भीरकोटमा ‘एक स्वास्थ्य’ अवधारणा कार्यान्वयन गर्न पाँचबुँदे सामूहिक प्रतिबद्धता

भीरकोट ।

मानव स्वास्थ्य, पशुपन्छीको स्वास्थ्य र वातावरणीय संरक्षणलाई एकअर्काका परिपूरकका रूपमा लिँदै स्याङ्जाको भीरकोट नगरपालिकाले ‘एक स्वास्थ्य’ (वन हेल्थ) अवधारणालाई व्यवहारमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ । ‘विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह २०२६’ को अवसरमा भीरकोट नगरपालिकामा आयोजित एक स्वास्थ्यसम्बन्धी अभिमुखीकरण कार्यक्रममार्फत नगरपालिकाले पाँचबुँदे सामूहिक प्रतिज्ञा सार्वजनिक गर्दै यस्तो प्रतिबद्धता व्यक्त गरेको हो । भीरकोट नगरपालिकाको आयोजना तथा हेफर प्रोजेक्ट नेपाल र दियालो स्याङ्जाको सहयोग एवं सहजीकरणमा सञ्चालित कार्यक्रममा मानव, पशुपन्छी र वातावरणको स्वास्थ्यबीचको अन्तरसम्बन्धबारे छलफल गरिएको थियो । ‘आर्थिक समृद्धिका लागि साझेदारी कार्यक्रम’ अन्तर्गत आयोजित अभिमुखीकरणमा सहभागीहरूले प्रतिजैविक औषधिको जथाभावी प्रयोग नियन्त्रण, जुनोटिक रोगको रोकथाम, खाद्य स्वच्छता र वातावरणमैत्री कृषि प्रणालीलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा नगरप्रमुख गोविन्दकुमार कर्माचार्यले एक स्वास्थ्यको अवधारणा कुनै एउटा क्षेत्रको प्रयासबाट मात्र सफल हुन नसक्ने बताउँदै यसका लागि स्वास्थ्य, पशु सेवा, कृषि र वातावरणलगायतका क्षेत्रबीच प्रभावकारी समन्वय आवश्यक रहेको धारणा राखे । मानव स्वास्थ्यको संरक्षणसँगै पशुपन्छीको स्वास्थ्य र वातावरणीय सन्तुलन कायम गर्न नगरपालिकाले साझा प्रयास अघि बढाउने उनको भनाइ थियो । अभिमुखीकरणमा हेफर प्रोजेक्ट नेपालका डा. अंशु प्रधानले एक स्वास्थ्य अवधारणाको आवश्यकता, यसको विश्वव्यापी महत्व र प्रतिजैविक प्रतिरोधले निम्त्याउन सक्ने जोखिमका विषयमा सहजीकरण गरेकी थिइन् । उनले मानव तथा पशु उपचारमा प्रयोग हुने एन्टिबायोटिक औषधिको जथाभावी प्रयोगले औषधिप्रतिको प्रतिरोध क्षमता बढ्दै जाने भएकाले यसको विवेकपूर्ण प्रयोग आवश्यक रहेको विषयमा जानकारी गराइन् ।

त्यसैगरी नगरपालिकाका पशु सेवा शाखा प्रमुख डोलराज गैह्रे र हेफर प्रोजेक्ट नेपालका वरिष्ठ कार्यक्रम अधिकृत विष्णुप्रसाद पाण्डेलगायतले पशुपालनमा अपनाउनुपर्ने सावधानी, कृषि क्षेत्रमा विषादीको सुरक्षित प्रयोग, औषधिको उचित व्यवस्थापन र विभिन्न सरोकारवाला निकायबीचको सहकार्यका विषयमा धारणा राखेका थिए । कार्यक्रमले प्रतिजैविक औषधिको प्रयोगलाई व्यवस्थित बनाउने मात्र नभई पशुबाट मानिसमा सर्न सक्ने जुनोटिक रोगको जोखिम न्यूनीकरण, सुरक्षित खाद्य उत्पादन र वातावरण संरक्षणलाई पनि एकीकृत रूपमा अघि बढाउनुपर्ने सन्देश दिएको थियो ।

कार्यक्रमको महत्वपूर्ण पक्षका रूपमा ‘एक स्वास्थ्य, साझा जिम्मेवारी, जिम्मेवार व्यवहार, स्वस्थ समुदाय, समृद्ध भविष्य’ र ‘प्रतिजैविकको सही प्रयोग, प्रतिरोधको रोकथाम ’ भन्ने नारासहित पाँचबुँदे सामूहिक प्रतिज्ञा सार्वजनिक गरिएको थियो । प्रतिज्ञामा चिकित्सक वा पशु चिकित्सकको सिफारिसबिना एन्टिबायोटिक औषधि प्रयोग नगर्ने तथा निर्धारित मात्रा र समयावधि पूरा गर्ने उल्लेख गरिएको छ । त्यस्तै मानव तथा पशु उपचारमा प्रतिजैविक औषधिको विवेकपूर्ण प्रयोग गर्ने र अनावश्यक प्रयोगलाई निरुत्साहित गर्ने प्रतिबद्धता जनाइएको छ ।

यसैगरी जुनोटिक रोगको रोकथाम तथा नियन्त्रणका लागि आवश्यक खोप, स्वास्थ्य सुरक्षा र जैविक सुरक्षाका उपाय अवलम्बन गर्ने तथा समुदायस्तरमा जनचेतना फैलाउने विषय पनि प्रतिज्ञामा समेटिएको छ । विषादीको सुरक्षित प्रयोग, वातावरणमैत्री कृषि प्रणाली, असल पशुपालन अभ्यास र खाद्य स्वच्छता प्रवर्द्धन गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ । मानव, पशुपन्छी र वातावरणको स्वास्थ्य संरक्षणका लागि नगरपालिकाले स्वास्थ्यकर्मी, कृषक, समुदाय तथा अन्य सरोकारवालासँग सहकार्य र समन्वयलाई निरन्तरता दिने पाँचौँ प्रतिबद्धता रहेको छ । कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूको सहभागिता रहेको थियो । पाँचबुँदे प्रतिज्ञाले एक स्वास्थ्य अवधारणालाई औपचारिक नारामा मात्र सीमित नराखी स्थानीय तहको नीति, सेवा प्रवाह र नागरिकको दैनिक व्यवहारसँग जोड्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया