अपाङ्गता भएका व्यक्तिलाई तरकारी खेती तालिम र औजार

स्याङ्जा ।

स्याङ्जामा अपाङ्गता भएका व्यक्तिलाई तरकारी खेती तालिम र औजार वितरण गरिएको छ । सामाजिक विकास कार्यालय स्याङ्जाको आर्थिक सहयोग, कृषि ज्ञान केन्द्र स्याङ्जाको प्राविधिक सहयोग तथा स्याङ्जा अपाङ्ग समाजको आयोजनामा अपाङ्गता भएका व्यक्तिहरुलाई समुदायमा आधारित पुनस्र्थापना कार्यक्रम अन्तर्गत बेमौसमी तरकारी खेतीसम्बन्धी दुई दिने तालिम सम्पन्न भएको हो । “देशको उर्वर भूमिलाई जोगाँऔं, अपाङ्गता भएका युवाहरुलाई अर्गानिक तरकारी खेतीबाट आत्मनिर्भर बनाऔं” भन्ने सन्देशसाथ अपाङ्गता युवाको क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको सामाजिक विकास कार्यालयले जनाएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पुतलीबजार नगरपालिकाकी उपप्रमुख देवी अर्यालले अपाङ्गता भएका व्यक्तिहरुको लागि यस्ता सिपमूलक कार्यक्रम गर्दै विभिन्न क्षेत्रको क्षमता विकासमा समेत ध्यान दिनुपर्ने कुरामा जोड दिईन । उनले स्थानीय तहले माथिल्लो तहका सरकार, सम्बन्धीत संघसंस्थासँग सहकार्य गरेर अपाङ्गता भएका व्यक्तिको क्षमता विकास र हकअधिकार स्थापित गर्न लागिपरेको बताईन । अर्यालले देश कृषिमा आत्मनिर्भर रहेको भन्ने आधारहरु विस्तारै गुम्दै गएको दावी गरिन । उनले कृषि उद्यमलाई आवश्यक उमेरका युवालाई विदेश लखेटेर रमाएको देशमा अपाङ्गता भएका व्यक्तिहरुले कृषिमा आफ्नो उद्यमशीलता देख्नु आफैमा सराहनीय कार्य रहेको बताईन । यस तालिमलाई अपनत्व लिँदै प्रशिक्षार्थीहरुको क्षमता अभिवृद्धिका लागि आवश्यक परेका सबै कार्यहरुमा योगदान दिने उनको प्रतिवद्धतासमेत थियो ।

सामाजिक विकास कार्यालयका प्रमुख जीवन पौडेलले कृषिप्रधान देशमा अपाङ्गता भएका व्यक्तिहरुको लागि जिविकोपार्जनको सहज माध्यम बनाइनुपर्ने बताए । जिविकोपार्जनका लागि यस किसिमको कार्यक्रम अनुकरणीय रहेको र सिकेको सिपलाई जीवन उपयोगी बनाउँदै कृषिको विविधिकरण, व्यवसायिकरण र आधुनिकिकरणमा सबैले हातेमालो गरेर अगाडी बढ्नुपर्ने कुरामा पौडेलले जोड दिए । कार्यक्रममा कृषि ज्ञान केन्द्रका बागबानी विकास अधिकृत विकास बि.क, प्राविधिक सहायक विनिता शर्मा र कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्रशिक्षार्थी विद्यार्थीहरुले तरकारी खेतीसँग सम्बन्धित विविध क्षेत्रमा सहजिकरण गरेका थिए ।

कार्यक्रममा विभिन्न क्षेत्रका २३ जना अपाङ्गता भएका व्यक्तिहरुलाई तालिम समापन पश्चात् कृषिऔजार, बीउ र आवश्यक अन्य सामाग्री वितरण गरिएको थियो । अपाङ्ग समाज स्याङ्जाका अध्यक्ष राम शर्मा पोखरेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा अपाङ्गता सशक्तिकरण तथा सामुदायिक विकास केन्द्र नेपालका अध्यक्ष युवराज पराजुलीले समुदायमा सरल र सहज ढंगबाट अपाङ्गता भएका व्यक्तिहरुले जीवनयापन गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

प्रतिक्रिया