उत्तरबाहिनी महामेला— गंगा आरती दर्शनमा भक्तजनको आकर्षण
गल्याङ ।
एकमहिने उत्तरगण्डकी महामेला तथा दामोदर धर्मोत्सवमा भक्तजनहरुको आकर्षणको केन्द्र गंगा आरती भएको छ । हिन्दु धर्ममा गंगा आरतीलाई पवित्र पूजा मानिने गरिन्छ । स्याङ्जा र पाल्पाको संगमस्थल मालुङ्गाको उत्तरबाहिनीमा संचालन भएको महामेलामा गंगा स्नान गर्ने र गंगा आरतीमा भक्तजनहरुको दिनहुँजसो घुइचो लाग्न थालेको छ । असोज २१ गतेबाट शुरु भएको उत्तरगण्डकी महामेला तथा दामोदर धर्मोत्सव धार्मिक कार्यक्रम कात्र्तिक १९ गतेसम्म संचालनमा छ ।
सवालाख शालग्रामको दर्शन, गंगा स्नान्, सुर्यअस्तपछि संचालन हुने गंगा आरती र धार्मिक प्रवचन सुन्न र हेर्न दैनिक भक्तजनहरु आउने गरेको महामेला मुल आयोजक समितिका अध्यक्ष चैतन्य कृष्णले जानकारी दिए । गंगा आरती विरलै गरिने पूजा भएकाले भक्तजनहरु सुर्यअस्तपछि आउनेको संख्या उल्लेख्य रहेको उनले बताए । गंगा आरतीले अध्यात्मिक शुद्धि, मोक्ष प्राप्ती र श्रद्धा र भक्तिको ज्ञान मिल्ने धार्मिक किवंदन्ती रहेको छ । गंगा आरती हेर्नु पनि एक अद्धितिय अनुभव, मनलाई शान्ति र आत्मिक शक्तिको अनुभुति गराउने भएको हुँदा गंगा आरतीमा भक्तजनहरुको आकर्षण बढेको आयोजकले जनाएका छन् ।
देशभित्र र बाहिर देशका धार्मिक भक्तजनहरुको दैनिक सहभागिता रहेको महामेला आयोजकले बताइरहेका छन् । अहिलेसम्म सबैभन्दा बढी भारतीय धार्मिक भक्तजनहरुले महामेलाको दर्शन गर्न आएको चैतन्य कृष्णले बताए । संसारको एकमात्र शालग्राम पाइने कालीगण्डकी नदी जहाँ उत्तरमुख बनेर बहेको क्षेत्र अत्यन्तै पवित्र मानिन्छ । यो स्याङ्जा र पाल्पाको मालुङ्गा स्थित पर्दछ । यसको महिमा र धार्मिक जारण गर्ने उदेश्यले उत्तरबाहिनी ज्ञान विज्ञान प्रतिष्ठानले एक महिने महामेला आयोजना गरेको हो । उत्तरगण्डकी धामलाई नयाँ दामोदरकुण्ड तथा मिनी मुक्तिनाथ धामको विकास गर्ने दिर्घकालिन योजना प्रतिष्ठानको रहेको छ ।
महामेला संचालन भएको आज २५ दिन पुगेको छ । यो अवधीभर बजार, मेला, सांस्कृतिक कार्यक्रम, धार्मिक भजन किर्तनको गुञ्जनले भक्तजनहरुलाई आनन्द बनाइरहेको छ । यहाँ निर्माण गरिएका चक्रशिला, २० फिट अग्लो शिवको मुर्ति, शंख, गुफा लगायतका संरचनाले भक्तजनहरुको आस्थाको केन्द्र बनेको बाचक पण्डित नेत्र पराजुलीले बताए । यस् संरचनाले धार्मिक र सांस्कृतिक एकताको सन्देश दिएको पण्डित पराजुलीले बताए । धार्मिक गुरुहरु देखी राष्ट्रिय स्तरका कलाकार र विभिन्न जिल्लादेखी उत्तरबाहिनीमा पुग्ने गरेका छन् । जसले गर्दा स्याङ्जाको गल्याङ नगरपालिका र पाल्पाको रम्भा गाउँपालिकामा चहलपहल बढेको छ ।


प्रतिक्रिया