मनसुनजन्य विपद्को सामाना गर्न पूर्ण तयारीमा छौ
(निराजन घिमिरे)
प्रमुख जिल्ला अधिकारी,
स्याङ्जा ।
स्याङ्जाका प्रमुख जिल्ला अधिकारीका रुपमा करिब एक महिनाअघि जिम्मेवारी सम्हालेका निराजन घिमिरेले नागरिकमैत्री सेवा प्रवाह, सुशासन, शान्ति–सुरक्षा सुदृढीकरण र विपद् जोखिम न्यूनीकरणलाई आफ्नो कार्यकालको मुख्य प्राथमिकताका रुपमा अघि बढाएका छन् । छोटो अवधिमै सेवा प्रवाहलाई प्रभावकारी बनाउने, गुनासो सुनुवाइ प्रणाली स्थापना गर्ने, बजार अनुगमनलाई तीव्रता दिने, लागुऔषध तथा अवैध ओसारपसार नियन्त्रणमा सक्रियता बढाउनेदेखि मनसुनजन्य विपद्को पूर्वतयारीलाई सुदृढ बनाउने कार्यमा प्रशासन केन्द्रित रहेको उनको भनाइ छ । निजामती सेवाप्रतिको आफ्नो दृष्टिकोण, प्रशासनिक नेतृत्व, सुशासन, सेवाग्राहीप्रतिको उत्तरदायित्व र स्याङ्जाको समसामयिक अवस्थाबारे प्रमुख जिल्ला अधिकारी घिमिरेसँग पब्लिक आवाजका लागि सम्पादक अमृत अर्यालले गरेको कुराकानीको सम्पादित अंशः
१. सिडिओ साव आराम हुनुहुन्छ ? स्याङ्जा जिल्लामा तपाइलाई हार्दिक स्वागत छ । स्याङ्जाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाल्दै गर्दा तपाईंले आफ्नो कार्यकालको पहिलो दिनदेखि नै कुन लक्ष्यलाई सबैभन्दा उच्च प्राथमिकतामा राख्नुभएको छ ?
अमृतजी, धन्यवाद । स्याङ्जा जस्तो ऐतिहासिक, शैक्षिक तथा सम्भावना बोकेको जिल्लामा प्रमुख जिल्ला अधिकारीका रुपमा जिम्मेवारी सम्हाल्ने अवसर पाउनु मेरा लागि गौरवको विषय हो । यहाँका सम्पूर्ण नागरिकप्रति हार्दिक सम्मान व्यक्त गर्दै सबै सरोकारवालासँग सहकार्य गरेर जिल्लाको समग्र विकास, सुशासन र शान्ति–सुरक्षालाई थप सुदृढ बनाउन प्रतिबद्ध छु । मेरो कार्यकालको पहिलो प्राथमिकता आम नागरिकले जिल्ला प्रशासन कार्यालयबाट सरल, सहज, पारदर्शी र छिटोछरितो सेवा प्राप्त गर्ने वातावरण सुनिश्चित गर्नु हो । सरकारी सेवा नागरिकमैत्री र प्रभावकारी बनाउनु प्रशासनको मुख्य दायित्व भएकाले सेवा प्रवाहलाई थप गुणस्तरीय, उत्तरदायी र प्रविधिमैत्री बनाउने दिशामा विशेष ध्यान दिनेछु । त्यसैगरी, जिल्लाको शान्ति–सुरक्षालाई थप सुदृढ बनाउनु अर्को महत्वपूर्ण प्राथमिकता हो । नागरिकले सुरक्षित वातावरणमा आफ्नो दैनिक जीवन सञ्चालन गर्न सकून् भन्ने उद्देश्यले सुरक्षा निकाय, स्थानीय तह, राजनीतिक दल, नागरिक समाज तथा सबै सरोकारवालासँग समन्वय र सहकार्यलाई अझ प्रभावकारी बनाइनेछ । अर्को महत्वपूर्ण प्राथमिकता विपद् जोखिम न्यूनीकरण तथा विपद्को अवस्थामा तत्काल उद्धार, राहत र व्यवस्थापनलाई प्रभावकारी बनाउनु हो । स्याङ्जा प्राकृतिक विपद्को जोखिम रहेको जिल्ला भएकाले पूर्वतयारी, समन्वय र द्रुत प्रतिकार्य प्रणालीलाई सुदृढ गर्दै जनधनको क्षति न्यून गर्न आवश्यक सबै प्रयास गरिनेछ । यी तीनै प्राथमिकतालाई केन्द्रमा राख्दै सुशासन, कानुनी शासन, पारदर्शिता र जनउत्तरदायी प्रशासनको अभ्यासमार्फत स्याङ्जावासीलाई अनुभूत हुने सेवा प्रदान गर्ने मेरो प्रतिबद्धता रहनेछ ।
२. सेवाग्राहीको समस्या समाधानमा आफू कतिको सफल भएजस्तो लाग्छ ?
