ठेकेदारको लापरवाही :— चार स्वास्थ्य संस्थाको भवन ३ बर्षदेखी अलपत्र

स्याङ्जा ।
नागरिकलाई सुविधा सम्पन्न भवनबाट स्वास्थ्य सेवा दिने लक्ष्य अनुसार सरकारले निर्माण गर्न लागेका चार स्वास्थ्य संस्था ३ बर्षदेखी अलपत्र अवस्थामा रहेका छन् । स्याङ्जामा ३ र पर्वतमा एक गरी एकै समयमा टेण्डर आव्हान गरी निर्माण प्रक्रियामा गएका स्वास्थ्य संस्थाको भवन अलपत्र अवस्थामा पुगेको हो । २०७७ सालमा ठेक्का आब्ह्रान गरि २०७९ सालमा सम्पन्न हुनुपर्ने थियो । तर ठेकदारको लापरवाहीका कारण चार स्वास्थ्य संस्थाका भवन विचबाटोमै अलपत्र अवस्थामा पुगेका छन् ।
स्याङ्जा वालिङ १ धनुवाँसे आयुर्वेद औषाधालय, अर्जुनचौपारी ५ आरुचौर आयुर्वेद औषधालय र सेतिदोभान प्रथामिक स्वास्थ्य केन्द्र साथै पर्वतको वराचौर प्रथामिक स्वास्थ्य केन्द्रका भवन अलपत्र अवस्थामा रहेका छन् । ३ ओटा स्वास्थ्य संस्था एउटै ठेकदार कम्पनीले सम्झौता गरेको थियो भने एक स्वास्थ्य संस्था भवनको निर्माणका लागि अर्को ठेकदार कम्पनीले सम्झौता गरेको थियो । आरुचौर आयुर्वेद औषधालय, सेतिदोभान प्रथामिक स्वास्थ्य केन्द्र र वराचौर प्रथामिक स्वास्थ्य केन्द्र भ्याली÷बावुरत्न जेभी काठमाण्डौंले ३ बर्षमा सक्नेगरी सम्झौता गरेको थियो ।
खहरे आयुर्वेद औषधालय सेफ इन्जिनियरिङ विल्डर्स भरतपुरले ३ बर्षमा सम्पन्न गर्नेगरी सम्झौता गरेको थियो । भ्याली÷बावुरत्न जेभी काठमाण्डौले ३ ओटा स्वास्थ्य संस्था निर्माण गर्न १२ करोड ७१ लाख १६ हजार ९ सय ३० रुपैयाँ भ्याट बाहेकामा सम्झौता गरेको थियो भने सेफ इन्जिनियरिङ बिल्डर्सले १ करोड ५८ लाख ८६ हजार १ सय ५५ रुपैयाँ भ्याट बाहेका सम्झौता गरेको थियो । दुई कम्पनीले २०७७ साल फागुन ११ गते ३ बर्षमा सक्नेगरी भवन निर्माणका लागि सम्झौता गरिएको शहरी विकास तथा भवन कार्यालय कास्कीका इन्जिनियर अच्युत पौडेलले जानकारी दिए ।
भ्याली÷बावुरत्न जेभीले निर्माण गर्ने जिम्मा पाएको ठेक्काको म्याद ४ पटक सम्म थपिएको छ । अन्तिम म्याद २०८२ भदौं ३१ गतेसम्म सम्पन्न गर्नेगरी म्याद थप गरिएको इन्जिनियर पौडेलले बताए । पटक—पटक ताकेता गर्दापनि ठेकदार कम्पनीले वेवास्था गरिरहेको छ पौडेलले भने,‘अन्तिमपटक थपिएको म्यादमा पनि निर्माण सम्पन्न नगर्ने भएपछि जरिवाना तोक्ने तयारीमा छौं ।’ अव म्याद थप्ने कुनै आधार नभएको र २ सय दिनमा सम्पन्न नगरेमा कालोसूचीमा राख्ने तयारी कार्यालयले थालेको छ उनले भने । अव भवन निर्माण गरेर सकेपनि कम्पनीलाई सम्झौता गरेको रकमकै आधारमा हरेक दिन ०.०५ प्रतिशतका दरले जरिवाना हुने पौडेलले बताए ।
यता वालिङको धनुवाँसे आयुर्वेद औषधालय निर्माणको शुभारम्भमा भने स्थानीयको बिरोधले केही ढिला हन गएको कार्यालयले जनाएको छ । भवन निर्माण समयमै सकिने भएपनि ठेकेदारको लापरवाहीले समस्या भएको बताइएको छ । दुवै कम्पनीले थपिएको म्यादभित्र भवन निर्माण नगरेमा कारवाही हुने कार्यालयले जनाएको छ । भवन समयमै निर्माण कार्य नहुँदा चारओटै स्वास्थ्य संस्थाले भाडाको घरबाट सेवा प्रवाह गरिरहेका छन् । जसले गर्दा सुविधा सम्पन्न स्वास्थ्य संस्थाबाट पाउनुपर्ने सेवाबाट नागरिक बन्चित भएका छन् भने भाडा तिर्नुपर्ने अवस्थाले सरकारलाई ठुलो नोक्सानी भएको छ ।
कार्यालयका अनुसार स्याङ्जाका तिनओटै निर्माणाधिन स्वास्थ्य भवन ४५ प्रतिशतदेखी ७० प्रतिशत काम भएका छन् । भ्याली÷बावुरत्न जेभीका संचालक रमेश अवालेले पेटी ठेकदार मार्फत काम गराउदा धोका भएको बताए । अब पौष मसान्तभित्र जसरी पनि भवन निर्माण सम्पन्न गर्नेगरी अगाडी बढेको अवालेले बताए । दशै सकिएलगत्तै काम शुरु गर्ने र कार्यालयले जरिवाना तिराएपनि तयार रहेको उनले बताए । यता सेफ इन्जिनियरिङ बिल्डर्सका संचालक सुर्य पौडेल भने सम्पर्कमा आएनन् । समयमै काम नगर्ने ठेकदार कम्पनीलाइृ कारवाही गर्ने कानुनी व्यवस्था भएपनि राजनीतिक आडमा छुटकारा पाउदै आएका छन् । जसले गर्दा कुनैपनि काम समयमै भएको पाइदैन ।
प्रतिक्रिया