धा गराई कुल ५० जना विद्यार्थीहरुलाई पुरस्कृत समेत समेत गरिएको छ । सबै स्थानीय तहसँगको समन्वय राम्रो छ ।
७. युवाहरु, महिला र अपांगता भएका व्यक्तिहरुलाई सशक्त बनाउन कार्यालयले कस्ता कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ?
विद्यालय तथा कलेजमा पनि सचेतनामूलक कार्यक्रमहरु सम्पन्न भएका छन् । त्यस्तै गरी महिलाहरुको लागि निशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने गरिएको छ । जसले गर्दा महिलाहरु निजामति सेवामा प्रवेशको लागि आकर्षण र प्रोत्साहान दुवै भएको महशुस गरेको छु । विभिन्न ४ वटा भाषामा लैंगिक हिंसा विरुद्धको अभियान सञ्चालन ग¥यौ । गुरुङ, मगर, नेवारी र नेपाली भाषामा लैंगिक हिंसाको कार्यक्रम गरी धेरै भाषामा कार्यक्रम गर्ने गण्डकी प्रदेशको पहिलो कार्यालय बन्न सफल भएको छ । लैंगिक हिंसाको १६ दिने अभियानमा १६ वटै कार्यक्रम जसमा सचेतना, प्रभातफेरीको साथै महिला हिंसाको अन्त्य कसरी भन्ने शिर्षकमा स्याङ्जा जिल्लामा विभिन्न क्षेत्रका महिलाहरुको विचार र छात्राहरुको कविता संकलन गरी सामाजिक नारी पत्रिका प्रकाशन तथा रेडियो कार्यक्रमबाट अडियोमा पनि प्रसारण ग¥यौं । हाम्रो कार्यालयले गरेको अर्को महत्वपूर्ण काम भनेको हिंसा प्रभावित महिलाहरुको लागि आश्रय स्थल बनाएका छौ । कुनै पनि हिंसामा पर्नु भएका महिलाहरुलाई ४५ दिन सम्म निशुल्क खाना, कपडा र कानूनी सहायता सहितको अल्पकालिन आश्रयस्थल यस कार्यालयबाट जिल्ला सदरमुकाममा सञ्चालनमा रहेको छ । महिला उद्यमशिलता प्रोत्साहन कार्यक्रम अन्तर्गत विभिन्न क्षेत्रमा १८ जना महिलाहरुलाई अनुदान उपलब्ध गराइ उहाँहरुको उद्यमशिलता विस्तार गरिएको छ । जिल्लाका सबै दलित महिला जनप्रतिनिधिहरु संघ, प्रदेश र स्थानीयतहको एकै ठाउँमा भेला भएर नेतृत्व विकास कार्यक्रम सम्पन्न भएको छ । जसमा एक अर्काका असल अभ्यासहरुको आदनप्रदान र दलित समुदायका महिलाहरु नेतृत्वमा पुग्न र विभेद अन्त्यको लागि महत्वपूर्ण कोशेढुंगा सावित भएको छ । एकल महिला नेतृत्व विकास कार्यक्रम मार्फत् विभिन्न सचेतनाका कार्यक्रमहरु सम्पन्न भएका छन् । महिला सञ्चारकर्मीहरुलाई विभिन्न क्षेत्रका लक्षित वर्गहरुको आवाज मिडियामा ल्याउन अभिमुखिकरण कार्यक्रम तथा लक्षित समूदायसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मुसलमान महिला लक्षित सीप विकास कार्यक्रम लाछाको डोरी बनाउने कार्यक्रम हाल व्यवसायिक ढंगबाट अगाडी बढेको खबर प्राप्त भएको छ । अपांगता भएका व्यक्तिको लागि विभिन्न कामहरु भएका छन् । एकै दिन पाँच ठाउँमा अपांगता भएको व्यक्तिको दिवस मनाइएको, सहायता सामाग्री वितरण र अभिमुखिकरण तथा सचेतना कार्यक्रम सम्पन्न भएको थियो । घरमै पुगेर अपांगता भएका व्यक्तिलाई सहायता सामाग्री प्रदान गरिदै आइएको छ । अस्पताल पुगेर नाप जाँच गरी सहायता सामाग्री लिनु पर्नेलाई कार्यालयबाट यातायात खर्च र टिकट खर्च प्रदान गरिदै आइएको छ । दृष्टिबिहिनलाई न्यानो कपडा वितरण गरेका थियौँ । फेदीखोला गापामा रहेको दृष्टिबिहिन बालबालिका अध्ययन गर्ने कालाभैरव माविका बालबालिकालाई न्यानो कपडा वितरण भएको हो । अपांगता भएका बालबालिकाबीच खेलकूद प्रतियोगिता सम्पन्न गरिएको छ । अपांगता भएका व्यक्तिलाई कृषि तालिम र कृषी औजार प्रदान गरिएको छ । २२ जनालाई तरकारी खेती तालिम प्रदान गरिएको छ । वहिरा अपांग भएका व्यक्ति÷विद्यार्थीको पढाइ र खेलकुदतर्फको क्षमता अभिवृद्धिको लागि संविधान दिवसको उपलक्ष्यमा सरोकारवालासँग छलफल तथा शैक्षिक र खेलकूद सामाग्री वितरण गरेका थियौँ । अपांगता भएका व्यक्तिको सवारी छुटबारे यातायात व्यवसायि, प्रशासन र सरोकारवालासँग छलफल तथा अपांगता भएका व्यक्तिहरुलाई सम्बोधनको लागि सचेतना सामाग्री वितरण गरेका छौ ।
८. भविष्यमा सामाजिक विकास कार्यालयले कुन–कुन नयाँ योजना ल्याउने तयारी गरिरहेको छ ?