कुनै पनि कार्यालय वा व्यक्तिको सफलता एक महिनाजस्तो छोटो अवधिमा मूल्याङ्कन गर्नु व्यवहारिक हुँदैन । तथापि, यस अवधिमा सेवाग्राहीका गुनासा सुन्ने, समस्याको मूल कारण पहिचान गरी समाधान गर्ने तथा सेवा प्रवाहलाई अझ छिटो, सहज र गुणस्तरीय बनाउने दिशामा उल्लेखनीय प्रयास गरेका छौँ । सुशासन प्रवद्र्धन, कार्यालयको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने, जिल्लाको शान्ति–सुरक्षा सुदृढ गर्ने तथा विपद् जोखिम न्यूनीकरण र विपद् व्यवस्थापनका क्षेत्रमा सम्बन्धित निकायहरुसँग समन्वयात्मक रुपमा काम अघि बढाइएको छ । सेवाग्राहीलाई अनावश्यक झन्झट नहोस् भन्ने उद्देश्यले सेवा प्रवाहमा सुधारका लागि निरन्तर पहल भइरहेको छ । यी प्रयासबाट प्रारम्भिक रुपमा सकारात्मक प्रतिफल प्राप्त भएको अनुभूति गरेको छु । यद्यपि, सेवाग्राहीको सन्तुष्टि नै हाम्रो वास्तविक सफलता हो । त्यसैले आगामी दिनमा पनि नागरिकका सुझाव र प्रतिक्रियालाई आत्मसात् गर्दै सेवा प्रवाहलाई अझ प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउने दिशामा निरन्तर लागिरहनेछु ।
३. कामका दौरानमा कस्ता–कस्ता दबाब आउँछन् ?
प्रशासनिक कार्यसम्पादनका क्रममा विभिन्न प्रकारका चुनौती र अपेक्षाहरु स्वाभाविक रुपमा आउने गर्छन् । तर, हालसम्म मेरो कार्यसम्पादनमा कुनै किसिमको बाह्य दबाब आएको छैन । कानुन, विद्यमान नीति–नियम र सुशासनका सिद्धान्तलाई आधार मानेर निष्पक्ष रुपमा जिम्मेवारी निर्वाह गरिरहेको छु । मेरो विश्वास प्रशासनले कुनै व्यक्ति वा समूहको प्रभावभन्दा माथि उठेर कानुनअनुसार निर्णय गर्नुपर्छ भन्ने हो । त्यसैले निर्णय गर्दा व्यक्तिगत वा बाह्य प्रभावभन्दा पनि कानुनी व्यवस्था, तथ्य र सार्वजनिक हितलाई नै प्राथमिकतामा राख्ने गरेको छु । आगामी दिनमा पनि यही कार्यशैलीलाई निरन्तरता दिँदै निष्पक्ष, पारदर्शी र उत्तरदायी प्रशासन सञ्चालनमा प्रतिबद्ध रहनेछु ।
४. आफूले गरिदिएको कामबाट सेवाग्राही निकै खुसी भएको र आफूलाई पनि आत्मसन्तुष्ट भएको कुनै घटना छ कि ?
