वालिङ उद्योग वाणिज्य संघको नेतृत्वमा अनुपमा तिवारी

वालिङ ।

वालिङ उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार शंकर डुम्रे नेतृत्वको प्यानल विजयी भएको छ। अध्यक्ष पदमा अनुपमा तिवारी यसअघि नै निर्विरोध निर्वाचित भएकी थिइन् भने बाँकी पदका लागि दुई पक्षबीच कडा प्रतिस्पर्धा भएको थियो। अध्यक्षबाहेक अन्य पदमा मतदानमार्फत नेतृत्व चयन गरिएको निर्वाचनको अन्तिम मतपरिणामअनुसार वरिष्ठ उपाध्यक्षमा शंकर डुम्रे विजयी भएका छन्। उनले ४३९ मत प्राप्त गरी आफ्ना प्रतिस्पर्धी प्रकाश अर्याललाई पराजित गरे। प्रकाश अर्यालले ३०१ मत प्राप्त गरेका थिए।

यस्तै उपाध्यक्ष पदमा सुविन गुरुङ विजयी भएका छन्। महासचिवमा विमल अर्याल, सचिवमा अशोक पौडेल, कोषाध्यक्षमा केशव पराजुली तथा सह–कोषाध्यक्षमा गोविन्द तिवारी निर्वाचित भएका छन्। सदस्य पदतर्फ स्विकार कोइराला सर्वाधिक ५२७ मत प्राप्त गर्दै सबैभन्दा बढी मत ल्याउने उम्मेदवार बनेका छन्। उनीपछि क्रमशः पार्वती पंगेनी, विनोद पराजुली, नितु क्षेत्री राना, छायाँदेवी लुइटेल अधिकारी, आनन्द पाण्डे (अशोक), सुन्दर विक, रमेश भुसाल र सुन्दर न्यौपाने सदस्य पदमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।

निर्वाचनअघि संघको नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गर्न त्रिपक्षीय सहमतिको प्रयास गरिएको थियो। विभिन्न पक्षबीच लामो छलफल भए पनि पद बाँडफाँटमा सहमति जुट्न नसकेपछि अन्ततः निर्वाचनमार्फत नेतृत्व चयन गर्ने अवस्था बनेको थियो। मतदान शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ। व्यवसायीहरूको उल्लेखनीय सहभागितासहित सम्पन्न निर्वाचनबाट नयाँ नेतृत्व चयन भएपछि अब संघले स्थानीय उद्योग, व्यापार, पर्यटन तथा निजी क्षेत्रका साझा मुद्दालाई प्रभावकारी रूपमा अघि बढाउने अपेक्षा गरिएको छ।

नवनिर्वाचित अध्यक्ष अनुपमा तिवारीसहित सम्पूर्ण कार्यसमितिले व्यवसायीहरूको हकहित संरक्षण, उद्यमशीलताको विकास, लगानीमैत्री वातावरण निर्माण तथा वालिङ क्षेत्रको आर्थिक गतिविधिलाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। निर्वाचन परिणामसँगै उद्योग वाणिज्य संघको नयाँ कार्यसमितिले आगामी कार्यकालमा व्यवसायीका साझा एजेण्डालाई प्राथमिकताका साथ अघि बढाउने विश्वास गरिएको छ।

प्रतिक्रिया