प्रकाशकीय— १३ वर्षको यात्रा : सत्य र जनविश्वासको निरन्तर अभियान

स्याङ्जाको अग्रणी प्रकाशन संस्था छायाँक्षेत्र मिडिया प्रा.लि. (पब्लिक आवाज)ले आफ्नो गौरवपूर्ण १३ वर्षको यात्रा पूरा गरेको छ । यो अवसर केवल एउटा संस्थाको वार्षिकोत्सव मात्र होइन, सत्य, निष्पक्षता, उत्तरदायित्व र जनविश्वासमा आधारित पत्रकारिताप्रतिको हाम्रो अटल प्रतिबद्धतालाई पुनः स्मरण गर्ने महत्वपूर्ण क्षण पनि हो । हामीले यात्रा सुरु गरेको समय नेपालको राजनीतिक, आर्थिक तथा सामाजिक रुपान्तरणको संवेदनशील काल थियो । मुलुक नयाँ राजनीतिक अध्यायतर्फ अघि बढिरहेको थियो । लोकतान्त्रिक अभ्यास, समावेशी शासन व्यवस्था र संघीय संरचनाको आधार निर्माण हुँदै गर्दा समाजका हरेक परिवर्तनका साक्षी बन्ने अवसर हामीलाई प्राप्त भयो । हामीले समाजका हरेक उतारचढावलाई नजिकबाट नियाल्ने र जनसमक्ष यथार्थ प्रस्तुत गर्ने जिम्मेवारी निरन्तर निर्वाह गर्दै आएका छौं ।
छायाँक्षेत्र मिडिया (पब्लिक आवाज)को स्थापना भएको केही समयमै नेपालले विनाशकारी महाभूकम्पको सामना गर्नुप¥यो । हजारौं नागरिकले ज्यान गुमाए, लाखौं विस्थापित भए र मुलुक गहिरो पीडामा डुब्यो । त्यस्तो कठिन घडीमा सञ्चारमाध्यमको भूमिका सूचना प्रवाहमा मात्र सीमित रहेन, नागरिकलाई आशा, सचेतना र सहकार्यको सन्देश प्रवाह गर्ने माध्यमका रुपमा पनि स्थापित भयो ।

त्यसैबीच संविधान निर्माणको ऐतिहासिक प्रक्रिया अगाडि बढ्यो र सबै राजनीतिक दलहरुको सहकार्यबाट नयाँ संविधान जारी भयो । त्यसपछि राज्य पुनर्संरचना, संघीय शासन प्रणालीको कार्यान्वयन र भूकम्पपछिको पुनर्निर्माणका अभियानहरु अघि बढे । यी सबै ऐतिहासिक घटनाहरुलाई हामीले तथ्य, सन्तुलन र जिम्मेवारीका साथ पाठकमाझ प्रस्तुत गर्ने प्रयास गरेका छौं । यस अवधिमा मुलुकले राजनीतिक संक्रमण मात्र होइन, आर्थिक चुनौती, सामाजिक परिवर्तन, महामारी, प्राकृतिक विपत्ति तथा पछिल्लो समय देखिएको जनआन्दोलन र नागरिक असन्तुष्टिका विभिन्न स्वरुप पनि अनुभव ग¥यो । यी सबै घटनाक्रममा हामीले सनसनी होइन, सत्यलाई प्राथमिकता दिएका छौं । सूचना प्रवाह मात्र होइन, समाचारको विश्लेषण, सार्वजनिक सरोकारका विषयको उठान र समाधानमुखी बहस सिर्जना गर्न हाम्रो प्रयास निरन्तर रह्यो ।