प्रशासनमा काम गर्दा हरेक सेवाग्राहीको समस्या समाधान हुनु आफैँमा सन्तुष्टिको विषय हो । विशेष गरी कानुनी प्रक्रिया पूरा गरी बाबुको पहिचान नभएका एक नागरिकलाई नेपाली नागरिकता प्रदान गर्न सफल भएको क्षण मेरा लागि निकै आत्मसन्तुष्टिको विषय बनेको थियो । लामो समयदेखि नागरिकता नपाउँदा राज्यका आधारभूत सेवाबाट समेत वञ्चित हुनुपरेको अवस्थाको अन्त्य भएपछि सम्बन्धित सेवाग्राहीको अनुहारमा देखिएको खुसीले प्रशासनिक सेवाको वास्तविक अर्थ अनुभूति गराएको थियो । त्यसैगरी, जातीय विभेदसँग सम्बन्धित एउटा विवादमा दुवै पक्षलाई सँगै राखी संवाद, छलफल र समन्वयमार्फत आपसी समझदारी कायम गराउन सफल भएको अनुभव पनि निकै स्मरणीय छ । विवाद समाधान भई सामाजिक सद्भाव कायम हुँदा दुवै पक्ष सन्तुष्ट भएको देख्नु प्रशासनका लागि ठूलो उपलब्धि हो भन्ने महसुस भयो । यस्ता घटनाले प्रशासनिक सेवा भनेको केवल कागजी प्रक्रिया पूरा गर्नु मात्र होइन, नागरिकको समस्या समाधान गर्दै समाजमा विश्वास, न्याय र सद्भाव कायम गर्ने जिम्मेवारी पनि हो भन्ने अनुभूति गराउँछन् । यिनै अनुभवहरुले आगामी दिनमा अझ बढी जिम्मेवारीका साथ काम गर्न प्रेरणा प्रदान गरेका छन् ।
५. निजामती सेवा प्रवेशका लागि तपाईंलाई कुन कुराले प्रेरित ग¥यो ?
मलाई निजामती सेवामा प्रवेश गर्न प्रेरित गर्ने सबैभन्दा ठूलो आधार राष्ट्रसेवा गर्ने भावना नै हो । राज्यको स्थायी संयन्त्रको सदस्यका रुपमा नागरिकको जीवनमा प्रत्यक्ष सकारात्मक प्रभाव पार्ने अवसर निजामती सेवामा हुने भएकाले यही क्षेत्र रोज्ने निर्णय गरेको हुँ । निजामती सेवा केवल जागिर नभई सार्वजनिक उत्तरदायित्व र सेवाको माध्यम हो भन्ने मेरो विश्वास छ । कानुनको पालना, सुशासनको प्रवद्र्धन, नागरिकलाई गुणस्तरीय सेवा प्रदान गर्ने र राज्यप्रति जनविश्वास अभिवृद्धि गर्ने कार्यमा योगदान पु¥याउने उद्देश्यले मैले यो क्षेत्र रोजेको हुँ । आज पनि त्यही सेवाभाव, इमान्दारिता र जिम्मेवारीबोधलाई मार्गदर्शनका रुपमा लिएर आफ्नो दायित्व निर्वाह गरिरहेको छु । नागरिकको हित र राष्ट्रको समग्र विकासमा सानो भए पनि सकारात्मक योगदान पु¥याउन सकेँ भने त्यसलाई नै आफ्नो सेवाको सबैभन्दा ठूलो उपलब्धि ठान्नेछु ।
६. निजामतीतर्फ नयाँ पुस्ता कत्तिको आकर्षण भएको मान्नुहुन्छ ?
निजामती सेवामा केही चुनौती र सुधार गर्नुपर्ने पक्षहरु अवश्य छन् । तथापि, नयाँ पुस्ताको आकर्षण अझै पनि कायम रहेको मेरो बुझाइ छ । यसको प्रमुख आधार लोकसेवा आयोगका विभिन्न पदमा प्रत्येक वर्ष ठूलो संख्यामा आवेदन पर्नु र प्रतिस्पर्धा निरन्तर बढ्दै जानु हो । निजामती सेवा राज्यको स्थायी संयन्त्र भएकाले यसमार्फत राष्ट्रसेवा गर्ने अवसर, सामाजिक प्रतिष्ठा, व्यावसायिक स्थायित्व र आफ्नो क्षमता प्रदर्शन गर्ने सम्भावनाले युवा पुस्तालाई आकर्षित गरिरहेको छ । त्यसैले केही चुनौतीका बाबजुद पनि योग्य र सक्षम युवाहरुको रोजाइमा निजामती सेवा अझै पनि महत्वपूर्ण क्षेत्रका रुपमा रहेको देखिन्छ । यद्यपि, बदलिँदो समयअनुसार निजामती सेवालाई अझ प्रविधिमैत्री, कार्यसम्पादनमा आधारित, पारदर्शी र परिणाममुखी बनाउन सकियो भने नयाँ पुस्ताको आकर्षण अझ बढ्ने विश्वास छ ।
७. निजामती सेवामा किन चाँडो–चाँडो सरुवा भइरहन्छ ? यसले कार्यसम्पादनमा कस्तो प्रभाव पार्छ ?
