प्रकाशकीय :- सिकाइ र कर्तव्य बोधको १२ वर्ष

स्याङ्जाको सुन्दर नगरी वालिङबाट नियमित प्रकाशन हुँदै आएको पब्लिक आवाजका प्रिय पाठक, लेखक, विज्ञापनदाता, सहयोगी एवं शुभेच्छुक सबै–सबैप्रति आभारी छौं । संघर्षपूर्ण चुनौतीहरु पार गर्दै हामी १२औं वर्षमा प्रवेश गरेका छौं । ११औं वर्ष पूरा गरेर १२औं वर्षमा प्रवेश गरेको यो सुखद अवसरमा यस सञ्चार माध्यमको अत्यन्तै महत्वपूर्ण जिम्मेवारीमा रहेर पब्लिक आवाजलाई काँध हाल्नु हुने यस क्षेत्रका वौद्धिक व्यक्तित्व, लेखक, पाठकवर्ग, विज्ञापनदाता लगायत सबैप्रति विशेष आभार प्रकट गर्दछौं । तपाईहरुको सहयोग, लगाव र सल्लाह सुझाव सहित मायाकै कारण संस्थाले यहाँसम्मको यात्रा तय गर्न सफल भएको छ । स्थापनाको १२ वर्षसम्म आइपुग्दा हामी नेपाल सरकारको (क) वर्गमा सूचिकृत हुन सफल भएका छौं । हामीले साप्ताहिकको रुपमा पब्लिक आवाज साप्ताहिक र डिजिटल रुपमा पब्लिक आवाज डटकम अनलाइन प्रकाशन गरिरहेका छौं ।

डिजिटल मिडियाको यो प्रतिस्पर्धी बजारमा डिजिटलसँगै प्रिन्ट मिडिया जन्माएर आफ्नो पहिचान स्थापित गर्नु सजिलो काम होइन । प्रिय पाठकले देखाएको विश्वासका कारण हामीले यो ११ वर्षको अवधिमा एउटा पहिचान स्थापित गर्न सफल भएको ठानेका छौं । विभिन्न सञ्चार माध्यहरुको यो भीडमा अलग पहिचान बनाइराख्न अनवरत खटिरहनु भएका पत्रकार तथा कर्मचारी साथीहरुप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सक्रियताको अपेक्षा राख्दछौं । प्रिय पाठकको माया, सद्भाव र समालोचनात्मक प्रतिक्रियाले हामीलाई सधैं उत्साहित बनाइराख्ने ऊर्जा प्रदान गरिरहन्छ ।

सबैखाले चुनौतीको सामना गर्दै आम पाठकहरुलाई समाचारका माध्यमबाट हरेक विषयवस्तु प्रस्तुत गर्नु र सुसूचित गराउनु हाम्रो कर्तव्य हो । विभिन्न आरोह र अवरोधहरुलाई पार गर्दै आज हामी १२औं वर्षमा प्रवेश गरेका छौं । साप्ताहिकको रुपमा मात्र सञ्चालन भएको पब्लिक आवाज १२औं बर्षमा आइपुग्दा नेपाल सरकारद्धारा (क) वर्गमा सूचिकृत हुनुले हामी सफल बनेको हाम्रो बुझाई छ । सञ्चार माध्यमको विकास र बृद्धिसँगै पत्रकारको संख्या बढ्दै जाँदा ती पत्रकारको क्षमता विकास, पेशाप्रति जवाफदेही र जिम्मेवार बनाउनुपर्ने दायित्व स्वयम् आफुसँग मात्र छ । यहाँ समाचार लेखेको आधारमा नभएर फेसबुकको स्टाटसमा लाइक, कमेन्टको आधारमा पत्रकारको श्रेणी मापन गरिन्छ । यसबाट आउने दिनहरुमा स्वतन्त्र रुपले मर्यादित पत्रकारिता गर्ने, समाजप्रति जिम्मेवारी भई आफ्नो कामप्रति उत्तरदायित्व बहन गर्ने पत्रकारिता इतिहास त बन्ने होइन भन्ने चिन्ता हुन थालेको छ ।

अन्त्यमा, “पब्लिक आवाज” ले स्याङ्जा–वालिङ मात्र होइन, समग्र सामुदायिक पत्रकारिताका लागि प्रेरणादायी उदाहरण प्रस्तुत गरिरहेको छ । १२ वर्षको सफल यात्रामा यसलाई यहाँसम्म ल्याइपुर्याउनुहुने पाठकवर्ग, स्तम्भकार, विज्ञापनदाता लगायत आम शुभेच्छुकहरु सहित हामीलाई आचारसंहिता कार्यन्वयनमा सल्लाह, सुझाव दिएर सहयोग गर्ने प्रेस काउनिसल नेपाल, विज्ञापन बोर्ड, जिल्ला हुलाक कार्यालय स्याङ्जाप्रति हार्दिक धन्यवाद तथा आभार प्रकट गर्दछौं । तपाईंहरुको सहयोग, सिर्जना र लगनले यो पत्रिका सबैको आवाज बनेर यहाँसम्म आएको हो । आगामी वर्षहरुमा थप चम्किलो, बहुआयामिक र सबल स्वरुपमा अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्दछौं । पुन : १२ वर्षमा प्रवेशको खुशी सहित सबैमा हार्दिक कृतज्ञता प्रकट गर्दछौं ।

प्रतिक्रिया