प्रहरीको सफलता : गाँजा फँडानीदेखि ९ लाख जरिवाना असुलीसम्म

वालिङ ।
एकातिर १४४५ गाँजाका बोट फँडानी, अर्कातिर ६२५ लिटर अवैध मदिरा नष्ट । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले असोज महिनालाई अपराध नियन्त्रणमा निकै व्यस्त बनाउँदा ९ लाख बढी जरिवाना असुल गरेको छ । प्रहरीले सार्वजनिक गरेको मासिक प्रगति अनुसार असोजमा मात्रै सवारी ज्यान, ज्यान मार्ने उद्योग, बैंकिङ कसुर, आत्महत्यादेखि चोरीसम्मका १४ वटा गम्भीर मुद्दा दर्ता भएका छन् ।

फरार प्रतिवादीबाट १ वर्ष २ महिना कैद र ९ लाख १९ हजार रुपैयाँ जरिवाना असुल गर्न सफल भएको छ । दोहोरो नागरिकता प्रकरणमा फरार मधु थापा र सपिना थापा पक्राउ गरेको प्रहरीले अवैध नदी उत्खननमा १ जेसीबी र १३ ट्र्याक्टर नियन्त्रणमा लिई डेढ लाख जरिवाना गराएको छ ।

महिला हिंसा र हराएका व्यक्तिको खोजीमा समेत प्रहरी सक्रिय देखिएको छ । ८ जना हराएकामध्ये ४ जना फेला परेका छन् भने महिला, बालबालिका सम्बन्धी ३ उजुरीमा पीडकलाई कानूनी दायरामा ल्याइएको प्रहरीले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।
ट्राफिकतर्फ प्रहरीले ८६५ सवारीलाई कारबाही गर्दै ८ लाख ६९ हजार राजस्व उठाएको छ । मापसेमा २६ चालक कारबाहीमा परेका छन् । असोजमै २ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन् भने बाढी पहिरोमा ९ र आगलागीका २ घटना भएका छन् । पछिल्लो समय प्रहरीले महिनाभरी भएका कार्यसम्पादनलाई सार्वजनिकगर्दै आएको छ ।

प्रतिक्रिया