हाल कोरोनाको संक्रमण केहि घटे पनि जोखिम उत्तिकै छ

बसुन्धरा शर्मा,
प्रमुख,
स्वास्थ्य कार्यालय, स्याङ्जा
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको प्रत्यक्ष प्रभावबाट नेपाल पनि अछुतो रहन सकेन । त्यसबाट नेपाल लगायत विश्वले नै ठुलो क्षति व्यहोर्नु प¥यो । स्याङ्जामा तेश्रो लहरको कोभिडका कारण १ हजार ७ सय जना संक्रमित भए । जसमध्ये ८ जनाको मृत्यु समेत भयो । कोभिड १९ का कारण स्याङ्जाको आर्थिक, सामाजिक, राजनैतिक लगायत हरेक क्षेत्र प्रभावित बन्यो । यसको रोकथाम तथा नियन्त्रण र नागरिकको स्वास्थ्य रक्षाका लागि सरकारले विभिन्न चरणमा स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राखेर विविध गतिविधि सञ्चालन समेत गरेको थियो । कोरोना भाइरस विरुद्धको विभिन्न खोपहरु बनेपछि खोप अभियान सञ्चालन गरी कोभिड १९ नियन्त्रणको अभियानमा यतिबेला सरकार जुटिरहेको छ । यसको प्रभावकारिता पनि देखिएको छ । सबै नागरिकलाई खोप पु¥याउने सरकारको लक्ष्य अनुसार खोप अभियान सञ्चालन भैरहेको छ । यसै सन्दर्भमा पब्लिक आवाज पत्रिकाका सम्पादक अमृत अर्यालद्धारा स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख बसुन्धरा शर्मासँग गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ः
१.अहिले तेश्रो भेरिएन्टको रुपमा फैलिएको कोभीड संक्रमणको अवस्था स्याङ्जामा कस्तो छ ?
विश्वभरी नै कोभिड १९ महामारी निरन्तर रुपमा चर्कदो छ । पौषको दोश्रो सातातिर करिब शून्य अवस्थामा रहेको कोरोना संक्रमण बिस्तारै बढ्दै गएर माघको दोश्रो साता दैनिक रुपमा उच्च बिन्दु (१७५ सम्म) मा पुगेको थियो । हालै अन्य जिल्लाहरुको जस्तै यस जिल्लामा पनि केहि दिनदेखि संक्रमण बिस्तारै घट्दै गएर दैनिक ८–१० जनामा पुगेको तथ्यांकले देखाएको छ । साथै सक्रिय संक्रमित पनि २०० भन्दा कम रहेको देखिन्छ । तेश्रो लहर शुरु भए पश्चात करिब १७०० जनामा संक्रमण र ८ जनाको मृत्यु भएको तथ्याँक छ ।
२. नेपाल भारत जस्ता देश किन यसको मारमा पर्दैछन् ? अरु देशले कसरी यसलाई नियन्त्रणमा लिए ?
राम्रो प्रश्न गर्नुभयो । जुनजुन देशले यसलाई नियन्त्रण गरे वा महामारी नियन्त्रणमा केही प्रगति गरे तिनीहरुमा जनस्वास्थ्य सुरक्षा मापदण्डको मेहनतपुर्वक कार्यान्वयन भएको छ । स्वास प्रस्वासको माध्यमद्वारा सजिलै सर्ने रोग भएकोले नेपाल सरकारद्वारा जारी गरिएका रोकथाम तथा नियन्त्रणका उपायहरु सबै पक्षबाट प्रभावकारी रुपमा अबलम्बन नगर्दा यसको संक्रमण दर बढेको देखिन्छ । साथै सबै नागरिकहरुलाई खोपसेवा प्रदान गर्न नेपाल सरकारले प्रयास गर्दा गर्दै पनि हाम्रो जस्तो देश अरु देशमा निर्भर हुनुपर्ने बाध्यता पनि अर्को चुनौती हो जस्तो लाग्छ ।
३. एकातिर कोरोनाको महामारी छ । अर्कोतिर सरकारले चुनावको घोषणा गरेको छ, यसले कस्तो असर पर्छ ?
अहिले सरसर्ती हेर्दा कोरोनाको संक्रमण बढ्दै गएको परिप्रेक्ष्यमा सरकारले चुनाब घोषणा गरि हाल्न हुन्थेन कि भन्ने हामी सबैलाई लाग्न सक्छ । तर पाँच पाँच बर्षमा चुनाब गर्नु संबैधानिक ब्यबस्था पनि हो । साथै नेपाल सरकारले चैत्र मसान्तभित्र लक्षित समुह सबैलाई पूर्णखोप प्रदान गर्ने प्रतिबद्दता पनि गरेको, तेश्रो लहरको संक्रमण दर पनि बिस्तारै घट्दै गएको अवस्थामा जनस्वास्थ्यका मापदण्डहरु पालना गरी चुनाब सम्पन्न गर्न सकिन्छ जस्तो लाग्छ । यससँगै तपाई हामी लगायत सम्पूर्ण व्याक्तिहरु बढी जिम्मेवार बन्नुपर्ने हुन्छ ।
४. जिल्ला स्वास्थ्य कार्यालयको प्रमुखको हैसियतले कोभिड महामारीको सजगता अपनाउन के सुझाव दिनुहुन्छ त ?
