अमोर वालगृह न्यानो काखको खोजीमा आएका बाबुनानीहरुको घर हो

कमला पराजुली,
संचालक अमोर सेवा नेपाल (वालगृह) फेदीखोला १ स्याङ्जा ।

शहरको कोलाहल भन्दा केही टाढा फेदीखोला गाउँपालिका वडा नं. १ स्याङ्जामा अमोर सेवा नेपालले संचालनमा ल्याएको वालगृह रहेको छ । कोही नभएका अनाथ बालबालिकाहरु जसको सडकका छेउछाउमा बाल्यकाल हराउने खतरा हुन्थ्यो, तिनै बालबालिकाको आश्रयस्थल बन्न पुगेको छ, यो बालगृह । यो त्यहीँ एउटा यस्तो स्थान हो, जहाँ बालबालिकाले फेरि सुरक्षित महसुस गर्न पाउँछन्, माया पाउँछन् र भविष्य देख्न थाल्छन् । त्यो स्थान हो अमोर वालगृह । यो वालगृह केवल एउटा आश्रय स्थल होइन, समर्पण, करुणा र मानवीयताको प्रतिक हो । यस प्रेरणादायी संस्थाका सञ्चालक कमला पराजुलीले आफूले देखेको सामाजिक यथार्थ, भोगेको संघर्ष र बनाएको परिवर्तनबारे हामीसँग मन खोलेर कुरा गर्नुभएको छ । प्रस्तुत छ, बालबालिकाका लागि माया र अवसर दिने यात्रामा लाग्नु भएकी पराजुलीसँग पब्लिक आवाजका सम्पादक अमृत अर्यालले गरेको कुराकानीको सारसंक्षेप……..।

१. नमस्कार म्याम आराम हुनुहुन्छ रु अमोर बालगृह स्थापना गर्ने प्रेरणा कसरी मिल्यो  ?
हजुर आराम छु । पहिलो कुरा त बालबालिकाप्रतिको मेरो लगाव नै हो । समाजमा देखिएका अभिभावकविहिन बालबालिकाको दुखद दृश्यले न्यानो आश्रयको आवश्यकता के हो भन्ने बुझायो । त्यसपछि मानवता र सहानुभुतिमा आधारित सोचले नै मलाइ बालगृह स्थापना गर्ने प्रेरणा मिल्यो । सारमा भन्नुपर्दा समाजमा असहाय, अनाथ वा अभिभावकविहीन बालबालिकाहरुको दयनीय अवस्था देखेर तिनीहरुका लागि सुरक्षित, माया–ममता र शिक्षा–स्वास्थ्यसहितको वातावरण प्रदान गर्ने उद्देश्यले बालगृह स्थापना गर्ने सोच आएको हो । हाम्रो उद्देश्य स्पष्ट छः‘हरेक बालबालिकाले माया, सुरक्षा र सम्भावनाको जीवन पाओस् ।’ यही भावना नै अमोर बालगृहको स्थापना र अस्तित्वको प्रेरणा हो । अमोर बालगृहको स्थापना कुनै योजनाबद्ध व्यापारिक सोचबाट होइन, एक गहिरो मानवीय संवेदनाबाट भएको हो । समाजमा अभिभावकविहीन, असहाय र बिचल्लीमा परेका बालबालिकाहरुको अवस्थाले हाम्रो मन छोयो । सडकमा सुतिरहेका बालबालिकाहरु, विद्यालय जान नपाएका बाबुनानीहरु वा शोषणको शिकार बनेका नाबालकहरु देख्दा एउटा प्रश्न मनमा घुम्थ्यो — ‘यी बालबालिकाहरूको दोष के हो ?’ यही प्रश्नले दिनहुँ झस्काइ रहन्थ्यो । अनि एकदिन, सामाजिक उत्तरदायित्वको भावना जाग्यो । ‘यदि हामीले केही नगर्ने हो भने कसले गर्छ त ?’ यही सोचले ‘अमोर बालगृह’ को बीउ रोपियो।

२.वालगृह सुरु गर्दा भोग्नुपरेका मूख्य चुनौतिहरु के थिए ?

