वालिङमा प्रथम ॐकार कप फुटबल प्रतियोगिता शुक्रवार समापन
वालिङ ।
ॐकार इभेन्ट्स हब वालिङद्वारा आयोजित प्रथम ॐकार कप सेभेन ए साइड भेट्रान्स फुटबल प्रतियोगिता–२०८२ अन्तर्गत आज सेमिफाइनल चरणका दुवै खेलहरू सफलतापूर्वक सम्पन्न भएका छन् । आज सम्पन्न सेमिफाइनल खेलहरूको अवसरमा आयोजित कार्यक्रममा ॐकार इभेन्ट्स हब वालिङका अध्यक्ष विजय मल्लको अध्यक्षता रहेको थियो भने कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्याल रहेका थिए ।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा उद्योग वाणिज्य संघका पूर्व केन्द्रीय सदस्य दीपक लम्साल, जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डिएसपी प्रसन्न राज चौधारी, चेम्बर अफ कमर्शका केन्द्रीय सदस्य निर्मला लम्साल, संस्थाका सल्लाहकार एल.बी. ज्वार्चन तथा वालिङ नगरपालिका वडा नं. १० का वडा अध्यक्ष सुनिल खनालको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन संस्थाका प्रबन्धक नवराज पौडेलले गरेका थिए ।
खेलतर्फ, आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा तिलोत्तमा भेट्रान्स र मेजर एफसी पोखरा बीच कडा प्रतिस्पर्धा देखिएको थियो । निर्धारित समयमा सम्पन्न रोमाञ्चक खेलमा मेजर एफसी पोखराले तिलोत्तमा भेट्रान्सलाई २–० गोल अन्तरले पराजित गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ ।
त्यसैगरी दोस्रो सेमिफाइनल खेलमा एनएएफसी पोखरा र वालिङ रेड (आयोजक) बीच प्रतिस्पर्धा भएको थियो । उत्कृष्ट खेल प्रदर्शन गरेको एनएएफसी पोखराले आयोजक टोली वालिङ रेडलाई २–० गोल अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । यससँगै प्रतियोगिताको फाइनल खेल भोली दिउँसो १ बजे एनएएपलसी पोखरा र मेजर एफसी पोखरा बीच आयोजना हुने भएको छ । फाइनल खेलसँगै प्रतियोगिताको औपचारिक समापन कार्यक्रमसमेत सम्पन्न हुने आयोजकले जानकारी दिएको छ ।


प्रतिक्रिया