कास्की र केन्द्रीय कारागारबाट भागेका ५ कैदी पक्राउ

वालिङ ।
जेन जी आन्दोलको क्रममा भदौं २४ गते कारागारबाट भागेका कैदीहरु धमाधम प्रहरीले पक्राउ गर्न थालेको छ । आन्दोलनको फाइदा उठाउदै अदालतले दोषी ठहर गरेर कारागार पुगेका कैदीहरु भागेका थिए । अहिले स्याङ्जा प्रहरीले देशका विभिन्न जिल्ला कारागारबाट भागेका कैदीहरु पक्राउ गर्न थालेको हो । कास्की र केन्द्रीय कारागारबाट भागेका पाँच कैदीलाई पक्राउ गरी जिल्ला कारागार थुनामा पठाएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले दिएको जानकारी अनुसार केन्द्रीय कारागार जगन्नाथदेवल काठमाण्डौंबाट भागेका नुनुमाया कार्की र बिनोद दर्जी, कास्की कारागारबाट भागेका अभिषेक नेपाली, यामबहादुर रोका र बिमल जि.टीलाई विभिन्न मितिमा पक्राउ गरी जिल्ला कारागार स्याङ्जा पठाएको छ । प्रहरीले केन्द्रीय कारागार जग्गनाथदेव काठमाण्डौबाट भागेका चापाकोट ४ का ३४ बर्षिय बिनोद दर्जीलाई जिल्ला प्रहरी र प्रहरी चौकी बिरुवाबाट खटिएको टोलीले बिरुवा गाउँपालिका ६ धरादी भन्ने स्थानबाट पक्राउ गरेको थियो । दर्जीलाई जवरजस्ती करणीको मुद्धामा दोषी ठहर भएर केन्द्रीय कारागार चलान भएका थिए । यसैगरी अर्का भगौडा पुतलीबजार ५ पौवेगौंडेका बर्ष ६७ की नुनुमाया कार्कीलाई सोही स्थानबाट पक्राउ गरेको छ । कर्तव्य ज्यान मुद्धाका अभियुक्त कैदी कार्की आन्दोलनको फाइदा उठाउदै काठमाण्डौ.बाट भागेर आफ्नै घर आएकी थिइन् ।
स्याङ्जा भीरकोट नगरपालिका ३ का यामबहादुर रोकालाई प्रहरीको बिशेष टोलीले पक्राउ गरेको थियो । कर्तव्य ज्यान मुद्धामा कास्की कारागार पुगेका रोका जेन जीको आन्दोलनको फाइदा उठाउदै भदौ २४ गते रातको समय फरार भएका थिए । त्यस्तै कास्की कारागारबाट भागेका अर्का अभिषेक नेपालीलाई पुतलीबजार १ कालाखोलाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पुतलीबजार ९ का २६ बर्षिय नेपाली जवरजस्ती करणीको मुद्धामा जेल सजाय भोग्दै आएका थिए । भीरकोट ५ का २८ बर्षिय बिमल जिटीलाई वडा प्रहरी कार्यालय वालिङ र प्रहरी चौकी दहथुमको संयुक्त टोलीले घरबाटै पक्राउ गरेको थियो । जि.टी जवरजस्ती करणीको मुद्धामा कास्की कारागार थुनामा थिए । पक्राउ परेका पाँचै जनालाई जिल्ला कारागार स्याङ्जा बुझाएको प्रहरीले जनाएको छ । कारागारबाट भागेका कैदीहरु जहाँ पक्राउ पर्छन् सोही जिल्लाको कारागारमा बुझाउनु भन्ने कारागार व्यवस्थापन महाशाखाको निर्देशन अनुसार प्रहरीले उनीहरुलाई स्याङ्जा बुझाएको हो । आन्दोलनका क्रममा कारागारबाट भागेका कैदीहरुलाई प्रहरीले तुरुन्त फर्कन आब्ह्रान गर्दै आएको छ ।
चाडवाडका बेला हुन सक्ने अपराधिक क्रियाकलापका लागि जिल्ला प्रहरी कार्यालय स्याङ्जाले सादा र बर्दी सहितका प्रहरीहरु खटाएको छ । शान्तिसुरक्षा अमनचयनमा प्रहरीले आफ्नो सक्रियता बढाएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए । गाउँघरमा शंकास्पद व्याक्ति देखिए, भागेका कैदीहरु फेला परेमा र समाजमा उछृखंल गतिविधि गर्ने कोही भेटिएमा नजिकको प्रहरीलाई खबर गरिदिन प्रहरीले स्याङ्जावासीमा अनुरोध गरेको छ ।
प्रतिक्रिया