विकासले भू–दृश्य मात्र होइन, इतिहास पनि बदल्छ

भोजराज वगाले,
अचेल म हरेक बिहान घरको बार्दलीमा बस्दा कच्ची र पक्की सडकबाट आउने आवाज सुन्छु । आज ती आवाजहरूमा मर्निङवाकमा निस्किएका मानिसहरूका छन् । मोटरसाइकल, अटो, वसहरूका आवाज छन् । मोटरबाटो बन्नु अगाडि यही बाटोमा केही दशक अघिसम्म गाईवस्तु चरनका लागि चौरतर्फ लैजाने गोठालाहरूले प्रयोग गर्थे । बिहानको वातावरणमा गाईका घण्टी, गोठालाको सिठी र खुला चौरको जीवन मिसिएको हुन्थ्यो । अहिले त्यही चौरमा सार्वजनिक पार्क छ, खाली स्कुलको भवन छ ।

यो परिवर्तन विकासको कथा हो। यहाँ सडकहरू बने, पुर्वाधार सेवाहरू विस्तार भए । तर त्यही ठाउँमा उभिँदा स्वभाविक रूपमा एउटा प्रश्न पनि उठ्छ । त्यो के भने–के कुनै ठाउँको वास्तविकता केवल त्यसको भौतिक स्वरूपले मात्र निर्धारण गर्छकि त्यसलाई अनुभव गर्ने मानिसको स्मृति र जीवनले पनि ? आज नेपाल तीव्र शहरीकरण र पूर्वाधार विकासको चरणमा छ । कृषिका लागि उत्पादनशील खेतहरू आवास क्षेत्रमा परिणत भइरहेका छन् । सार्वजनिक खुला ठाउँहरू सरकारी कार्यालय वासडक र व्यापारिक भवनले भरिँदै गएकाछन् । यी र यस्ता भौतिक स्वरूपको परिवर्तनलाई सामान्यतया विकासका सूचकका रूपमा प्रस्तुत गरिन्छ । यस्ता पूर्वाधार सहज नागरिक जीवनका लागि अपरिहार्य छन् । तर, विकासको मूल्याङ्कन र वहस प्रायः भौतिक उपलब्धिमा मात्र सीमित गरिएको देखिन्छ ।

विकास वहसमा एउटा पक्ष यो पनि हुन सक्छ किजस्तै एउटा खुला चौर हराउँदा त्यहाँको सामुदायिक इतिहास पनि साथसाथै हरायो कि ?अथवा, एउटा पुरानो सार्वजनिक स्थल रूपान्तरण भइरहँदा त्यससँग जोडिएको पुराना पुस्ताको अनुभव पनि जगेर्ना गर्नेतर्फ सोच्ने कि ? यी प्रश्न विकासका वहसका क्रममा प्रायः अनुपस्थित भएका छन् । विकासका सन्दर्भमा विकास निर्माण अघि त्यसको सामाजिक प्रभाव अध्ययन भएको देखिदैन । यसको अर्थविकास वहस भौतिक पुर्वाधारको विकास निर्माण कार्यमा मात्र सीमित गरिनु हुन्न । कुनै ठाउँलाई केवल खाली जमिनका रूपमा हेरियो भने त्यहाँ भवन बनाउन सजिलो हुन्छ । तर, यदि त्यही ठाउँलाई मानिसहरूको साझा स्मृति, सम्बन्ध र जीवन्त इतिहासका रूपमा बुझियो भने विकासको प्रक्रिया पनि मानव संवेदनशील र दिगो बन्छ भन्ने हो । यही विकासको दृष्टिकोणलाई योजना निर्माण र शहरी विकासमा समावेश गर्न आवश्यक छ ।

नेपालका अधिकांश नगरपालिकामा खुला सार्वजनिक स्थान क्रमशः साँघुरिँदै गएका छन्। कतै नदी किनार अतिक्रमण भएका छन् । कतै सामुदायिक वन मासिएका छन्, कतै पुराना बजारको मौलिक स्वरूप हराएको छ । यस्ता परिवर्तनलाई हामी विकासको मूल्यका रूपमा सहजै स्वीकार गर्छौं । तर, भविष्यका पुस्ताले आफ्नो ठाउँको इतिहास कहाँबाट कसरी जान्ने ? यस पक्षमा पनि विचार पुर्याउनुपर्छ । नेपालका सयौँ गाउँ र सहरमा यस्तै चौर, नदी किनार, चौतारा र सार्वजनिक खुला स्थान विकासका नाममा बदलिँदै छन् । तर, प्रश्न के हो भने विकासका नाम स्थानहरूका मौलिक स्वरूप हराउँदै गर्दा विकाससँगै हाम्रो सामूहिक स्मृति कसरी जोगाउने भन्ने विषयलाइ भुल्नु हुदैन भन्ने हो ।
विकासको अर्थ विगत मेटाउनु होइन, विगतलाई सम्मान गर्दै भविष्य निर्माण गर्नु हो। कुनै पनि पूर्वाधार निर्माणअघि त्यस ठाउँको इतिहास अभिलेखीकरण गर्ने, स्थानीय समुदायलाई योजनामा सहभागी गराउने, ऐतिहासिक महत्वका खुला स्थान जोगाउने र नयाँ संरचनामा पुरानो पहिचानलाई समेट्ने अभ्यास हाम्रो योजना प्रक्रियाको हिस्सा बन्नुपर्छ ।