निजामती सेवामा हुने सरुवा प्रशासनको नियमित प्रक्रिया हो । तर, कतिपय अवस्थामा व्यवस्थित र पूर्वानुमानयोग्य सरुवा प्रणालीको पूर्ण रुपमा कार्यान्वयन हुन नसक्नु तथा विभिन्न प्रकारका प्रशासनिक र परिस्थितिजन्य प्रभावका कारण अपेक्षाभन्दा छिटोछिटो सरुवा हुने गरेको देखिन्छ । बारम्बार हुने सरुवाले कार्यसम्पादनमा केही नकारात्मक प्रभाव पनि पार्न सक्छ । विशेष गरी कार्यालयमा संस्थागत स्मरण कमजोर हुने, दीर्घकालीन योजना तथा कार्यक्रमको निरन्तरता प्रभावित हुने, नयाँ कर्मचारीलाई कार्यबारे बुझ्न समय लाग्ने तथा संगठनभित्र अस्थिरताको अनुभूति हुन सक्छ । यसले कर्मचारीको मनोबल र कार्यसम्पादनमा समेत असर पार्ने सम्भावना रहन्छ । त्यसैले सरुवा प्रणालीलाई निश्चित मापदण्ड, पारदर्शिता, पूर्वानुमानयोग्यता र कार्यसम्पादनको मूल्याङ्कनसँग जोडेर व्यवस्थित गर्न सकियो भने कर्मचारीको क्षमता र अनुभवको प्रभावकारी उपयोग हुने, संस्थागत स्थायित्व कायम रहने र सेवा प्रवाह पनि थप प्रभावकारी बन्ने विश्वास गर्दछु ।
८. आफ्नो पेसाप्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
म आफ्नो पेसाप्रति पूर्ण रुपमा सन्तुष्ट छु । निजामती सेवा मेरो लागि केवल रोजगारीको माध्यम होइन, राष्ट्र र नागरिकको सेवा गर्ने अवसर पनि हो । नागरिकका समस्या समाधान गर्न, कानुनको कार्यान्वयन गर्न तथा सार्वजनिक हितमा काम गर्न पाउँदा व्यावसायिक मात्र होइन, आत्मिक सन्तुष्टि पनि प्राप्त हुने गरेको छ । विशेषगरी सेवाग्राहीको काम सहज रुपमा सम्पन्न हुँदा, उनीहरुको अनुहारमा देखिने खुसी र राज्यप्रति बढेको विश्वासले अझ बढी जिम्मेवारीका साथ काम गर्ने प्रेरणा मिल्छ । यही सेवाभाव नै मेरो पेसागत सन्तुष्टिको मुख्य आधार हो । निःसन्देह, निजामती सेवामा विभिन्न चुनौती र सीमितताहरु छन् । तर ती चुनौतीलाई अवसरका रुपमा ग्रहण गर्दै इमान्दारिता, निष्पक्षता र उत्तरदायित्वका साथ नागरिकलाई गुणस्तरीय सेवा प्रदान गर्न सक्नु नै मेरो लागि सबैभन्दा ठूलो उपलब्धि र सन्तुष्टिको विषय हो ।
९. मनसुन सुरु भइसकेको छ । जिल्लामा विपद् पूर्वतयारीको अवस्था अहिले कस्तो छ ?