सुरुवाति चरणमा धेरै समस्या र चुनौतिको सामना गर्नुपरेको थियो । म एउटा स्नातक तह पढ्दै गरेकी छोरीमान्छे, त्यो समयमा म अविवाहित रहेर बालगृह संचालन गर्छु भन्दै गर्दा समाजले मलाइ हेर्ने दृष्टिकोण फरक थियो । प्रशासनिक झन्झट पनि त्यस्तै थियो । कार्यालयहरुमा जादा कसैलै विश्वास नै नगरीदिने सायद उमेर सानो देखेर होला। त्यो समयमा चाहि मैले कतै गलत काम गर्न लागे कि सक्दिन कि भन्ने प्रश्नले झटारो हान्थ्यो तर ति अभिभावकविहिन बालबालिकाको मुहारले मेरो आत्मबल कहिल्यै कम हुन दिएन । हरेक समस्या र चुनौतिसँग लड्न सिके । तपाइ कुनै पनि कार्यको थालनी गर्न सुरु गरीसकेपछि तपाइको तिन प्रकारका मानिससँग भेट हुन्छ । ति हुन : मजाक बनाउने, विरोध गर्ने र स्विकार गर्ने । यि तिनै स्वभावका व्यक्तिको कारणले आज म यो अवस्थामा छु । यी सबै चुनौतीहरु अत्यन्त गाह्रो भए पनि, बालबालिकाको उज्यालो भविष्यप्रतिको सपना र दृढ इच्छाशक्ति नै अगाडि बढ्ने प्रेरणा बन्यो । प्रत्येक समस्यालाई अवसरका रुपमा लिएर समाधान खोज्दै अगाडि बढ्यौं । बालगृह सञ्चालन गर्न घर, खाना, कपडा, औषधोपचार, शिक्षा, कर्मचारी, र दैनिक आवश्यक सामग्रीहरु आवश्यक पर्छन् । सुरुमा आर्थिक स्रोत जुटाउन निकै गाह्रो भयो ।

३. हाल वालगृहमा कति जना बालबालिका आश्रित छन् र उनिहरुको दैनिक जिवन कस्तो रहन्छ ?

हाल अमोर सेवा नेपाल वालगृहमा जम्मा ४० जना बालबालिका आश्रित छन् । तीमध्ये केही अनाथ, केही आंशिक रुपमा परिवारबाट टाढा परेका र केही जोखिमपूर्ण अवस्थाबाट उद्धार गरिएका छन् । उनीहरुको दैनिकी बिहानीको ध्यान र योग अभ्यास, विद्यालयमा अध्ययन, खेलकुद, बिदाको समयमा विभिन्न तालिम साथसाथै जिवन उपयोगी सिप सिकाइ र सामुहिक गतिविधिमा बित्छ । हामी बालबालिकालाइ विभिन्न नियममा बाँध्ने भन्दा पनि घरको जस्तो वातारण दिने प्रयास गर्छौ । अमोर सेवा नेपाल बालगृहमा स्याङ्जा बाहेक अन्य जिल्लाका पनि बालबालिका छन् । यो बालगृह २०६८ सालमा स्थापना भएको र २०७२ सालदेखि सञ्चालनमा ल्याइएको हो । यहाँ शिशुदेखि स्नातकसम्म अध्ययन गर्ने बालबालिका रहेकाछन् । अमोर बालगृहका बाबुनानीहरु केवल आश्रित होइनन्, भविष्यका आत्मनिर्भर नागरिक बन्ने यात्रामा छन् । हामी उनीहरुलाई माया, शिक्षा, अनुशासन र अवसर दिन प्रतिबद्ध छौं, ताकि उनीहरुले आफ्नो जीवन आफैं निर्माण गर्न सकून् ।

४. यहाँ रहेका बालबालिको शिक्षा देखी स्वास्थ्यसम्म कसरी सम्हालिन्छ  ?