आज हामीले बनाएका सडक, भवन र पार्कले केही दशकपछि नयाँ पुस्ताको स्मृति निर्माण गर्नेछन् । तर, यदि हिजोको पुस्ताको कथा नै बाँकी रहेन भने त्यो स्मृति अधुरो हुनेछ । आधुनिकता र परम्परा एकअर्काका विपरित होइनन् । विवेकपूर्ण योजना र संवेदनशील नेतृत्वले दुवैलाई संगसँगै अघि बढाउन सक्छ । फ्रान्सेली दार्शनिकमोरिस मोर्ले पोन्टी भन्दछन्– कुनै ठाउँलाइ केवल भौगोलिक क्षेत्रका रूपमा मात्र बुझ्नु हुदैन । कुनै पनि स्थानको अर्थ त्यसको भौतिक बनावटले मात्र होइन, त्यससँग गाँसिएका अनुभव, स्मृति र सम्बन्धले निर्माण गर्छ । किनभने ज्ञानको केन्द्रमा मानिसको अनुभूति रहेको हुन्छ । यही कारणले कुनै पनि वस्तु वा स्थानको अर्थ त्यस वस्तुमा आफैं अन्तर्निहित हुँदैन । त्यो त मानिसले त्यससँग बनाएको सम्बन्धबाट उत्पन्न हुन्छ ।

आज कुनै ठाउँमापहिलोपटक आउने मानिसले व्यवस्थित पार्क र पक्की सडक देख्छ । उसका लागि यही नै त्यो ठाउँको वास्तविकता हो । तर यही ठाउँमा बाल्यकाल बिताएको मानिसका लागि यो केवल पार्क होइन । यो कुनै वेलास्मृतिमा रहेको चरनभूमि थियो, गाउँका गाईवस्तु जम्मा हुने ठाउँ थियो, गोरू जुधाउने वा बाल्यकालका खेल खेलिने स्थल र सामुदायिक जीवनका स्मृतिहरू बोकेको भूभाग थियो । तसर्थ, एउटै स्थान पनि दुई फरक मानिसका लागि दुई फरक वास्तविकता बन्छ । र, कुनै पनि वास्तविकता असत्य होइन, किनकि दुवै अनुभूतिबाट निर्मित हुन ।

नेपालका धेरै गाउँ र सहर यतिबेला यस्तै किसिमका संक्रमणहरूबाट गुज्रिरहेका छन् । विकास निर्माणले नयाँ पुस्ताले आधुनिक सुविधा पाइरहेको छ, तर पुराना पुस्ताले आफ्ना परिचित भू–दृश्यहरू हराउँदै गएको अनुभव गरिरहेका छन् । विकास र स्मृतिबीचको यो तनाव वास्तवमा एउटै स्थानका फरक अनुभूतिहरूको परिणाम हो । हामीएउटै संसारमा बाँचिरहेका भएपनि त्यस संसारलाई समान रूपमा अनुभव गरिरहेका हुँदैनौं । प्रचलित विकासको संकथनमा विकासलाई हामी सडक, भवन वा कुल गार्हस्थ उत्पादनकाआधारमा मापन गर्छौं । तर कुनै समाजको प्रगति केवल भौतिक पुर्वाधारको विस्तारले मात्र मापन गर्न सकिँदैन । एउटा समाज त्यति नै विकसित हुन्छ, जति उसले आफ्नो इतिहास, सामुदायिक स्मृति र स्थानीय पहिचानलाई भविष्यसँग जोड्न सक्छ । विकासले यदि मानिस र ठाउँबीचको सम्बन्ध नै कमजोर बनायो भने भौतिक उपलब्धिका बीच पनि केही महत्वपूर्ण कुरा हराइरहेको हुन्छ ।

समयलाई पछाडि लैजान सकिँदैन।समय फर्केर पनि आउदैन । यसको क्रम अगाडि वढिरहन्छ । तापनि कुनै पनि ठाउँको वास्तविकता त्यसको वर्तमान दृश्यमा मात्र सीमित हुँदैन । त्यसका पछाडि उसको विगत र सामूहिक स्मृति एवम् बदलिँदै गएको सामाजिक जीवनका तहहरू पनि पत्रपत्रमा बसिरहेका हुन्छन् । त्यसैले जब कुनै ठाउँ बदलिन्छ, त्यहाँको भूगोल मात्र बदलिँदैन, त्यसको इतिहास पनि वदलिरहेको हुन्छ । विकासलाई अझ मानवीय, संवेदनशील र दिगो बनाउने पहिलो सर्तको रूपमा विगतको इतिहास सम्मान र संरक्षण गरी भविश्य निर्माण गर्नु हो ।
 

प्रतिक्रिया