गल्याङमा कृषि बजार संचालन
क्रान्ति अर्याल,
गल्याङ ।
किसानले उत्पादन गरेका तरकारी, फलफूल तथा अन्य कृषि उपजले उचित बजार नपाउँदा धेरै समयदेखि मूल्य अभाव र बिक्रीको समस्या भोग्दै आएका छन् । उत्पादन राम्रो भए पनि व्यवस्थित बजारको अभावमा किसानले अपेक्षित आम्दानी लिन नसक्ने अवस्था रहेको छ । यस्तै समस्याको समाधान गर्दै स्थानीय उत्पादनलाई बजारसँग जोड्न र किसानको आयआर्जन वृद्धि गर्ने उद्देश्यले स्याङ्जाको गल्याङ नगरपालिका ३ मा गल्याङ कृषि बजार केन्द्र सञ्चालनमा ल्याइएको छ ।
पकवादी कृषि सहकारी संस्थाको आयोजना तथा हेफर इन्टरनेशनल नेपाल र गल्याङ नगरपालिकाको सहयोगमा स्थापना गरिएको उक्त कृषि बजार केन्द्रको बुधबार गल्याङ नगरपालिकाका प्रमुख गुरु प्रसाद भट्टराईले उद्घाटन गरेका हुन् । स्थानीय स्तरमा उत्पादित कृषि उपजहरूको सहज संकलन, बिक्री वितरण तथा बजारीकरण गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको बजार केन्द्रबाट किसानले आफ्नै क्षेत्रमा उत्पादन बिक्री गर्न सक्नेछन् । यसले बिचौलियाको निर्भरता कम गर्नुका साथै उत्पादनको उचित मूल्य प्राप्त गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । साथै उपभोक्ताले पनि ताजा र गुणस्तरीय कृषि उपज सहज रूपमा प्राप्त गर्न सक्नेछन् ।
उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख गुरु प्रसाद भट्टराईले कृषि क्षेत्रलाई नगरको आर्थिक विकासको प्रमुख आधारका रूपमा अघि बढाइएको बताए । उनले किसानको उत्पादनलाई बजारसँग जोड्न कृषि बजार केन्द्र महत्वपूर्ण कदम भएको उल्लेख गरे ।
त्यस्तै हेफर इन्टरनेशनल नेपालका वरिष्ठ कार्यक्रम अधिकृत विष्णु पाण्डेले स्थानीय सरकार, सहकारी संस्था र कृषकबीचको सहकार्यले कृषि क्षेत्रलाई व्यवसायिक बनाउन सहयोग पुग्ने बताए । उनले कृषि बजार केन्द्रले किसानलाई उत्पादन बढाउन थप प्रेरणा मिल्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा नगर उपप्रमुख हेमा तिमिल्सिनाले कृषकको उत्पादनले सुनिश्चित बजार पाउँदा कृषि पेशाप्रति आकर्षण बढ्ने बताइन् । उनले विशेषगरी महिला तथा साना किसानलाई यसले आर्थिक रूपमा सशक्त बनाउन सहयोग गर्ने धारणा राखिन् । त्यस्तै कार्यक्रममा बोल्दै गल्याङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीले कृषि बजार केन्द्रले किसान र उपभोक्ताबीचको प्रत्यक्ष सम्बन्ध स्थापित गरी स्थानीय उत्पादनको प्रवद्र्धनमा टेवा पुग्ने बताए ।
कार्यक्रममा सहभागी स्थानीय कृषकहरूले उत्पादन बिक्रीका लागि टाढा बजार धाउनुपर्ने बाध्यता कम हुने र आफ्नै क्षेत्रमा उचित मूल्य पाउने अपेक्षा व्यक्त गरेका छन् । उनीहरूका अनुसार बजार केन्द्र सञ्चालनमा आएपछि उत्पादनको बिक्री सुनिश्चित हुनुका साथै कृषि व्यवसायलाई थप विस्तार गर्न सहज हुने विश्वास लिइएको छ । स्थानीय उत्पादनको प्रवद्र्धन, किसानको आम्दानी वृद्धि र कृषि क्षेत्रको व्यवसायीकरणलाई टेवा पु¥याउने लक्ष्य सहित सञ्चालनमा आएको गल्याङ कृषि बजार केन्द्र यस क्षेत्रका कृषकका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।


प्रतिक्रिया