अनन्त अर्यालको निर्बन्ध–आलेख कृति ‘अन्तरिक्षको आँगन’ सार्वजनिक

वालिङ ।

निबन्धकार अनन्त अर्यालको पहिलो निर्बन्ध–आलेख कृति तथा पाँचौँ साहित्यिक कृतिका रूपमा प्रकाशित ‘अन्तरिक्षको आँगन’ को गृह विमोचन, विमर्श तथा ‘अन्तरिक्षको आँगन सिर्जना उत्सव–२०८३’ सम्पन्न भएको छ। गुप्ततारा स्मृति प्रतिष्ठान, वालिङ, स्याङ्जाको आयोजना तथा वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान–२०७६, स्याङ्जाको सहकार्यमा वालिङ बहुमुखी क्याम्पसको सभाकक्षमा कार्यक्रम सम्पन्न भएको हो। साहित्यिक स्रष्टा, समीक्षक, साहित्यप्रेमी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागितामा कार्यक्रम सभ्य र भव्य रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ।

निबन्धकार अनन्त अर्यालको अध्यक्षता तथा अग्रज स्रष्टा विश्वप्रेम अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा ‘अन्तरिक्षको आँगन’ निर्बन्ध–आलेख कृतिको औपचारिक लोकार्पण गरिएको थियो। कृतिको लोकार्पणपछि निबन्धकार अर्यालको साहित्यिक व्यक्तित्व तथा उनको निर्बन्ध–आलेख लेखनका विभिन्न पक्षमाथि केन्द्रित रहेर विमर्श गरिएको थियो। विमर्शका क्रममा दीपक लम्साल, ध्रुवप्रसाद शर्मा पङ्गेनी, यामबहादुर कुँवर र चक्रबहादुर पराजुलीले कृतिमाथि समीक्षात्मक मन्तव्य प्रस्तुत गरेका थिए। वक्ताहरूले ‘अन्तरिक्षको आँगन’मा समेटिएका समसामयिक विषयवस्तु, लेखकको लेखकीय दृष्टिकोण, सामाजिक चेतना तथा साहित्यिक प्रस्तुतिको विविध पक्षमाथि चर्चा गरेका थिए।

निबन्धकार अर्यालले कार्यक्रममा आफ्नो निर्बन्धीय मन्तव्य प्रस्तुत गर्दै कृतिको सिर्जना प्रक्रिया, लेखकीय अनुभूति तथा साहित्य सिर्जनाप्रतिको आफ्नो दृष्टिकोणबारे धारणा राखेका थिए। समसामयिक विषयवस्तुलाई साहित्यिक चेतनासँग जोड्दै पाठकसमक्ष प्रस्तुत गर्ने प्रयासका रूपमा कृतिलाई हेरिएको छ। सुन्दर स्वदेश प्रकाशनद्वारा प्रकाशित तथा युवा स्रष्टा मिलन समीरद्वारा सम्पादित ‘अन्तरिक्षको आँगन’मा २९ वटा समसामयिक निर्बन्ध–आलेख समावेश छन्। यो कृति अर्यालको पाँचौँ साहित्यिक कृति हो भने निर्बन्ध–आलेख विधातर्फको पहिलो कृति हो।

वालिङ नगरपालिका–१४, गाएडाँडामा २०२३ साल पुस १९ गते बुवा गुप्तप्रसाद अर्याल र आमा तारादेवी अर्यालका सन्तानका रूपमा जन्मिएका अनन्त अर्याल हाल जनसेवा माध्यमिक विद्यालय, वालिङ–१४, डुम्रेभञ्ज्याङमा प्रधानाध्यापकका रूपमा कार्यरत छन्। शिक्षण पेशासँगै उनी नेपाली साहित्य सिर्जनामा निरन्तर सक्रिय रहँदै आएका छन्। त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर, काठमाडौँबाट स्नातकोत्तर तहमा एमए तथा एमएडसम्मको औपचारिक अध्ययन पूरा गरेका अर्याल साहित्यिक क्षेत्रमा समेत विभिन्न पुरस्कारबाट सम्मानित भइसकेका छन्। उनले तीलाकुमारी स्मृति साहित्य पुरस्कार–२०६० तथा भेषजविन्दु साहित्यिक पुरस्कार–२०८२ लगायतका पुरस्कार प्राप्त गरेका छन्। उनी गुप्ततारा स्मृति प्रतिष्ठान, वालिङ, स्याङ्जाका अध्यक्षसमेत हुन्।

कार्यक्रममा युवा स्रष्टा शम्भु अर्यालले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए। कार्यक्रमको संयोजन वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान–२०७६, स्याङ्जाका संस्थापक संयोजक तथा युवा स्रष्टा एवं साहित्यिक अभियन्ता मिलन समीरले गरेका थिए। कार्यक्रमको दोस्रो चरणमा ‘अन्तरिक्षको आँगन सिर्जना उत्सव–२०८३’ आयोजना गरिएको थियो। सिर्जना उत्सवमा स्याङ्जाली साहित्यिक क्षेत्रका विभिन्न स्रष्टाहरूले आफ्ना सिर्जना प्रस्तुत गरेका थिए।

सिर्जना उत्सवमा चिन्तु गिरी, लेखनाथ काफ्ले, नीलकण्ठ लम्साल, सीताराम अधिकारी, अग्निकुमार रेग्मी ‘पल्लव’, प्रेमबन्धु सुवेदी, लीलाम्बर ढुङ्गाना, शोभाकान्त रेग्मी, गुरुप्रसाद ढकाल, पारिश्वर न्यौपाने, खगेन्द्रजंग थापा, इन्द्रप्रसाद पाठक, प्रेमप्रसाद सुवेदी, विनुप्रसाद पराजुली, वसन्त खनाल, कमल बगाले, चण्डिकाप्रसाद भट्टराई र डिल्लीराम भण्डारीलगायतका स्रष्टाले आफ्ना उत्कृष्ट साहित्यिक सिर्जना प्रस्तुत गरेका थिए। त्यसैगरी उदय श्रेष्ठ र लक्ष्मीपति पौडेलले शुभकामना मन्तव्य प्रस्तुत गरेका थिए। कार्यक्रममा सहभागी साहित्यकारहरूले स्याङ्जाको साहित्यिक गतिविधिलाई थप गतिशील बनाउन यस्ता सिर्जना उत्सव तथा कृति विमोचन कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरेका थिए।

‘अन्तरिक्षको आँगन’को प्रकाशनसँगै अनन्त अर्यालको साहित्यिक यात्रामा अर्को महत्वपूर्ण कृति थपिएको छ। शिक्षण तथा सामाजिक क्षेत्रमा सक्रिय रहँदै साहित्य सिर्जनालाई समेत निरन्तरता दिँदै आएका अर्यालको नयाँ कृतिले समसामयिक विषयवस्तुलाई निर्बन्ध–आलेखका माध्यमबाट पाठकमाझ पुर्‍याउने अपेक्षा गरिएको छ। स्याङ्जामा पछिल्लो समय साहित्यिक गतिविधि, सिर्जना तथा विमर्शका कार्यक्रमहरू बढ्दै गइरहेका बेला ‘अन्तरिक्षको आँगन’को गृह विमोचनसँगै आयोजना गरिएको सिर्जना उत्सवले जिल्लाको साहित्यिक वातावरणलाई थप उत्साहित बनाएको सहभागीहरूको भनाइ थियो।

प्रतिक्रिया