स्याङ्जा आलुमा आत्मनिर्भर बन्दै

अमृत अर्याल,
वालिङ ।
जिल्लाका अधिकांश किसानहरुले सहकारी र समूह मार्फत व्यावसायिक रुपमा आलुखेती थालेका छन् । गल्याङ, चापाकोट, भीरकोट, वालिङ र कालीगण्डकीका किसानले व्यावसायिक रुपमा आलुखेती गर्न थालेका हुन् । कृषि विकास कार्यालय स्याङ्जाले चालु आर्थिक वर्ष २०८३÷८४ मा जिल्लामा आलु उत्पादन प्रवद्र्धनका लागि २८ वटा कृषक समूह, कृषि सहकारी संस्था तथा कृषि फार्म छनोट गरेको छ । छनोट भएका संस्थामार्फत कुल १ हजार ६ सय ४० रोपनी क्षेत्रफलमा आलु खेतीका लागि अनुदान कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यालयले प्रकाशित गरेको सूचनाअनुसार नयाँ छनोट भएका सात संस्थाले कुल २ सय ५० रोपनी क्षेत्रफलमा आलु खेती गर्ने प्रस्ताव गरेका छन् । त्यस्तै, पुराना २१ संस्थाले १ हजार ३ सय ९० रोपनी क्षेत्रफलमा आलु खेती गर्ने भएका हुन् ।

कृषि विकास कार्यालय स्याङ्जाका प्रमुख प्रकाश बास्ताकोटीका अनुसार यस कार्यक्रमका लागि ७५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । लागत साझेदारीमा सञ्चालन हुने कार्यक्रममा पुराना र नयाँ सहभागीलाई फरक–फरक प्रकृतिको अनुदान उपलब्ध गराइनेछ । पुराना सहभागीले बीउमा अनुदान पाउने छैनन् । उनीहरुलाई उत्पादनमा आधारित अनुदानस्वरुप उत्पादित आलुको प्रतिकेजी तीन रुपैयाँका दरले अनुदान दिइनेछ । नयाँ सहभागीले भने बीउ खरिदमा ५० प्रतिशत अनुदान पाउनुका साथै प्याकेजिङ तथा भण्डारणमा समेत अनुदान प्राप्त गर्नेछन् । कार्यालय प्रमुख बास्ताकोटीले कार्यक्रमले आलु उत्पादन वृद्धि, व्यावसायिक खेती विस्तार तथा कृषकलाई उत्पादनमा प्रोत्साहन गर्ने अपेक्षा गरिएको बताए । “जिल्लामा आलुखेती हुने क्षेत्रफल वृद्धि भएको छ, क्षेत्रफल वृद्धि हुँदा उत्पादन पनि वृद्धि हुन्छ”, उनले भने, “यस वर्ष पनि उत्पादन वृद्धि हुने संकेत देखिएको छ ।” आलुखेती गर्ने किसानलाई स्थलगत प्राविधिक प्रशिक्षण, बीउ खरिदमा अनुदान, सिँचाइ, रोगकीरा व्यवस्थापन, गे्रडिङ, प्याकिङ, भण्डारण र बजारीकरणका लागि कार्यालयले सहयोग गर्दै आएको उनले बताए ।

नयाँ छनोट भएका संस्थामध्ये नवजागरण कृषक समूह, चण्डीकालिका कृषि फलफूल तथा तरकारी सहकारी संस्था, समृद्ध साना किसान कृषि सहकारी संस्था, वालिङ साना किसान कृषि सहकारी संस्था, जनसेवा कृषक समूह र जनकल्याण साना किसान कृषि सहकारी संस्थाले खायन आलु उत्पादन प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्नेछन् । कृषि विकास कृषक समूहलाई भने बीउ आलु उत्पादन प्रवद्र्धन कार्यक्रमका लागि छनोट गरिएको छ । नयाँ छनोट भएका संस्थामध्ये जनकल्याण साना किसान कृषि सहकारी संस्थाले ६० रोपनी क्षेत्रफलमा आलु खेती गर्ने प्रस्ताव गरेको छ । त्यस्तै, वालिङ साना किसान कृषि सहकारी संस्थाले ४० रोपनी तथा अन्य पाँच संस्थाले २० देखि ३० रोपनीसम्म क्षेत्रफलमा खेती गर्ने प्रस्ताव गरेका छन् ।

यसैगरी, पुराना संस्थातर्फ जिमुवा कृषि उपज कृषि सहकारी संस्था लिमिटेडले सबैभन्दा बढी २ सय ३० रोपनी क्षेत्रफलमा आलु खेती गर्ने प्रस्ताव गरेको छ । कर्मचारी कृषि सहकारी संस्था लिमिटेडले १ सय ७० रोपनी, रत्नपुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र दशपाटे कृषक समूहले जनही १ सय ५० रोपनी क्षेत्रफलमा खेती गर्ने प्रस्ताव गरेका छन् । छनोटमा परेका संस्थाहरु वालिङ, पुतलीबजार, भीरकोट, चापाकोट, गल्याङ नगरपालिका तथा कालीगण्डकी, बिरुवा र हरिनास गाउँपालिका क्षेत्रका छन् । अर्जुनचौपारी, आँधीखोला र फेदिखोला गाउँपालिकाका किसानहरु समावेस छैनन् । कार्यक्रममार्फत व्यावसायिक आलु खेती विस्तार, उत्पादन वृद्धि तथा कृषकको आम्दानी बढाउने लक्ष्य राखिएको छ ।

जिल्लामा कृषक समूह, सहकारी व्यावसायिक फार्ममार्फत व्यक्तिगत र सामूहिक रुपमा आलुखेती गरिएको छ । “विभिन्न जातका बीउ आलु उत्पादनमा स्याङ्जा आत्मनिर्भर रहेको छ, बीउ आलु जिल्लाबाट अन्यत्र पनि निर्यात हुने गरेको छ”, कार्यालय प्रमुख बास्ताकोटीले भने, “खायन आलु जिल्लामा उत्पादन भएकाले नपुगेकाले अन्यत्रबाट आयात गर्नुपर्ने अवस्था रहेको छ, व्यावसायिक आलु उत्पादनतर्फ किसान आकर्षित हुनेक्रम बढ्दै गएकाले उत्पादन पनि वृद्धि हुँदै जाने छ ।” कृषि विकास कार्यालयले छनोट भएका संस्थाहरुलाई २०८३ कात्तिक १८ गतेभित्र कार्यालयमा सम्पर्क गरी सम्झौता गर्न अनुरोध गरेको छ । अनुदान कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन भए जिल्लामा आलु खेतीको क्षेत्रफल विस्तार हुनुका साथै व्यावसायिक कृषि उत्पादनमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया