सडक नाटकको सन्देश : ‘मानिस, पशु र वातावरणको स्वास्थ्य एकै हो’

वालिङ
विश्व एक स्वास्थ्य दिवस २०२६ को अवसरमा वालिङ नगरपालिकाले “एक स्वास्थ्य संवाद ः समुदायदेखि नीतिसम्म” कार्यक्रम सम्पन्न गरेको छ । “समृद्ध समुदाय निर्माणको आधार ः एक स्वास्थ्यमा साझा प्रतिबद्धता, सहकार्य र व्यवहार” भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा ¥यालीले वालिङ बजार परिक्रमा गरेको थियो । ¥याली नगरपालिका परिसरमा पुगेर सडक नाटकमा परिणत गरिएको थियो ।

वालिङ बहुमुखी क्याम्पसका विद्यार्थीले प्रस्तुत गरेको नाटकले पशुमा एन्टिबायोटिक प्रयोगपछि प्रतीक्षा अवधि नपुगी दूध बेच्दाको जोखिम, एन्टिमाइक्रोबियल प्रतिरोध (एएमआर), रेबिज, तरकारीमा विषादीको जथाभावी प्रयोग र खाद्य स्वच्छताको विषयलाई जीवन्त रुपमा चित्रण गरेका थिए । नाटकपछि भएको संवादमा नगरप्रमुख कृष्ण खाँण, उपप्रमुख कविता तिवारी गैह्रे, जनस्वास्थ्य अधिकृत कमलप्रसाद पाण्डे, गण्डकी प्रदेश कृषि मन्त्रालयका डा. राजेश चौधरी, नेपाल वन हेल्थ इन्स्टिच्युटका सचिव संकल्प भट्टराईलगायतले एक स्वास्थ्यको प्रभावकारी कार्यान्वयनका लागि साझा प्रतिबद्धता जनाएका थिए ।

कार्यक्रममा मानव, पशुपन्छी, बोटबिरुवा र वातावरणको स्वास्थ्य एकअर्कासँग जोडिएको हुँदा समस्या छुट्टाछुट्टै हेरेर नहुने, संयुक्त प्रयास आवश्यक पर्ने निष्कर्ष निकालिएको छ । संवादपछि ७ बुँदे “वालिङ एक स्वास्थ्य घोषणा–पत्र २०८३” जारी गरिएको छ । घोषणा–पत्रमा एक स्वास्थ्य नीति कार्यान्वयन, मानव–पशु–कृषि–वातावरणबीच समन्वय, रेबिजलगायत जुनोटिक रोग रोकथाम, एन्टिबायोटिकको जिम्मेवार प्रयोग, सुरक्षित कृषि उत्पादन र खाद्य स्वच्छतामा साझा प्रतिबद्धता व्यक्त गरिएको छ । त्यस्तै किसान, सहकारी, विद्यालय, स्वास्थ्य स्वयंसेविका र युवाको सहभागिता बढाउने, संयुक्त कार्ययोजना बनाउने र नियमित समीक्षा गर्ने विषय पनि समेटिएको छ ।

वालिङले यसअघि नै एक स्वास्थ्य नीति तथा कार्यविधि स्वीकृत गरिसकेको छ । नगरपालिकाको आयोजना तथा हेफर इन्टरनेशनल नेपाल, दियालो संस्था, नेपाल वन हेल्थ इन्स्टिच्युट र वालिङ बहुमुखी क्याम्पसको सहयोगमा कार्यक्रम भएको हो । वालिङको यो पहलले एक स्वास्थ्यलाई नीतिबाट व्यवहारमा उतार्न अन्य स्थानीय तहलाई समेत सिकाइ दिने अपेक्षा गरिएको छ ।

 

प्रतिक्रिया