स्याङ्जामा ४ सय ३९ स्क्रब टाइफस संक्रमित
वालिङ ।
स्याङ्जामा स्क्रब टाइफस संक्रमणको दर पछिल्ला महिनामा उल्लेख्य रुपमा बढेको छ । असारदेखि भदौसम्मको तीन महिनामा जिल्लाका विभिन्न स्थानीय तहमा गरी ४ सय ३९ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाले जनाएको छ । कार्यालयको तथ्यांकअनुसार असारमा ६० जना संक्रमित भेटिएकोमा साउनमा यो संख्या बढेर १ सय ५९ पुगेको थियो । भदौमा भने संक्रमण थप उकालो लाग्दै २ सय २० जनामा पुष्टि भएको छ । यसले वर्षायामसँगै जिल्लामा स्क्रब टाइफस संक्रमण बढेको देखाएको छ ।
स्थानीय तहमध्ये वालिङ नगरपालिका संक्रमणको केन्द्रका रुपमा देखिएको छ । वालिङमा असारमा ३४, साउनमा ९१ र भदौमा १ सय १९ गरी तीन महिनामा २ सय ४४ जनामा संक्रमण पुष्टि भएको छ । जिल्लाभरका संक्रमितमध्ये आधाभन्दा बढी वालिङका मात्रै छन् । तर वालिङमा संक्रमण बढी देखिनुलाई स्थानीयस्तरमै संक्रमण फैलिएको अवस्थाका रुपमा मात्र बुझ्न नहुने नगर स्वास्थ्य शाखाको भनाइ छ । वालिङ बजार तथा आसपासमा अन्य क्षेत्रबाट समेत मानिसको आवतजावत हुने र विभिन्न स्थानका मानिस यहाँ आएर खेतबारीलगायतका काममा संलग्न हुने भएकाले संक्रमितको संख्या बढी देखिएको हुन सक्ने स्वास्थ्य शाखाले जनाएको छ ।
वालिङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख कमल पाण्डेका अनुसार स्क्रब टाइफस मुख्यतः खेतबारी तथा झाडी–घाँसे क्षेत्रमा काम गर्दा सर्न सक्ने रोग भएकाले खेतीपातीसँग जोडिएका व्यक्तिहरुमा जोखिम बढी हुन्छ । पाण्डेले भने, “यो खेतबारीमा काम गर्दा सर्ने रोग हो । वालिङमा धेरै देखिनु भनेको यहाँको मात्र हैन, अन्यत्रका मानिससमेत यहाँ आएकाले पनि हो” । उनका अनुसार नगर स्वास्थ्य शाखाले संक्रमणको जोखिम र बच्ने उपायबारे समुदायस्तरमा सचेतना कार्यक्रम सञ्चालन गरिरहेको छ । पाण्डेका अनुसार पछिल्लो समय वर्षा तुलनात्मक रुपमा कम हुँदै गएकाले स्क्रब टाइफस संक्रमणको जोखिम पनि क्रमशः घट्दै जाने अपेक्षा गरिएको छ । यद्यपि संक्रमण पूर्ण रुपमा नियन्त्रणमा आइसकेको निष्कर्ष निकाल्न भने हतार गर्न नहुने स्वास्थ्यकर्मी बताउँछन् ।
वालिङपछि कालीगण्डकी गाउँपालिकामा संक्रमणको संख्या उल्लेख्य छ । त्यहाँ असारमा ११, साउनमा २३ र भदौमा ६० गरी तीन महिनामा ९४ जनामा संक्रमण पुष्टि भएको छ । चापाकोट नगरपालिकामा असारमा ५, साउनमा १७ र भदौमा १५ गरी ३७ जना संक्रमित भएका छन् । अर्जुनचौपारी गाउँपालिकामा असारमा २, साउनमा ८ र भदौमा १५ गरी २५ जनामा संक्रमण देखिएको छ । भीरकोट नगरपालिकामा असारमा ४ र साउनमा १३ गरी १७ जनामा संक्रमण पुष्टि भए पनि भदौमा नयाँ संक्रमित भेटिएका छैनन् ।
त्यस्तै गल्याङ नगरपालिकामा तीन महिनाको अवधिमा १६ जनामा संक्रमण पुष्टि भएको छ । गल्याङमा असारमा चार, साउनमा छ र भदौमा छ जना संक्रमित भएका हुन् । पुतलीबजार नगरपालिकामा साउनमा एक र भदौमा पाँच गरी छ जनामा संक्रमण देखिएको कार्यालयले जनाएको छ । प्रदेश जनस्वास्थ्य कार्यालयका अनुसार फेदीखोला, आँधीखोला, बिरुवा र हरिनास गाउँपालिकामा भने असार, साउन र भदौ गरी तीन महिनाको अवधिमा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छैन ।