मनसुन सुरु भएसँगै स्याङ्जा जिल्लामा सम्भावित विपद्को जोखिमलाई मध्यनजर गर्दै पूर्वतयारीका कार्यहरुलाई उच्च प्राथमिकताका साथ अघि बढाइएको छ । जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको समन्वयमा सम्बन्धित सबै निकायलाई तयारी अवस्थामा राखिएको छ, ताकि कुनै पनि विपद्को अवस्थामा तत्काल र प्रभावकारी रुपमा परिचालन हुन सकियोस् । सबैभन्दा पहिले जिल्लाका जोखिमयुक्त क्षेत्रहरुको पहिचान गरिएको छ । विशेष गरी पुतलीबजार नगरपालिका–३ चितिकुनाका उच्च जोखिममा रहेका ६ घरपरिवारमध्ये ३ घरपरिवारलाई शिक्षा समन्वय इकाइको भवनमा सुरक्षित रुपमा स्थानान्तरण गरिएको छ भने बाँकी ३ घरपरिवार आफन्तको घरमा बस्ने व्यवस्था मिलाएको जानकारी गराउनुभएको छ । उक्त जोखिम क्षेत्रलाई चौबीसै घण्टा नेपाल प्रहरीले निगरानीमा राखिरहेको छ । विपद्को समयमा आवश्यक पर्ने खोज तथा उद्धार सामग्री खरिद तथा अद्यावधिक गरी तयारी अवस्थामा राखिएको छ । साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका खोज तथा उद्धार टोलीलाई आवश्यक परेको जुनसुकै समयमा परिचालन गर्न सकिने गरी तयारी अवस्थामा राखिएको छ । मनसुनका कारण सडक अवरुद्ध हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै सडक डिभिजन कार्यालय पोखरासँग समन्वय गरी जिल्लामा चालकसहित तीन वटा स्काभेटर तयारी अवस्थामा राखिएको छ । तीमध्ये एउटा पुतलीबजार नगरपालिकामा र दुई वटा वालिङ नगरपालिकामा तयारी अवस्थामा छन्, ताकि राजमार्ग तथा अन्य मुख्य सडकहरु अवरुद्ध भएमा तत्काल सञ्चालनमा ल्याउन सकियोस् । यसैगरी, जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समिति, जिल्ला विपद् सहायता कक्ष तथा जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रबीच सूचना आदान–प्रदान, समन्वय र सहयोगको प्रभावकारी व्यवस्था मिलाइएको छ । विपद्को समयमा अत्यावश्यक उपभोग्य वस्तुको अभाव हुन नदिन उद्योग वाणिज्य संघ तथा चेम्बर अफ कमर्ससँग आवश्यक समन्वय गरी आपूर्ति व्यवस्थालाई समेत सुनिश्चित गर्ने तयारी गरिएको छ । नागरिकले विपद्को अवस्थामा जुनसुकै समयमा सहायता लिन सकून् भन्ने उद्देश्यले सहायक प्रमुख जिल्ला अधिकारीको सम्पर्क नम्बर ९८५६०५२४४४, नेपाल प्रहरीको आपत्कालीन नम्बर १०० तथा जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रको टेलिफोन ०६३–४२४०३२ सार्वजनिक गरिएको छ । त्यसैगरी, जिल्लास्थित सबै सरकारी कार्यालयका प्रमुखहरुलाई मनसुन अवधिमा जिल्ला नछोड्न, आफ्नो मोबाइल फोन जुनसुकै समयमा सम्पर्क हुन सक्ने अवस्थामा राख्न तथा आवश्यक पर्दा तत्काल परिचालन हुन सक्ने व्यवस्था मिलाउन निर्देशन दिइएको छ । जोखिमयुक्त सडकहरुको पहिचान गर्न प्राविधिक टोली परिचालन गरिएको छ । अत्यधिक जोखिम देखिएका सडकहरुमा आवश्यक परे सञ्चालनमा रोक लगाउने तयारी पनि गरिएको छ । साथै, जिल्लाका सबै स्थानीय तहलाई स्थानीय विपद् व्यवस्थापन कोषमा न्यूनतम आवश्यक रकम मौज्दात राखी विपद्को अवस्थामा तत्काल परिचालन गर्न सकिने व्यवस्था मिलाउन अनुरोध गरिएको छ । समग्रमा, मनसुनजन्य विपद्बाट हुन सक्ने जनधनको क्षति न्यून गर्न पूर्वतयारी, समन्वय, द्रुत प्रतिकार्य र नागरिक सुरक्षालाई केन्द्रमा राखेर आवश्यक सबै तयारी गरिएको छ । प्रशासनको प्रयास मात्र पर्याप्त हुँदैन, त्यसैले नागरिकले पनि मौसमसम्बन्धी सूचना तथा सुरक्षा निकायका निर्देशनहरुको पालना गर्दै सतर्क रहनु आवश्यक छ ।
१०. तपाई जिल्लामा नेतृत्व सम्हालेर आएको पनि १ महिना भैसक्यो । यस अवधिमा कति काम गर्न सकियो त ?