हाल कोरोनाको संक्रमण केहि घटे पनि जुनसुकै बेला हामी जोखिममा छौं । त्यसैले नेपाल सरकारद्वारा जारि गरिएका जनस्वास्थ्यका मापदण्ड पालना गर्न नबिर्साै भन्न चाहन्छु । केहि कारणले खोप लगाउन छुट भएका जनसमुदायले यथासक्य छिटो आफ्नो नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरि कोरोना बिरुद्दको खोप लगाउने साथै पूर्ण खोप लगाएको छ महिना पश्चात थप खोप पनि लगाउनु हुन सम्पूर्णमा अनुरोध गर्दछु ।
५. हामीले संक्रमण फैलिन नदिनका लागि अख्तियार गरेको नीति ठिक छ ? कि अझै फरक नीति लिनुपथ्र्यो ?
हामीसंग जनस्वास्थ्यका विभिन्न कार्यक्रमहरु छन् । कुनै पनि सरुवा रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने प्रकृतिको आधारमा नै बिज्ञहरुले उक्त रागेबाट बच्ने, बचाउने, रोकथाम तथा नियन्त्रणका उपायहरु पत्ता लगाउने हो । यसै बमोजिम कोरोनाबाट बच्न र बचाउनको लागि सर्ने माध्यम नै छेक्ने वा रोक्ने हो । मेरो बिचारमा नेपाल सरकारद्वारा जारी गरिएका उपायहरु ठिक छन् तर यी मापदण्डहरु हामी सबैबाट प्रभावकारी रुपमा अनुसाशित भै पूर्ण पालना गर्नुपर्ने हुन्छ ।
६. यो संक्रमण कहिलेसम्म रहला ? यसको फैलावटको अवस्था हेर्दा मानवसभ्यता नै सखाप हुने देखिन्छ नि ?
महामारीको रोकथाम सुनिश्चित गर्नका लागि हामीले भाईरस संक्रमणको श्रृंखला तोड्नु पर्छ । कोरोना कहिलेसम्म रहन्छ भनेर अहिले नै ठ्याक्क भन्ने आधार त छ जस्तो मलाई लाग्दैन । इतिहास फेर्केर हेर्ने हो भने पनि समय समयमा यस्ता प्रकारका महामारीले बिश्व नै आक्रान्त पारेको देखिन्छ र समयको गतिसँगै ती रोगहरु पनि कम भएर वा हराएर गएको र कुनै कुनै रोग पुन ः सामान्य रुपमा देखिने तथा महामारीको रुपमा पनि आउने गरेको देखिन्छ । साथै मानव सभ्यता नै सखाप हुने कुरा त म कल्पना नि गर्न सक्दिन् । किनकि यो संसारको उत्पती कसरी भयो र यसको अन्त्य कसरी हुन्छ भन्ने कुरा त मलाई रहस्य नै छ जस्तो लाग्छ । म जस्तो सामान्य मान्छेले जान्ने कुरापनि त भएन । तर म के भन्न सक्छु भने प्रकृतिको संरक्षण गर्ने कर्तब्य हामी मानव जातीको नै हो जस्तो लाग्छ । यसका लागि हाम्रो बानी व्यवहार प्रकृतिमैत्री बनाउनुका साथै वातावरणको संरक्षण र सम्बर्धन गर्नु पनि हाम्रो दायित्व हो । साथै हामी बिरामी परियो भनेर औषधी पसल गएर जथाभावी औषधीहरु (मुख्यतः एन्टीबायोटिकहरु) को प्रयोग नगरी दक्ष स्वास्थ्यकर्मी वा चिकित्सकको सल्लाह अनुसार मात्र सेवन गर्नुपर्दछ ।
७. अहिले खोपको अवस्था कस्तो छ ? स्याङ्जामा कतिले खोप लगाए त ?
