भीरकोट नगरसभाको दोस्रो बैठकबाट नीति, कार्यक्रम र बजेटसम्बन्धी विधेयक सर्वसम्मत स्वीकृत

भीरकोट ।

भीरकोट नगरपालिकाको १८औँ नगरसभाको दोस्रो बैठक आर्थिक वर्ष २०८३÷८४ का नीति, योजना तथा कार्यक्रमसहित आर्थिक र विनियोजनसम्बन्धी विधेयक सर्वसम्मत रूपमा स्वीकृत गर्दै सम्पन्न भएको छ। नगरसभाको दोस्रो बैठकले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि प्रस्तुत गरिएको योजना तथा कार्यक्रम, आर्थिक विधेयक २०८३ र विनियोजन विधेयक २०८३ माथि छलफल गरी सर्वसम्मत रूपमा पारित गरेको हो।

बैठकमा नगरको समग्र विकास, सेवा प्रवाहको प्रभावकारिता, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, रोजगार तथा सामाजिक विकासका कार्यक्रमलाई प्राथमिकतामा राखिएको योजना तथा कार्यक्रम स्वीकृत गरिएको जनाइएको छ। साथै आगामी आर्थिक वर्षका लागि आय–व्ययको व्यवस्थापन, राजस्व संकलन तथा बजेट खर्चसम्बन्धी कानुनी व्यवस्था समेटिएको आर्थिक विधेयक र विभिन्न शीर्षकमा बजेट विनियोजन गर्ने विनियोजन विधेयक पनि नगरसभाले सर्वसम्मत रूपमा अनुमोदन गरेको छ। नगरसभाबाट नीति, कार्यक्रम र बजेटसम्बन्धी महत्वपूर्ण विधेयकहरू पारित भएसँगै भीरकोट नगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ का विकास तथा सेवा प्रवाहका कार्यक्रम कार्यान्वयन गर्ने बाटो खुलेको छ।

नगरपालिकाले स्वीकृत नीति तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै सुशासन, दिगो विकास र नागरिकमैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राखेर अघि बढ्ने जनाएको छ। नगरसभाको निर्णयसँगै आगामी आर्थिक वर्षका विकास निर्माण तथा जनमुखी कार्यक्रमहरू निर्धारित कार्ययोजनाअनुसार सञ्चालन गरिने विश्वास लिइएको छ।

प्रतिक्रिया