१० प्रतिशत लाभांश बाड्दै कालिका सहकारी

भीरकोट ।
भीरकोट नगरपालिका–१ हेलुस्थित कालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २०औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि ३७ करोड ४४ लाख ४४ हजार २ सय १ रुपैयाँको बजेट पारित गर्नुका साथै शेयर सदस्यलाई १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । संस्थाका अध्यक्ष भविष्वर कोइरालाको अध्यक्षता तथा जिल्ला सहकारी संघ स्याङ्जाका अध्यक्ष लक्ष्मीपति पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सञ्चालन संस्थाका सचिव मिनप्रसाद कोइरालाले गरेका थिए ।

कार्यक्रममा सहकारी संघका अध्यक्ष पौडेलले सहकारी अहिले जनताको आशाको किरण बनिरहेको जिकिर गरे । सहकारीलाई व्यवस्थित र प्रभावकारी रुपमा अगाडि बढाउन सके शेयर सदस्यको आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुग्ने उनको भनाइ थियो । सदस्यको हितलाई केन्द्रमा राखेर सहकारीले आफ्ना गतिविधि सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए । सहकारी ऐन अन्तर्गत चलेका सहकारीहरु समस्यामा नपर्ने भन्दै नियम मिचेर चलेका सहकारीहरुलाई अफ्ठ्यारो पर्ने स्थिति आएको पौडेलकोभनाईथियो । ‘सबै सहकारीहरु बिग्रिएका छैनन्, सबै सहकारीलाई एउटै हिसावले हेर्न हुँदैन, सहकारीको नियमित लेखा परिक्षण, आय व्यय सार्वजनिक गर्ने भनेर साधारणसभा हुन्छ’ पौडेलले भने–‘सेयर सदस्यहरु चनाखो भएर सहकारीको गतिबिधि नियाले सहकारी बिग्रन पाउँदैनन् ।’ कार्यक्रममा भीरकोट नगरपालिका–७ का वडाध्यक्ष ताराप्रसाद अर्याल र राष्ट्रिय सहकारी बैंक वालिङ शाखाका प्रमुख फणिनारायण कोइरालाले पनि सहकारीको भूमिका, सदस्यको आर्थिक अवस्था सुधार तथा संस्थागत विकासका विषयमा सम्बोधन गरेका थिए ।

२ हजार ७ सय ९७ जना शेयर सदस्य रहेको सहकारीले साधारणसभाबाट सदस्यलाई १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको संस्थाका अध्यक्ष भविष्वर कोइरालाले जानकारी दिए । उनका अनुसार साधारणसभाले आगामी आर्थिक वर्षका लागि ३७ करोड ४४ लाख ४४ हजार २ सय १ रुपैयाँ बराबरको बजेट पारित गरेको छ । साधारणसभाले झन्डै एक दर्जन विनियमावली तथा कार्यविधि पारित गरेको छ । साथै, आगामी वर्षको नीति, कार्यक्रम तथा आर्थिक गतिविधिलाई व्यवस्थित बनाउने विषयमा छलफल गर्दै बजेट निर्माण गरिएको अध्यक्ष कोइरालाले बताए । हाल संस्थाको ४ करोड ७७ लाख ७१ हजार ७ सय शेयर पूँजी रहेको सहकारीका कोषाध्यक्ष जगदिश प्रसाद कोइरालाले बताए । सहकारीले सदस्यको बचत परिचालन, आर्थिक आवश्यकता परिपूर्ति तथा संस्थाको दिगो विकासलाई प्राथमिकतामा राखेर आगामी कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।

 

प्रतिक्रिया