एमाले स्याङ्जा संकल्पपत्र सार्वजनिक
वालिङ /
नेकपा एमाले स्याङ्जा क्षेत्र नंं. २ लक्षित संकल्प पत्र सार्वजनिक गरेको छ। वालिङस्थित सिटीहलमा आयोजित कार्यक्रममा पार्टीका उम्मेदवार तथा केन्द्रीय सदस्य खिम बहादुर थापाले पूर्वाधार विकास, जलस्रोत उपयोग, कृषि आधुनिकीकरण र रोजगारी सिर्जनालाई मुख्य प्राथमिकतामा राखिएको जानकारी दिए ।
थापाले सिद्धार्थ राजमार्गको डेडिकेटेड दुई लेनसहित स्तरोन्नति पहिलो प्राथमिकता भएको बताए । यो राजमार्ग स्याङ्जाको आर्थिक समृद्धिको मेरुदण्ड भएकाले यसलाई पहिलो प्रथामिकता राखेको उनले बताए । सुरक्षित र स्तरीय सडकबिना क्षेत्रीय विकास सम्भव छैन भन्दै राजमार्ग स्तरोन्नतिले यातायात समय र ढुवानी खर्च घट्ने तथा लगानीको वातावरण सुधार हुने दाबी थापाको छ ।
दोस्रो प्राथमिकतामा आँधीखोलामा जलाशययुक्त बहुउद्देश्यीय आयोजना निर्माण रहेको छ। थापाका अनुसार जलविद्युत उत्पादन, सिँचाइ विस्तार, बाढी नियन्त्रण र जलपर्यटन प्रवर्द्धनका लागि योजना अघि सारिएको हो। आँधीखोलालाई दीर्घकालीन आर्थिक स्रोतका रूपमा विकास गर्न सकिने विश्वास उनको छ ।
त्यसैगरी कालीगण्डकीको शिरदेखि तिरसम्म नारासहित कालीगण्डकीमा मिनी पानीजहाज सञ्चालनको सम्भावना र डीपीआर तयार भइसकेको जानकारी पनि उनले दिए । नदी यातायात र जलपर्यटनमार्फत पहाड–तराई सम्बन्ध सुदृढ गर्ने लक्ष्य रहेको बताइएको छ।
संकल्प पत्रमा कृषियोग्य जमिनमा सिँचाइ सुविधा विस्तार, उत्पादन वृद्धि, कृषिमा आधारित उद्योग स्थापना, स्थानीय उत्पादनको बजारीकरण र युवालाई कृषिमा आकर्षित गर्ने कार्यक्रम समेटिएका छन्। साथै स्वरेक मैदान, उत्तरबाहिनीधाम लगायत धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास, आँधीखोला तटबन्ध निर्माण र ग्रामीण सडक स्तरोन्नति पनि प्राथमिकतामा राखिएको छ। दुई कार्यकाल कालीगण्डकी गाउँपालिकाका अध्यक्ष रहिसकेका थापाले स्थानीय तहमा गरेको अनुभवलाई संघीय संसदमा उपयोग गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा एमाले सचिव तथा समानुपातिक उम्मेदवार पद्मा कुमारी अर्यालले स्थिर सरकार र स्पष्ट नीतिको आवश्यकता औंल्याइन् । आगामी फागुन २१ गते हुने निर्वाचनमा स्याङ्जा क्षेत्र नं. २ मा १२ उम्मेदवार प्रतिस्पर्धामा छन्। नेपाली काँग्रेसका भागवत प्रकाश मल्ल, एमालेका खिम बहादुर थापा र राष्ट्रिय स्वतन्त्र पार्टीका झविलाल डुम्रेबीच मुख्य प्रतिस्पर्धा हुने आकलन गरिएको छ। निर्वाचन आयोगका अनुसार यस क्षेत्रमा १ लाख १७ हजार ९ सय ३० मतदाता रहेका छन्। संकल्प पत्र सार्वजनिक भएसँगै स्याङ्जा क्षेत्र नं. २ मा चुनावी प्रतिस्पर्धा थप तीव्र बनेको छ। अब फागुन २१ गतेको मतपरिणामले मतदाताले कुन विकास दृष्टिकोणलाई प्राथमिकता दिन्छन् भन्ने स्पष्ट हुनेछ।


प्रतिक्रिया