एक महिना कुनै पनि प्रशासनिक नेतृत्वको उपलब्धि मापन गर्न धेरै लामो अवधि होइन । तथापि, यस अवधिमा नागरिकले प्रत्यक्ष अनुभूति गर्न सक्ने सुधारका प्रयासहरुलाई प्राथमिकतामा राख्दै केही महत्वपूर्ण कामहरु अघि बढाएका छौँ । सबैभन्दा पहिले, जिल्ला प्रशासन कार्यालयबाट सरल, सहज र छिटोछरितो सेवा प्रवाह सुनिश्चित गर्न कर्मचारी व्यवस्थापनलाई व्यवस्थित गरिएको छ । सेवाग्राहीका गुनासा र सुझावलाई संस्थागत रुपमा सम्बोधन गर्न गुनासो सुनुवाइ संयन्त्र स्थापना गरिएको छ भने सेवाको गुणस्तर मापन गर्न सेवाग्राही सन्तुष्टि सर्वेक्षण पनि सुरु गरिएको छ । साथै, कार्यालयबाट भएका निर्णयहरुको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न जिम्मेवार संयोजक तोक्ने व्यवस्था गरिएको छ । भ्रष्टाचार र सेवा प्रवाहमा हुने ढिलासुस्तीप्रति शून्य सहनशीलताको नीति अवलम्बन गर्दै सुशासनलाई प्राथमिकतामा राखिएको छ । जनस्वास्थ्य र उपभोक्ता हितलाई ध्यानमा राख्दै खाद्य स्वच्छता कायम गर्न बजार अनुगमनलाई तीव्रता दिइएको छ । त्यस्तै, ग्रामीण सडकहरुमा ट्राफिक नियम उल्लंघनका घटनालाई न्यूनीकरण गर्न ट्राफिक चेकजाँच बढाइएको छ र नियम उल्लंघन गर्नेहरुलाई कानुनबमोजिम कारबाही गर्ने व्यवस्था मिलाइएको छ । भारतीय पर्यटकको सहज आवागमन तथा सुरक्षित यात्रालाई प्रवद्र्धन गर्न राम्दी चेकपोष्टमा ट्राफिक सचेतना र स्वच्छ पर्यटनसम्बन्धी जानकारी दिने व्यवस्था पनि गरिएको छ । पशुपंक्षीजन्य रोग नियन्त्रणलाई पनि प्राथमिकतामा राखिएको छ । जिल्ला बर्ड फ्लु नियन्त्रण समितिको बैठकबाट फेदीखोला र राम्दीका सीमाक्षेत्रमा क्वारेन्टाइन चेकजाँचलाई कडाइ गर्ने तथा समुदायस्तरमा बर्ड फ्लुसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय कार्यान्वयनमा ल्याइएको छ । जिल्लामा लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार नियन्त्रणका लागि सम्बन्धित निकायहरुसँग अन्तरक्रिया र समन्वयलाई प्रभावकारी बनाइएको छ । विशेष गरी सीमाक्षेत्रहरुमा हुने अवैध गतिविधि नियन्त्रण गर्न सुरक्षा निकायमार्फत चेकजाँचलाई थप सुदृढ गरिएको छ । त्यसैगरी, भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको प्रमाणीकरण प्रक्रियालाई अघि बढाउन सम्बन्धित निकायहरुसँग आवश्यक समन्वय गरी कामलाई गति दिइएको छ । समग्रमा, छोटो अवधिमा प्रशासनलाई नागरिकमैत्री, उत्तरदायी र प्रभावकारी बनाउने आधार तयार गर्ने प्रयास गरिएको छ । आगामी दिनमा पनि यही कार्यशैलीलाई निरन्तरता दिँदै सुशासन, शान्ति–सुरक्षा, सेवा प्रवाह र विकास निर्माणमा थप प्रभावकारी परिणाम हासिल गर्ने लक्ष्यका साथ काम गरिनेछ ।


प्रतिक्रिया