फागुन २१ को निर्वाचनका लागि सुरक्षा तयारी तीव्र
वालिङ ।
आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै स्याङ्जा जिल्लाका ५६ वटा मतदान स्थललाई ‘अति संवेदनशील’ सूचीमा राखिएको छ । जिल्लामा रहेका कुल १ सय ९९ मतदान स्थलमध्ये ७१ वटालाई ‘संवेदनशील’ र ७२ वटालाई ‘सामान्य’ सूचीमा वर्गीकरण गरिएको छ । जिल्ला सुरक्षा समितिले जिल्लाभर रहेका सबै मतदान स्थलको अवस्था मूल्याङ्कन गरी सुरक्षाको अवस्था, भौगोलिक बनावट तथा विगतका निर्वाचनमा देखिएका गतिविधिलाई आधार मानेर मतदान स्थलको संवेदनशीलता निर्धारण गरेको हो । प्रमुख जिल्ला अधिकारी तथा जिल्ला सुरक्षा समितिका संयोजक ईश्वरीप्रसाद अर्यालका अनुसार सोही मूल्याङ्कनका आधारमा अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन तहमा वर्गीकरण गरी केन्द्रमा सिफारिस गरिएको छ ।
प्रजिअ अर्यालले भने, “सडक तथा यातायातको पहुँच, भौगोलिक अवस्था, सूचना तथा सञ्चारको पहुँच, अघिल्ला निर्वाचनमा देखिएका गतिविधि र समग्र सुरक्षा अवस्थालाई मुख्य आधार बनाएर मतदान स्थलको संवेदनशीलता निर्धारण गरिएको हो ।” उनका अनुसार मतदान स्थलको प्रकृतिअनुसार फरक–फरक सुरक्षा योजना तयार पारिएको छ । उनले भने, “निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने तयारीमा प्रशासन केन्द्रित छ ।” प्रशासनका अनुसार अति संवेदनशील मतदान स्थलहरूमा सुरक्षा व्यवस्था थप कडा बनाइनेछ । त्यस्ता स्थलहरूमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र आवश्यकताअनुसार अतिरिक्त सुरक्षा जनशक्ति परिचालन गरिने योजना बनाइएको छ । संवेदनशील र सामान्य मतदान स्थलमा पनि अवस्था हेरी पर्याप्त सुरक्षा व्यवस्था मिलाइने प्रशासनको भनाइ छ ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न जिल्लाका दुवै निर्वाचन क्षेत्रमा रहेका राजनीतिक दल, उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारहरूले समेत प्रतिबद्धता गरेको प्रशासनले जनाएको छ । निर्वाचन आचारसंहिता पालना गर्न सबै पक्षलाई आग्रह गरिएको र उल्लंघन भएमा कानुनअनुसार कारबाही गरिने प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिए । मतदान स्थलको वास्तविक अवस्था बुझ्न जिल्ला सुरक्षा समिति, निर्वाचन अनुगमन समिति तथा निर्वाचन अधिकृतको संयुक्त टोलीले स्थलगत अध्ययन तथा अवलोकनलाई निरन्तरता दिइरहेको छ । स्थलगत अनुगमनका क्रममा मतदान स्थलको भौतिक संरचना, पहुँच मार्ग, सुरक्षा जोखिम तथा आवश्यक सुधारका विषयमा पनि मूल्याङ्कन भइरहेको जनाइएको छ ।
जिल्ला निर्वाचन कार्यालय स्याङ्जाका प्रमुख श्रीराम थापाका अनुसार यसपटक जिल्लामा कुल १ सय ९९ मतदान स्थलमा ३ सय २२ मतदान केन्द्र तोकिएका छन् । अघिल्लो निर्वाचनको तुलनामा यस वर्ष दुई मतदान केन्द्र थप गरिएको हो । प्रमुख थापाले भने “मतदाताको संख्या र भौगोलिक अवस्थालाई ध्यानमा राखेर मतदान केन्द्र थप गरिएको छ ।” जिल्ला कारागार स्याङ्जामा रहेका कैदीबन्दीका लागि भने एक अस्थायी मतदान स्थलको व्यवस्था गरिएको निर्वाचन कार्यालयले जनाएको छ । यसबाट कारागारमा रहेका मतदाताले पनि सहज रूपमा आफ्नो मताधिकार प्रयोग गर्न पाउनेछन् ।
दुई निर्वाचन क्षेत्र रहेको स्याङ्जामा यस निर्वाचनमा कुल २ लाख ४८ हजार ८ सय १६ मतदाताले मतदान गर्न पाउनेछन् । निर्वाचन कार्यालयका अनुसार जिल्लामा पुरुष मतदाता १ लाख २२ हजार ४ सय ६४ र महिला मतदाता १ लाख २६ हजार ३ सय ५१ रहेका छन् । साथै अन्य समूहका एक जना मतदाता पनि मतदाता सूचीमा समावेश छन् । निर्वाचन क्षेत्रगत विवरण अनुसार निर्वाचन क्षेत्र नं. १ मा १ लाख ३० हजार ८ सय ८६ मतदाता रहेका छन् भने निर्वाचन क्षेत्र नं. २ मा १ लाख १७ हजार ९ सय ३० मतदाता रहेका छन् । मतदाता संख्या अघिल्लो निर्वाचनको तुलनामा वृद्धि भएको निर्वाचन कार्यालयले जनाएको छ ।
प्रशासनले मतदानका दिन कुनै पनि प्रकारको अवाञ्छित गतिविधि हुन नदिन सुरक्षाका सबै संयन्त्रलाई सक्रिय बनाइने जनाएको छ । निर्वाचनको दिन सुरक्षा गस्ती, निगरानी तथा आकस्मिक प्रतिक्रिया टोली परिचालन गरिनेछ भने मतदान स्थल वरपर निषेधित क्षेत्र तोक्ने तयारी पनि गरिएको छ । यसैबीच मतदाता शिक्षालाई प्रभावकारी बनाउने, मतदान प्रक्रियाबारे जानकारी दिने तथा मतदातालाई ढुक्क भएर मतदानमा सहभागी हुन प्रेरित गर्ने कार्यमा पनि प्रशासन र निर्वाचन कार्यालय सक्रिय देखिएको छ । निर्वाचन नजिकिँदै जाँदा स्याङ्जामा राजनीतिक गतिविधि बढिरहेका बेला सुरक्षा व्यवस्थालाई उच्च प्राथमिकतामा राखेर तयारी अघि बढाइएको प्रशासनको भनाइ छ ।


प्रतिक्रिया