बालबालिकालाइ नजिकैको स्थानीय विद्यालयमा अध्ययन गराइन्छ । स्वास्थ्यका लागि वालगृहको प्राङ्गणमा नै हरेक तिन तिन महिनामा स्वास्थ्य जाँच हुन्छ । बिरामी हुँदा अवस्था हेरेर प्राइभेट वा सरकारी अस्पताल लगिन्छ । बालगृहका सबै बालबालिकाहरु स्थानीय विद्यालयहरुमा भर्ना गरिएका छन् । यहाँ शिशु कक्षा देखि लिएर स्नातक तह सम्म अध्ययनरत बालबालिका छन् । शिक्षा नपाएको वा विच्छेद भएको अवस्थाबाट आएका बालबालिकालाई उचित तहमा समायोजन गरी पुनः पठनपाठन सुरु गराइन्छ । अमोर बालगृह बालबालिकाको संरक्षण मात्र होइन, उत्कृष्ट जीवन निर्माणको आधार हो । शिक्षा, स्वास्थ्य, माया र अनुशासनको समायोजनले उनीहरुलाई आत्मविश्वासी, आत्मनिर्भर र सकारात्मक सोच भएका व्यक्तिमा रुपान्तरण गर्न हाम्रो निरन्तर प्रयास जारी छ । अमोर बालगृहले प्रत्येक बालबालिकाको समग्र विकास सुनिश्चित गर्न शिक्षा, स्वास्थ्य, मानसिक सन्तुलन र नैतिक मूल्यहरुमा विशेष ध्यान दिएको छ । हामी विश्वास गर्छौं — ‘माया मात्र हैन, अवसर पनि जरुरी छ ।’

५. वालगृह संचालन गर्न आर्थिक सहयोग कहाँबाट जुटाइन्छ ?

अमोर वालगृह सञ्चालन गर्नका लागि आवश्यक आर्थिक स्रोतहरु विभिन्न माध्यमबाट जुटाइन्छन्, जसमा पारदर्शिता, विश्वसनीयता र जन–सहभागिता हाम्रो मूल आधार हो।हाम्रो अमोर सेवा नेपाल वालगृहमा कुनेै पनि प्रकारको विदेशी सहयोग छैन । हाम्रो आफ्नै नेपाली आमाबुवा, दाजुभाइ, दिदीबहिनीहरुले व्यक्तिगत सहयोग, स्थानीय दातृ संस्थाको सहयोग र केही सरकारी सहयोगबाट संस्था संचालित छ । हामी पारदर्शी ढंगले हरेक सहयोगलाइ सदुपयोग गर्छौ । कहिलेकाही विभिन्न व्यक्ति वा संघसंस्थाबाट नगद मात्र नभई लत्ताकपडा, खाद्यान्न, पुस्तक, बेडिङ, सरसफाइ सामग्री आदिको पनि सहयोग प्राप्त हुने गरेको छ । यसरी नै जेनतेन चलेका छौं ।

६. यहाँ आश्रय लिने बालबालिकाको पृष्ठभुमी कस्तो हुन्छ र उनीहरुलाइ यहाँसम्म ल्याउने प्रक्रिया कस्तो छ ?

अमोर वालगृहमा आश्रय लिने अधिकांश बालबालिकाहरु समाजको अति संवेदनशील, जोखिमयुक्त र बिचल्ली अवस्थामा रहेका समूहहरुबाट आएका हुन्छन् । उनीहरुको पृष्ठभूमि हृदयविदारक मात्र होइन, सामाजिक रुपमा पनि गहिरो चासोको विषय हो । यहाँ आश्रय लिने बालबालिका प्राय अनाथ,अति विपन्न वा हिंसाको सिकार भएका हुन्छन् । प्रशासन, प्रहरी वा स्थानीय तहको सिफारीस पछि स्थलगत अनुगमन गरी बच्चा भर्ना गरिन्छ । यहाँ ल्याइसकेपछी बालबालिकालाई बालगृहमा सुरक्षित रुपले राखिन्छ । स्वास्थ्य परीक्षण, मानसिक अवस्था मूल्याङ्कन र आवश्यकता अनुसार परामर्श दिइन्छ । त्यसपछी विद्यालयमा भर्ना लगायत आवश्यक पुनर्संरचना प्रक्रिया सुरु हुन्छ ।

७.अमोर वालगृहका केही सफल कथाहरु छन् भने साझेदारी गर्नुहोस् न ? 