कोभिड बिरुद्दको खोप गत बर्षको माघ १४ गतेदेखि स्वास्थ्यकर्मीहरुबाट सुरु भै बिस्तारै अन्य समुहहरुमा पनि प्रदान गर्दै गएर हाल १२ बर्ष माथिका उमेर समूहसम्म प्रदान गरिएको अवस्था विदितै छ । सुरु सुरुमा त खोपप्रतिको नकारात्मक भावना देखिएकाले खोपप्रति बढी चासो नभएको देखियो । तर कोभिड महामारी पूनः बढ्दै गएकोले खोपको माग अति नै बढ्यो । जिल्लामा खोप आपूर्ति माग अनुसार कम भएको कारणले केहि समय त व्यबस्थापन गर्न ज्यादै कठिनाई परेको थियो । यस जिल्लामा १८ बर्ष माथिको लक्षित समुह १ लाख ६३ हजार ८ सय ४० जनामा शतप्रतिशत पूर्णखोप लगाइएको छ । यसैगरी १२ –१७ वर्ष उमेरसमुहका २८ हजार १ सय ७१ बालबालिकाहरुमा करिब ८० प्रतिशतलाई पूर्णखोप लगाइएको छ । साथै खोप लगाएको छ महिना पुरा भएका व्यक्तिहरुलाई बुस्टर खोप पनि सुरु भएको छ । खोप लगाउनबाट कोहि व्यक्ति पनि नछुटोस भनेर नियमित प्रचार प्रसार गरिरहेका छौं ।
८. अहिले बुस्टर डोजको खोप संचालनमा छ तर लक्षित समुदाय खोप लगाउन त्यत्ति उत्सुक भए जस्तो लाग्दैन । घरदैलामा नै खोप लगाउने केही योजना छ ?
हो, तपाइले भने जस्तै पहिला हामीसंग खोप आवश्यकता भन्दा थोरै आपूर्ति भएको हुँदा ज्यादै माग रहेको अवस्था थियो । हाल सबैजसोले पूर्णखोप लगाई सक्नुभएको अवस्था छ । कोहि केहि कारणबस लगाउन छुट्नु भएको छ कि भनेर बढि भन्दा बढि व्यक्तिलाई जानकारी पु¥याउने उद्देश्यले जनचेतनामुलक कार्यहरु नियमित संचालन गरिरहेका छौं । साथै स्थानीयतहका प्रतिनिधि ज्यु, स्वास्थ्य शाखा प्रमुखहरु तथा स्वास्थ्यकर्मी साथीहरुसँग बैठक, छलफल तथा अन्तरक्रिया समेत गरिरहेको अवस्था छ ।
९. तपाई स्वास्थ्य कार्यालयको प्रमुख हुनुहुन्छ, जिल्लामा अहिलेसम्म स्वास्थ्यप्रदायक संस्थाहरुले गरिरहेको कामहरुलाई कसरी मुल्यांकन गर्नुहुन्छ ?
संघीयता कार्यान्वयन पश्चात तीन तहको सरकार बनिसकेपछि प्रदेश अन्तर्गत रहेको स्वास्थ्य कार्यालयको मुख्य जिम्मेवारी भनेको समन्वय र सहजीकरण गर्नु रहेको छ । स्वास्थ्यका सम्पूर्ण सेवा स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरुबाट नै प्रवाह हुन्छन् । हामी सबैलाई जानकारी नै रहेको अवस्था प्रायः सबै स्वास्थ्य संस्थाहरुमा दक्ष मानवश्रोतको अझै अभाव रहेको हुँदा अहिलेको मुख्य चुनौती भनेको गुणस्तरीय स्वास्थ्यसेवा प्रदान गर्नु नै रहेको छ । यसका लागि सबै तहबाट उचित सम्बोधन गर्नुपर्दछ जस्तो लाग्दछ ।
१०. अन्त्यमा पब्लिक आवाज पत्रिका मार्फत आम नागरिकहरुलाई के भन्न चाहनुहुन्छ ?
अझै पनि कोभिड महामारी रहिरहेको छ, यसबाट बच्न र बचाउनु हामि सबैको दायित्व हो । त्यसैले नेपाल सरकारबाट जारी गरिएका जनस्वास्थ्यका मापदण्ड पालना गरौँ, गराऔँ । यदि कोहि महानुभावहरु कोभिड बिरुद्दको खोप लगाउन छुट्नु भएको छ भने कृपया तुरुन्तै आफ्नो स्वास्थ्य संस्थामा गई खोप लगाउनुहुन् सादर अनुरोध छ । साथै हामी जुनसुकै समयमा अन्य रोगहरुको जोखिममा रहिरहेका हुन्छौं, त्यसैले यस्ता रोगहरुबाट बच्नको लागि स्वस्थ जीवनशैली अपनाउनुहुन पनि हार्दिक अनुरोध गर्दछु । मलाई केहि कुरा राख्ने अवसर प्रदान गर्नु भएकोमा पब्लिक आवाजलाई पनि धेरै धेरै धन्यवाद ब्यक्त गर्दछु साथै यसको उत्तर उत्तर प्रगतीको कामना गर्दछु । धन्यवाद !
प्रतिक्रिया