पत्रकारिताको मूल धर्म सत्यको खोजी र जनताको पक्षमा उभिनु हो भन्ने विश्वास हामीले कहिल्यै त्यागेका छैनौं । यही मान्यताअनुसार हाम्रा समाचार र विचारलाई तथ्यमा आधारित, विश्वसनीय र सन्तुलित बनाउन निरन्तर प्रयत्न गरेका छौं । समयसँगै प्रविधिको विकासलाई आत्मसात् गर्दै हाम्रो अनलाइन संस्करणलाई अझ प्रभावकारी बनाएका छौं भने छापा प्रकाशनलाई पनि निरन्तरता दिएका छौं । डिजिटल युगमा छिटो सूचना दिनुपर्ने चुनौतीबीच पनि विश्वसनीयता र तथ्यपरकतालाई हाम्रो पहिलो प्राथमिकता बनाएका छौं । लोकतन्त्रको सबलीकरणमा स्वतन्त्र र जिम्मेवार पत्रकारिताको भूमिका अपरिहार्य हुन्छ । सुशासनबिना लोकतन्त्र सुदृढ हुन सक्दैन भन्ने हाम्रो स्पष्ट विश्वास छ । त्यसैले सार्वजनिक उत्तरदायित्व, पारदर्शिता र सुशासनका पक्षमा हामी निरन्तर उभिएका छौं । भ्रष्टाचार, अनियमितता र नीतिगत विकृतिका अनेकौं विषयमा हामीले निरन्तर खबरदारी गरेका छौं । जनताको करबाट सञ्चालित राज्य संयन्त्र नागरिकप्रति उत्तरदायी बन्नुपर्छ भन्ने मान्यतासहित सार्वजनिक सरोकारका विषयलाई निरन्तर प्राथमिकता दिएका छौं । भ्रष्टाचारविरुद्धको हाम्रो अभियान कुनै व्यक्ति वा समूहविरुद्ध होइन, गलत प्रवृत्तिविरुद्ध हो । आगामी दिनमा पनि यो खबरदारी अझ सशक्त रुपमा जारी रहनेछ ।

स्थानीय पत्रकारिताको सबलीकरण हाम्रो अर्को महत्वपूर्ण दायित्व हो । राजधानीकेन्द्रित समाचार प्रवाहका बीच स्थानीय समुदायका आवाज, सम्भावना, समस्या, सफलता र सिर्जनशीलतालाई राष्ट्रिय बहसमा ल्याउने हाम्रो प्रयास निरन्तर रहँदै आएको छ । स्याङ्जा मात्र होइन, समग्र गण्डकी प्रदेशका सामाजिक, आर्थिक, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, संस्कृति र विकासका विषयलाई प्राथमिकताका साथ उठाउँदै स्थानीय पत्रकारितालाई अझ विश्वासिलो बनाउने हाम्रो उद्देश्य छ । हामीले बिताएका १३ वर्ष सहज थिएनन् । आर्थिक चुनौती, छापा माध्यमप्रतिको घट्दो आकर्षण, डिजिटल प्रतिस्पर्धा, विज्ञापन बजारको असन्तुलन र पत्रकारितामाथि बढ्दो दबाबका बीच पनि हाम्रो यात्रा निरन्तर रह्यो । यी चुनौतीहरुलाई अवसरमा रुपान्तरण गर्दै संस्थागत क्षमता अभिवृद्धि गर्ने, प्रविधिमैत्री बन्ने र गुणस्तरीय सामग्री उत्पादन गर्ने दिशामा हामी अघि बढिरहेका छौं । पत्रकारिता क्षेत्रमा हाम्रो प्रतिबद्धता आज पनि उत्तिकै दृढ छ । आगामी दिनमा अझ सशक्त, प्रभावकारी र उत्तरदायी सञ्चार संस्थाका रुपमा स्थापित हुने हाम्रो अठोट यथावत् छ ।

१३ वर्षको यो यात्रामा हामीलाई निरन्तर साथ, सहयोग, सुझाव र विश्वास प्रदान गर्ने हाम्रा आदरणीय पाठक, विज्ञापनदाता, शुभेच्छुक, समाचार स्रोत, पत्रकार, स्तम्भकार, कर्मचारी, वितरणकर्मी तथा सम्पूर्ण सहकर्मीप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौं । तपाईंहरुको विश्वास नै हाम्रो सबैभन्दा ठूलो पूँजी हो । यही विश्वासलाई थप मजबुत बनाउँदै सत्य, निष्पक्षता, व्यावसायिकता र जनउत्तरदायी पत्रकारिताको मूल्यलाई आत्मसात् गर्दै आगामी दिनमा पनि लोकतन्त्रको सच्चा पहरेदारका रुपमा निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्दछौं । १३औँ वार्षिकोत्सवको यस शुभ अवसरमा सम्पूर्ण पाठक, विज्ञापनदाता, शुभेच्छुक, पत्रकार तथा सहकर्मीमा हार्दिक धन्यवाद, शुभकामना र सम्मान व्यक्त गर्दछौं ।
अमृत अर्याल                                                                                                                                       श्रीकृष्ण सिग्देल
      सम्पादक                                                                                                                                              अध्यक्ष
छायाँक्षेत्र मिडिया प्रा.लि. (पब्लिक आवाज साप्ताहिक)
                                                                       वालिङ, स्याङ्जा

प्रतिक्रिया