अवश्य छ, हाम्रो गृहमा सानैबाट आश्रय लिदै आएको एउटा नानीले अहिले सफ्टवयर इन्जिनियरिङमा स्नातक गर्दै छिन् । एउटा बाबुले विद्यालयमा अध्यापन गराउन थालेका छन् । केहिले विद्यालयमा उत्कृष्ट अंक ल्याएका छन् । यहाँ आश्रय लिएका बालबालिका हरेक विधामा अब्बल छन् । यिनै बालबालिकाको सफलता नै अमोरको सफलताका प्रमाण हुन् । विगत केही समय अघिदेखी संस्था विभिन्न निकायबाट सम्मानित पनि हुदै आएको छ । अधिकांश बालबालिकाको सडकबाट स्कुलसम्मको यात्रा वडो संघर्षपूर्ण छ ।

८. सरकार तथा स्थानीय निकायबाट कस्तो सहयोग प्राप्त भइरहेको छ ?

स्थानीय तहबाट केही हदसम्म सहयोग पाइन्छ, तर अझ मजबुत प्रणालीको आवश्यकता छ । यस्तो संस्थालाइ नीतिगत र आर्थिक रुपमा थप सहयोग दिनुपर्छ । यहाँको मुख्य स्रोत भनेकै मुठीदानसहित जन्मदिन, वार्षिक पुण्यतिथिमा गरिने कार्य, धार्मिक कार्य, विभिन्न संघ संस्थाले खाद्यान्न, लत्ता कपडालगायत नगद तथा जिन्सीका रुपमा प्राप्त हुने सहयोग नै हो । जिल्लाका ११ ओटै स्थानीयतहले यो बालगृह बचाउन हरेक बर्ष सहयोग गर्नुपर्ने आवश्यकता छ । तर सबै स्थानीय तहबाट भनेजस्तो सहयोग प्राप्त हुन सकेको छैन । गत वर्ष सामाजिक विकास कार्यालय, स्याङ्जाबाट रु ५ लाख अनुदान प्राप्त भएको थियो ।

९. वालगृहको भविष्यको योजना र विस्तार सम्बन्धी सोच के छ ?

हाम्रो यस संस्थालाइ सीपमूलक तालिम केन्द्र,मनोपरामर्श कक्ष र आफ्नै विद्यालय सहितको सशक्त बाल संरक्षण केन्द्र बनाउने योजना रहेको छ । अमोर बालगृहले सामाजिक परीक्षण, सरकारी साझेदारी, दाताहरुको विश्वास र समुदायको साथलाई आधार बनाएर बालगृहलाई दीर्घकालीन र आत्मनिर्भर बनाउने सोच अघि सारेको छ । सडक बालबालिकाको पुनस्र्थापना, राहत शिविर, सहयोग वा अपांगता भएका बालबालिकाको सहयोग विस्तार गर्ने सोच रहेको छ । सारमा भन्नुपर्दा बालगृहले बालबालिकाको शिक्षादेखि सीप विकास सम्मको सम्पूर्ण यात्रालाई सुरक्षित र प्रभावकारी बनाउन चाहन्छ ।

१०. अन्त्यमा सामाजिक अभियान्ता वा इच्छुक सहयोगीहरुलाइ पब्लिक आवाज मार्फत के सन्देश दिन चाहानुहुन्छ  ?

सामाजिक परिवर्तन एउटा प्रयासले सुरु हुन्छ हरेक व्यक्तिले सकेको सहयोग पु¥याए परिवर्तन सँगसँगै यि बालबालिकाको उज्ज्वल भविष्य सम्भव छ । हाम्रो संस्थामा सहयोग गर्न इच्छुक सहयोगी मन हाम्रो संस्थामा जोडिन सक्नुहुन्छ । सेवा नै मानवको धर्म हो । अन्तमा, तपाईं जसरी सक्नुहुन्छ, जहाँबाट सक्नुहुन्छ, जे सक्नुहुन्छ – त्यो गर्न सुरु गर्नुहोस् किन भने परिवर्तनका लागि तपाईंको प्रयास मूल्यवान् छ । परिवर्तन सधैं स्थानीय स्तरबाट सुरु हुन्छ । त्यसैले गाउँ, बस्ती, टोल, वा सहरमा भएका समस्याहरुलाई बुझेर, त्यहीँका जनताको आवाजलाई प्राथमिकतामा राखेर काम गर्नुहोस् भन्न चाहन्छु । बालबालिका राष्ट्रका भविष्य हुन् । समाजका दुर्गम कुनाबाट आश्रय खोज्दै आएका ती निहत्था मुहारहरुलाई सुरक्षित घर, माया र अवसर दिन सक्नु हामी सबैको सामूहिक जिम्मेवारी हो ।

प्रतिक्रिया