अलपत्र अस्पताल, जाग्यो काँग्रेस !
वालिङ
निर्माण सकिएर पनि २ वर्षदेखि अलपत्र परेको वालिङ नगर अस्पताल सञ्चालन गर्न माग गर्दै कांग्रेस स्याङ्जाको टोलीले गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई भेटेको छ । वालिङ–१, रामबाच्छामा बनेको गह्रौँ प्राथमिक अस्पताल (वालिङ नगर अस्पताल) को भवन बनेर थन्किएको २ बर्षभन्दा बढी भएको छ । भवन अलपत्र पर्दा नागरिकले आलोचना गरिरहेका बेला कांग्रेसका शीर्ष नेता र सांसद सहितको टोली गण्डकी प्रदेशको मुख्यमन्त्री कार्यालय पुगेको हो ।
निर्माण सम्पन्न भएको अस्पताललाई सुविधा सम्पन्न अस्पतालको रुपमा स्तरोन्नती गरी वालिङ लगायत आसपासका क्षेत्रका जनताको स्वास्थ्य उपचारमा सहज बनाउन टोली मुख्यमन्त्रीलाई भेट्न पुगेको थियो । भेटमा मुख्यमन्त्री पाण्डेले अस्पताल सञ्चालन प्रदेश सरकारको उच्च प्राथमिकतामा रहेको बताए । यसअघि मन्त्रिपरिषदबाट भएको सिफारिसमा देखिएका त्रुटि सच्याएर आगामी बैठकबाट निर्णय गरी पुनः संघीय सरकारमा पठाउने आश्वासन मुख्यमन्त्रीले दिए ।
छलफलमा वडा नं. ९ मा चलिरहेको गह्रौँ प्राथमिक अस्पताललाई नयाँ भवनमा पूर्ण सार्ने वा दुवैतिर चलाउने भन्ने अन्योल हटाउनुपर्ने, नगरपालिकाले बाँकी निर्माण र भुक्तानी तुरुन्त टुङ्ग्याउनुपर्ने विषयमा जोड दिइएको छ । निर्माण सम्पन्न भवन अझै नगरपालिकामा ठेकेदार कम्पनीबाट हस्तान्तरण भएको छैन । कम्पनीले भुक्तानी नपाएका कारण नगरपालिकालाई हस्तान्तरण नगरेको बुझिएको छ । सबै बिषय टुङ्गिएमा गण्डकी प्रदेश सरकारले प्रादेशिक अस्पताल बनाउन सहयोग गर्ने मुख्यमन्त्री पाण्डेले बताएको टोलीमा सहभागी नेत्रप्रसाद पाण्डेले जानकारी दिए । भवन बनेर पनि अस्पताल संचालनमा नआएपछि नागरिक स्तरबाट चर्को आलोचना हुदै आएको थियो । आलोचनाबढ्न थालेपछि स्याङ्जा काँग्रेस अलपत्र अस्पताल संचालन गर्न जागेको छ ।
साथै असोज १२ को बाढीले बिगारेको रामनदी धामको शवदाह स्थल पुनर्निर्माणका लागि पनि ध्यानाकर्षण गराइएको थियो । भेटपछि प्रदेश अर्थ तथा विकास समिति सभापति भोजराज अर्यालले भने, “जसरी पनि अस्पताल सञ्चालन गर्छौँ, यो वालिङका नागरिकको स्वास्थ्य अधिकारसँग जोडिएको विषय हो ।” प्रदेश सरकार यो बिषयमा सकरात्मक देखिएको छ उनले भने ।
टोलीमा कांग्रेस केन्द्रीय सदस्य तथा प्रदेश सांसद कल्पना तिवारी, जिल्ला सभापति राजु थापा, सभापति अर्याल, ध्रुवप्रसाद शर्मा, केदार काफ्ले, दामोदर लम्साल, नेत्रप्रसाद पाण्डे, पत्रकार महासंघ अध्यक्ष प्रदिप कोइराला, राधाकृष्ण डुम्रे लगायतको सहभागीता रहेको थियो ।


प्रतिक्रिया