वालिङ महोत्सव : ‘गाउँ र शहरलाई आर्थिक चलायमान बनाउने अपेक्षा’

वालिङ ।
प्रत्येक २ बर्षमा वालिङ उद्योग वाणिज्य संघले महोत्सव आयोजना गर्दै आएको छ । स्थानीय उत्पादनको प्रवद्र्धन, कला—संस्कृतिको संरक्षण, व्यवसायीक अवसरहरुको बिस्तार र स्थानीय पर्यटन प्रवद्र्धन गर्ने उदेश्य राखेर वालिङ उद्योग वाणिज्य संघले प्रत्येक २÷२ बर्षमा वालिङ महोत्सव गर्दै आएको हो । यो बर्ष संघले नवौ वालिङ महोत्सव माघ १४ गते बुधवारबाट शुरु गरेको छ । माघ २५ गतेसम्म १२ दिन वालिङ खेल मैदानमा यो महोत्सव संचालन हुने छ । हरेक महोत्सवलाई वालिङवासीले उत्सवको रुपमा लिने गरेकाले पनि संघले संचालन गर्दै आएका महोत्सवहरुले सफलता हाँसिल गरिरहेको छ ।

‘हाम्रो गौरव हाम्रो शान, वालिङ महोत्सव हाम्रो पहिचान’ भन्ने मुल नाराका साथ शुरु भएको नवौ वालिङ महोत्सव २०८२ को नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन गरेपछि औपचारिक रुपमा शुभारम्भ भएको छ । आयोजकले यो महोत्सवलाई गाउँ र शहर जोड्ने मेलाको रुपमा हेरेको छ । गाउँको उत्पादन बजार पु¥याउने र शरहको सामाग्री गाउँ पु¥याउने रणनीतिक हिसावले यो महोत्सवलाई हेरिएको संघका अध्यक्ष चेतनारायण श्रेष्ठको भनाई छ । महोत्सवले गाउँ र शहरको आर्थिक अवस्थालाई पनि चलायन बनाउने अपेक्षा आयोजकको रहेको छ ।

१२ दिनसम्म संचालन हुने महोत्सवमा व्यापारीक मेला, विद्यालय स्तरीय नृत्य प्रतियोगिता, लोकदोहोरी प्रतियोगिता, सुन्तला तथा ताजा तरकारी प्रदर्शनी, मनोरञ्जन कार्यक्रम र विभिन्न जातजातीको भेषभुषा, कला संस्कृतिको प्रदर्शनी गरिने आयोजकले जनाएका छन् । लुकेका र लुकाइएका प्रतिभाहरुको खोजी सगै अन्य गतिविधिहरु महोत्सव स्थलमा देख्न र अवलोकन गर्न पाइने बताइएको छ । यो महोत्सव गण्डकी प्रदेश स्तरीय प्रादेशिक, औद्योगिक, कृषि, पर्यटन, सांस्कृतिक, सूचना प्रविधि तथा व्यापार मेलाको रुपमा हेरिएको छ । देशभर संचालन हुने महोत्सवहरु मध्ये उत्कृष्ट स्थानमा पर्दै आएको वालिङ महोत्सवको नवौ संस्करण अझै फरक हुने आयोजकको दावी छ ।

४ सय १० स्टल राखिएको महोत्सवमा ३ सय ५० व्यापारीक स्टल रहेका छन् । ६० स्टलहरु स्थानीय उत्पादनको बजारीकरण, प्रदर्शनी, विभिन्न संघसंस्थालाई उपलब्ध गराउने आयोजकले जनाएका छन् । बालकदेखी बृद्धबृद्धासम्म अवलोकन गर्न सकिने गरी संचालन गरिएको नवौ महोत्सवको प्रमुख आकर्षणको रुपमा घुमाउने (कुडुले) घर रहेको छ । यो घर निर्माणसगै परम्परागतलाई समेत यसले सम्झाउने काम गरिदिएको छ । यो सगै वालिङ महोत्सवमा जलपरी नृत्य पनि प्रदर्शनीका रुपमा राखिएको छ । यसमा पनि दर्शकहरुको आकर्षण बढ्ने अपेक्षा गरिएको छ । अर्को तर्फ आमा नृत्य प्रतियोगिता आयोजना गरिएको छ । जसले गर्दा महिला सहभागिता र आकर्षकका रुपमा आमा नृत्य हुने अपेक्षा छ ।

१२ दिनसम्म बालउद्यानमा रमाउने, किनमेल गर्ने, लोकसंस्कृतिमा रमाउने, विभिन्न जातजातीका मिठा—मिठा परिकारहरुको स्वाद लिन पाइने व्यवस्था महोत्सव स्थलमा रहेको छ । यो महोत्सवमा १ करोड ६८ लाख आम्दानी गर्ने र १ करोड १४ लाख खर्चगरी ५३ लाख ४९ हजार बचत गर्ने अपेक्षा आयोजकले लिएका छन् । २०६३ सालबाट शुरु गरिएको वालिङ महोत्सव २०८२ सम्म आइपुग्दा नवौ संस्करणमा पुगेको छ । आठौं वालिङ महोत्सवसम्म वालिङ बजारलाई बेहुली झै सिंगारिएपनि नवौ महोत्सवमा भने यसलाई निरन्तरता दिन आयोजक असफल भएका छन् । जसले गर्दा स्थानीय व्यापारीहरु यो महोत्सवमा सन्तुष्ट छैनन् की भन्ने प्रश्न उठेको छ । यद्यपी महोत्सवमा भने कुनै स्थानीय व्यपारीहरुले बिरोध भने जनाएका छैनन् ।

स्याङ्जा खण्डको सिद्धार्थ राजमार्गसगै जोडिएको वालिङ स्याङ्जाकै प्रमुख व्यापारीक केन्द्र पनि हो । स्मार्ट नगरको रुपमा उन्मुख रहेको वालिङ पर्वत, तनहुँ, पाल्पा, गुल्मी लगायतका जिल्लाका मानिसहरु बढी वालिङ आउने गर्दछन् । यसले गर्दा पनि वालिङ अधिकांश समय चहलपहल भएपनि वालिङ उद्योग वाणिज्य संघले आयोजना गरेको नवौ महोत्सवले झनै चहलपहल बढाएको छ । जसले गर्दा वालिङलाई राष्ट्र देखी अन्तरािष्ट्रयसम्म चिनाउन महोत्सवले महत्वपुर्ण भुमिका खेलेको आयोजकको भनाई छ ।

प्रतिक्रिया