सामाजिक, शैक्षिक क्षेत्रको विकास साथै लक्षित समुदायको क्षमता विकास सशक्तिकरणमा संघ र स्थानीय तहसँग र अन्य संघसस्थाको समन्वयमा अझ थप रचनात्मक योजना तथा कार्यक्रमहरु सञ्चालन गर्ने तयारी रहेको छ । युवाहरुको लागि विभिन्न सचेनताका कार्यक्रमहरु संचालन गर्ने योजनामा छौं । युवा तथा महिलाहरुलाई उद्यमशिलता प्रोत्साहन कार्यक्रममा जोड्ने योजना छ । महिला, दलित तथा समाजमा पछाडी परेका वर्गलाई नेतृत्व विकास कार्यक्रममा जोडिनेछ । महिला आत्मरक्षा सम्बन्धी सचेतना र कानूनी विषयमा बृहत कार्यक्रमको योजना अगाडी सारिएको छ ।
९. तपाईंको दृष्टिमा समावेशी, दिगो र मानव केन्द्रित सामाजिक विकासका लागि राज्य र समुदायले के भूमिका खेल्नुपर्छ ?
राज्यले नीति, बजेट र कार्यान्वयनको संयोजन सशक्त बनाउनु पर्छ भने समुदायले सहभागिता, अनुगमन र स्वामित्वको भावना विकास गर्नुपर्छ । यी दुईको समन्वयबिना दिगो सामाजिक विकास सम्भव छैन । साथै नागरिकको सचेतता र सक्रियता पनि महत्वपूर्ण छ । विशेष गरी अंपागता भएका व्यक्तिहरुलाई राज्य र समुदायले पनि सिप प्रदान गरी आयआर्जनमा जोड्ने भूमिका खेल्नुपर्छ ।
१०. अन्त्यमा पब्लिक आवाज मार्फत आम नागरिकहरुलाई के भन्न चाहनुहुन्छ ?
स्याङ्जा जिल्ला मात्रै नभएर समग्र गण्डकी प्रदेश कै लोकप्रिय राष्ट्रिय साप्ताहिक पत्रिका पब्लिक आवाजले हाम्रो कार्यालयको काम तथा कार्यक्रमहरुको बारेमा प्रत्येक अंकमा समाचार प्रकाशन भएको देख्दा खुसी लाग्छ । आगामी दिनमा विशेष गरी लक्षित समुदायहरु जस्तै बालबालिका, महिला, जेष्ठ नागरिक, अंपागता भएका व्यक्तिहरु, सिमान्तकृत समुदायको आवाज प्रथामिकताको साथ प्रकाशन गरी सरकारी निकायबाट हुने कामको कमजोरी औँल्याइदिएर सुशासन कायममा थप टेवा पु¥याउनुहुनेछ भन्ने आशा राखेको छु । मलाई हाम्रो कार्यालयको कार्यक्रम तथा योजनाबारे प्रकाश पार्ने मौका प्रदान गर्नुभएकोमा पब्लिक आवाज राष्ट्रिय साप्ताहिक परिवारलाई धेरै धेरै धन्यबाद दिन चाहान्छु ।
प्रतिक्रिया