स्याङ्जामा हुट र छत राखेका सवारीसाधनलाई निशेध
स्याङ्जा ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले हुट र छत राखेका सवारीसाधनलाई चलाउन रोक लगाएको छ । बर्षायाम शुरु भएसगै राजमार्ग र ग्रामिण क्षेत्रमा चल्ने सवारीसाधनको यात्रा जोखिमपुर्ण हुने भन्दै हुट र छत राखेर चलाउन रोक लगाएको हो । दुर्घट्ना न्युनिकरण गर्ने अभियान अन्तर्गत ट्राफिक प्रहरीले अहिले धमाधम सवारीसाधनका हुट र छत हटाउन सक्रियता बढाएको छ । अहिले सम्म १ सय १० सवारीसाधनका हुट र छत हटाईसकेको जिल्ला ट्राफिक प्रहरी प्रमुख नरेन्द्र बहादुर शाहीले जानकारी दिए ।
कानुन विपरीत राखिएका हुट र छतलाई हटाउने कार्य चलाएका छौं ट्राफिक प्रहरी प्रमुख शाहीले भने,‘अब जिल्लामा कुनै पनि सवारीसाधन हुट र छत बिनाका चल्ने छन् ।’ हुट र छतमा अनावश्यक सामान र मानिस बोकेर हिड्ने सवारीसाधनलाई कडा कारवाही हुन्छ शाहीले भने । दुर्घट्नाबाट जोगिन ट्राफिक प्रहरी मात्रै लागेर नहुने यसमा सबैको साथ सहयोग आवश्यक रहेको शाहीले बताए ।
बिशेषगरी जिल्लाका भित्री सडकमा चल्ने पिकअप भ्यानले आफुखुशी हुट र छतहरु राखेर चलाउदै आएका थिए । भित्री सडकमा दुर्घट्ना बढ्न थालेपछि जिल्ला ट्राफिक प्रहरी एक्सनमा उत्रेको छ । ट्राफिक प्रहरी मातहतका चौकीहरुले एकैसाथ ग्रामिण क्षेत्र र राजमार्गमा चल्ने सवारीसाधनको हुट र छत हटाउन सक्रियता बढाएका हुन् । अब स्याङ्जा भित्र चल्ने र बाहिरबाट आउने जुनसुकै सवारीसाधन छत र हुट बिनाका हुने शाहीले बताए । ‘ट्राफिक नियमको पालना, सभ्य समाजको सृजना’ भन्ने नारा सहित जिल्ला ट्राफिक प्रहरीले दुर्घट्ना न्युनिकरण अभियान जिल्लाभर चलाएको छ ।
ट्राफिक प्रहरीले देखाएको सक्रियतालाई सरोकारवाला निकायले प्रशंसा गरेका छन् । यो अभियानले ग्रामीण क्षेत्रको यातायातलाई थप व्यवस्थित बनाउने विश्वास सरोकारवाला निकायले लिएका छन् । ट्राफिक प्रहरीको नियम पुर्ण पालना गर्न सकेमा सुरक्षित यात्रा हुने अपेक्षा लिइएको छ । यो आर्थिक बर्षको जेठ १५ गतेसम्म १८ ओटा साना र ठुलागरी दुर्घना भएका छन् भने यस दुर्घट्नाबाट ७ जनाले ज्यान गुमाएका छन् । गएको आर्थिक बर्षको तुलनामा दुर्घट्ना बढेपनि मृत्यू हुनेको संख्या भने घटेको ट्राफिक प्रहरी प्रमुख शाहीले बताए । उनका अनुसार गत आर्थिक बर्षमा १६ दुर्घट्ना र ९ जनाको मृत्यू भएको थियो ।
जिल्लालाई सुरक्षित यात्रा बनाउने अवधराणा अनुसार ट्राफिक प्रहरीले मुख्य—मुख्य शहरहरुमा व्यवस्थित पार्किङ्को व्यवस्था गरेको छ । सिद्धार्थ राजमार्गमा पर्ने पुतलीबजार, बयरघारी, वालिङ र गल्याङ बजारमा अवेवस्थित पार्किङलाई स्थानीय सरकारको समन्वयमा व्यवस्थित बनाइएको छ । जसले गर्दा बजारमा किनमेल गर्न आउने पैदलयात्रु र राजमार्गमा चल्ने सवारीसाधनलाइृ आवागमनमा निकै सहज हुन पुगेको बयरघारी ट्राफिक पोष्टका प्रमुख राजेन्द्र नेपालीले बताए ।
कानुन विपरीत सवारी साधन चलाउने, मापसे र लापसे गरी सवारी साधन चलाउने चालकलाई समेत २४सै घण्टा निगरानीमा राख्न थालेको छ । यो पटक मात्रै लापसे सेवनगरी सवारी चलाउने २१ जना चालक कारवाहीमा परेका छन् । कानुन विपरीत चल्ने सवारी साधनलाई कारवाही गर्दा यो आर्थिक बर्षको जेठ १८ गतेसम्म जिल्ला ट्राफिक प्रहरीले झण्डै १ करोड राजस्व संकलन गरेको छ ।


प्रतिक्रिया