प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाका सूचना अधिकारी एवं तथ्यांक अधिकृत विनोदप्रसाद भट्टले जिल्लामा स्क्रब टाइफस संक्रमणसम्बन्धी विवरण नियमित रुपमा अद्यावधिक भइरहेको जानकारी दिए । पछिल्लो तथ्यांकले संक्रमण बढ्दो क्रममा रहेको देखाएको उनको भनाइ छ । स्क्रब टाइफस ‘ओरिएन्टिया सुसुगामुसी’ नामक ब्याक्टेरियाबाट हुने संक्रामक रोग हो । झाडी, घाँस तथा खेतबारीमा पाइने सानो किर्नाजस्तो परजीवी ‘चिगर’को टोकाइबाट मानिसमा संक्रमण हुने गर्छ । विशेषगरी ग्रामीण क्षेत्रमा खेतबारीमा काम गर्ने, झाडी तथा घाँसे क्षेत्रमा जाने वा त्यस्ता स्थानमा लामो समय बिताउने व्यक्तिमा यसको जोखिम बढी हुन्छ ।
संक्रमण भएपछि उच्च ज्वरो आउने, टाउको दुख्ने, शरीर तथा मांसपेशी दुख्ने, अत्यधिक कमजोरी हुने, खोकी लाग्ने, वाकवाकी तथा बान्ता हुनेजस्ता लक्षण देखिन सक्छन् । चिगरले टोकेको स्थानमा कालो दाग वा घाउजस्तो चिन्ह देखिनु पनि संक्रमणको संकेत हुन सक्ने चिकित्सकहरु बताउँछन् । स्वास्थ्यकर्मीका अनुसार स्क्रब टाइफसको समयमै पहिचान गरी चिकित्सकको सल्लाहअनुसार एन्टिबायोटिक उपचार गरेमा निको हुन सक्छ । तर सामान्य ज्वरो भनेर बेवास्ता गर्ने वा उपचारमा ढिलाइ गर्ने हो भने संक्रमण गम्भीर बन्न सक्छ । यस्तो अवस्थामा फोक्सो, मिर्गौला, मस्तिष्कलगायत शरीरका विभिन्न अंगमा जटिलता उत्पन्न हुन सक्ने चिकित्सकहरुको भनाइ छ ।
त्यसैले ज्वरोसहितका लक्षण देखिएमा घरमै बसेर अनुमानका भरमा औषधि सेवन गर्नुभन्दा स्वास्थ्य संस्थामा पुगेर परीक्षण तथा उपचार गराउन स्वास्थ्यकर्मीले आग्रह गरेका छन् । स्क्रब टाइफसबाट बच्न झाडी तथा घाँसे क्षेत्रमा जाँदा शरीर ढाकिने कपडा लगाउने, व्यक्तिगत सरसफाइमा ध्यान दिने र चिगरको टोकाइबाट बच्ने उपाय अपनाउन स्वास्थ्यकर्मीले आग्रह गरेका छन् । खेतबारी तथा वनजंगल क्षेत्रमा काम गर्ने व्यक्तिले विशेष सावधानी अपनाउनुपर्ने उनीहरुको भनाइ छ ।
संक्रमण पुष्टि हुँदैमा आत्तिनुपर्ने अवस्था नरहेको भन्दै स्वास्थ्यकर्मीले सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट फैलिने अपुष्ट सूचना र हल्लाको पछि नलाग्नसमेत आग्रह गरेका छन् । आधिकारिक स्वास्थ्य निकाय तथा चिकित्सकको सल्लाहअनुसार परीक्षण र उपचार गर्न उनीहरुले सुझाएका छन् । पछिल्लो तीन महिनाको तथ्यांकले स्याङ्जामा स्क्रब टाइफसलाई सामान्य मौसमी ज्वरोका रुपमा मात्र नलिएर स्वास्थ्य सतर्कताको विषय बनाउनुपर्ने देखाएको छ । विशेषगरी भदौमा संक्रमितको संख्या २ सय २० पुग्नुले जोखिमप्रति थप सचेत हुनुपर्ने संकेत गरेको छ ।
यद्यपि वालिङ स्वास्थ्य शाखाका अनुसार वर्षा घट्दै गएकाले आगामी दिनमा संक्रमणको जोखिम क्रमशः कम हुन सक्ने अवस्था छ । जोखिम घट्दै गए पनि समुदायस्तरमा सचेतना, समयमै परीक्षण र उपचारलाई निरन्तरता दिनुपर्ने स्वास्थ्यकर्मीको सुझाव छ । स्थानीय तह र स्वास्थ्य संस्थाले जोखिम क्षेत्रमा जनचेतना बढाउने तथा लक्षण देखिएका व्यक्तिलाई समयमै उपचारको पहुँचमा पु¥याउने कामलाई प्राथमिकता दिनुपर्ने देखिएको छ ।


प्रतिक्रिया