रोकिएन अवैध रूपमा बालुवा चोरी निकासी

भीरकोट ।
स्याङ्जाका विभिन्न भागमा अवैधरूपमा बालुवा चोरी निकासीका घटना बढेका छन् । जिल्लाका अधिकांश खोला तथा नदी क्षेत्रमा गिट्टी, बालुवा निकासी भए पनि स्थानीय तह रमिते बन्दा चोरी निकासी रोकिएको छैन । भीरकोट र वालिङ नगरपालिकामा पटकपटक बालुवा चोरी गर्ने एवं अवैध ओसारपसार गर्ने एक व्यवसायीले १ लाख भन्दा बढी जरीवाना तिरेका छन्। भीरकोट नगरपालिका वडा नं ४ छाङ्छाङ्दी आसपासमा बालुवा चोरी गरी जम्मा गरेको र अवैध ओसारपसार गरेको प्रमाणित भएपछि स्थानीय व्यवसायी तेज नारायण श्रेष्ठलाई राजस्व र जरीवाना बापत १ लाख भन्दा बढी रकम तिराइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।
गत भदौ १० गते बिहान प्रहरी चौकी दहथुमबाट खटिएको प्रहरी टोलीले ग १ त ४९४१ नम्वरको ट्याक्टरलाई वालिङ नगरपालिका वडा नम्बर १ ओडारे स्थित आँधीखोला किनारबाट नदिजन्य पदार्थ अवैध रूपमा ओसारपोसार गरेको अवस्थामा नियन्त्रणमा लिई कानूनी कारबाहीको लागि वालिङ नगरपालिका कार्यालय पठाएको थियो। उक्त ट्याक्टरलाई ८ हजार रूपैयाँ जरिवाना गरी छाडिएको थियो। साथै उक्त ट्याक्टर तेज नारायण श्रेष्ठको रहेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए।
भदौ १० गते नै दिउँसो जिल्ला समन्वय समिति स्याङ्जाको उपप्रमुख खड्गराज सुवेदी, प्रमुख जिल्ला अधिकारी इश्वरी प्रसाद अर्याल , जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख दधिराम न्यौपाने, भीरकोट नगरपालिका प्रमुख गोविन्द कुमार कर्माचार्य, पत्रकार तथा स्थानियहरूको टोलीले अनुगमन गर्ने क्रममा भीरकोट नगरपालिका वडा नम्बर ०४ छाङ्छाङ्दी बगरमा ५६८ घनमिटर र वालिङ नगरपालिका वडा नम्बर ११ मा १४१० घनमिटर बालुवा संकलन गरी राखेको फेला पारिएको थियो। नियामक निकायको बैठक बसी आवश्यक अनुसन्धान र कानूनी कारवाहीको लागि भीरकोट नगरपालिकामा सिफारिस गरि पठाईएकोमा उक्त अवैध स्टक बालुवा तेज नारायण श्रेष्ठले नै संकलन गरी राखेको खुल्न आएकोले श्रेष्ठलाई ९० हजार ६ सय ६६ रूपैयाँ राजश्व र ९ हजार ६६ रूपैयाँ जरिवाना भराई छाडिएको प्रहरीले जानकारी दिएको छ। व्यवसायी श्रेष्ठले उक्त राजस्व र जरीवाना वालिङ नगरपालिकामा बुझाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चौधरीले जानकारी दिए। यही असोज २४ गते समेत आँधीखोला किनारबाट बालुवा ओसारपसार गरिरहेको अवस्थामा दहथुम प्रहरी चौकीबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको ग १ त ६६०५ नम्बरको ट्याक्टर पनि भीरकोट नगरपालिका वडा नम्बर ०४ बस्ने तेज नारायण श्रेष्ठको नै रहेको खुल्न आएकोले पटके कायम गरि आवश्यक कानूनी प्रक्रिया अगाडी बढाईएको प्रहरीले जानकारी दिएको छ।
प्रतिक्रिया