स्याङ्जाका चार नेता काँग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित
वालिङ ।
नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदमा स्याङ्जाका चार नेता निर्वाचित भएका छन् । महिला खुला, आदिवासी जनजाति खुला, नेपाली जनसम्पर्क समिति महिला र खुला क्लस्टरबाट स्याङ्जाका नेताहरु केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । महाधिवेशनबाट गण्डकी प्रदेशकी उपसभापतिसमेत रहेकी कल्पना तिवारी, इन्जिनियर अनुप श्रेष्ठ, चन्द्रा अधिकारी (चन्दा) र युवराज पाण्डे केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । यसैगरी श्रमिक नेता सुवास रेग्मी र गण्डकी प्रदेशसभा सदस्य तथा कांग्रेसकी पूर्व केन्द्रीय सदस्य सरस्वती अर्याल तिवारी पनि केन्द्रीय सदस्य पदमा जितको नजिक पुगेका छन् ।
महिला खुला केन्द्रीय सदस्यतर्फ निर्वाचित कल्पना तिवारीले २ हजार ३ सय ६३ मत प्राप्त गरेकी छन् । गण्डकी प्रदेशमा पार्टीको संगठन निर्माण तथा राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएकी तिवारीको केन्द्रीय सदस्यमा निर्वाचित हुनुलाई स्याङ्जाका कांग्रेस नेता तथा कार्यकर्ताले उपलब्धिका रुपमा लिएका छन् । त्यस्तै, आदिवासी जनजाति खुलातर्फ इन्जिनियर अनुप श्रेष्ठ केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । उनले २ हजार ५ सय ५१ मत प्राप्त गरेका हुन् । इन्जिनियरिङ पेसामा आबद्ध श्रेष्ठ विद्यार्थी राजनीतिदेखि नै कांग्रेसको संगठनात्मक गतिविधिमा सक्रिय रहँदै आएका थिए ।
यसैगरी, नेपाली जनसम्पर्क समिति महिला क्लस्टरबाट स्याङ्जाकै चन्द्रा अधिकारी (चन्दा) केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् । अधिकारीले २ हजार ८ सय ९६ मत प्राप्त गरेकी हुन् । नेपाली जनसम्पर्क समितिमार्फत पार्टीको संगठनात्मक गतिविधिमा आबद्ध महिलाको प्रतिनिधित्व गर्दै उनी केन्द्रीय नेतृत्वमा पुगेकी छन् । खुला केन्द्रीय सदस्यतर्फ स्याङ्जाकै युवराज पाण्डे पनि निर्वाचित भएका छन् । लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय पाण्डे विद्यार्थी राजनीतिबाट पार्टीको केन्द्रीय नेतृत्वसम्म पुगेका हुन् ।
यसैबीच, श्रमिक नेता सुवास रेग्मी पनि कांग्रेसको केन्द्रीय सदस्यमा जितको नजिक पुगेका छन् । स्याङ्जा क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधि निर्वाचित रेग्मीले श्रमिक क्लस्टरतर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका थिए । यो समाचार तयार पार्दासम्म उनको अन्तिम निर्वाचन परिणाम सार्वजनिक भइसकेको थिएन । त्यस्तै, गण्डकी प्रदेशसभा सदस्य तथा कांग्रेसकी केन्द्रीय सदस्य सरस्वती अर्याल तिवारी पनि पुनः केन्द्रीय सदस्यमा निर्वाचित हुने प्रतिस्पर्धामा जितको नजिक पुगेकी छन् । स्याङ्जाबाट लामो समयदेखि सक्रिय राजनीतिमा रहेकी उनी कांग्रेसभित्र स्थापित महिला नेतृका रुपमा परिचित छन् । उनी १४औँ महाधिवेशनबाट पनि केन्द्रीय सदस्यमा निर्वाचित भैसकेकी थिइन् ।
स्याङ्जाका नेताहरुले विभिन्न समावेशी तथा खुला क्लस्टरबाट केन्द्रीय नेतृत्वमा प्रतिनिधित्व पाउनु जिल्लाको राजनीतिक प्रभाव र संगठनात्मक सक्रियताका दृष्टिले महत्वपूर्ण मानिएको छ । विद्यार्थी राजनीति, पेसागत क्षेत्र, महिला नेतृत्व र श्रमिक संगठनबाट आएका नेताहरुको उपस्थितिले पार्टीको केन्द्रीय तहमा जिल्लाको प्रतिनिधित्व थप बलियो बनाउने अपेक्षा गरिएको छ । महाधिवेशनबाट निर्वाचित नेताहरुले अब पार्टीको नीति निर्माण, संगठन सुदृढीकरण र आगामी राजनीतिक रणनीति तय गर्ने प्रक्रियामा भूमिका निर्वाह गर्नेछन् । स्याङ्जाबाट केन्द्रीय नेतृत्वमा पुगेका नेताहरुका लागि जिल्लाको संगठन विस्तार, कार्यकर्ताको भावना समेट्ने र जनतासँग पार्टीको सम्बन्ध थप सुदृढ बनाउने जिम्मेवारीसमेत महत्वपूर्ण रहनेछ ।


प्रतिक्रिया