समावेशी विकास र पारदर्शिताको बाटोमा अर्जुनचौपारी

प्रकाश तिवारी,
(अध्यक्ष)
अजुनचौपारी गाउँपालिका,
स्याङ्जा ।
अर्जुनचौपारी गाउँपालिका गण्डकी प्रदेशअन्तर्गत स्याङ्जा जिल्लामा अवस्थित गाउँपालिका हो । पहाडी भूभाग रहेको यस गाँउपालिका राज्य पुनसंरचना भए पश्चात साविकका अर्जुनचौपारी, रापाकोट, आरुचौर, सतौदरौ गा.वि.स. र साविककै पञ्चमुल गा.वि.स.का ३ र ७ नं. वडाहरु समायोजन गरी वि.स. २०७३ सालमा स्थापना भएको हो । यस गाँउपालिकालाई ६ वटा वडाहरुमा विभाजन गरिएको छ भने केन्द्रको रुपमा साविकको अर्जुनचौपारी गा.वि.स.लाई बनाइएको छ । यसको सिमानामा पूर्वमा पुतलीबजार नगरपालिका, पश्चिममा पर्वत जिल्ला, उत्तरमा आँधीखोला गाँउपालिका र दक्षिणमा भीरकोट नगरपालिका पर्दछन् । यस गाउँपालिका प्राकृतिक स्रोत साधनका साथै धार्मिक तथा ऐतिहासिक सम्पदा, कला, संस्कृति र पर्यटन लगायतका पक्षमा पनि निक्कै धनी छ । यस्तै स्थानीय तहको निर्वाचन भएको पनि ३ वर्ष बितिसकेको छ । ७ सय ५३ ओटा स्थानीय तहका कतिपय जनप्रतिनिधिहरु चुनावको बेला गरेको बाचा र घोषणापत्रहरुप्रति पूरा प्रतिबद्ध छन् भने केही जनप्रतिनिधिले भोट माग्दा प्रयोग गरेको घोषणापत्र कागजमै सीमित राखे । गाउँगाउँमा सिंहदरबार पुग्छ भनेर आश गरेका आम सर्वसाधारणले सामान्य कामकाज पनि सम्बन्धित जिल्ला वा शहरमा नै पुग्नुपर्ने बाध्यता भने अझै टरेको छैन । यसैक्रममा, पालिकाले अघि सारेका आर्थिक विकासको रणनीति, उद्यमशीलता र रोजगारी प्रवर्धनमा पालिकाको नीति, पालिकाले गरेको विकास निर्माणको काम कस्तो छ तथा पालिकाका योजना लगायतका विषयमा केन्द्रित रहेर सो गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीसँग पब्लिक आवाजका सम्पादक अमृत अर्यालले गरेको कुराकानी……………

१. अध्यक्ष ज्यू आराम हुनुहुन्छ ? तपाईं भर्खरै मात्र राष्ट्रका ४० बर्षमुनीका उत्कृष्ट ४० युवाको सुचिमा सूचिकृत हुनुभयो कस्तो अनुभव गर्दै हुनुहुन्छ ?

धन्यवाद, नमस्कार । म आरामै छु । राष्ट्रका उत्कृष्ट युवाको सुचिमा पर्दा राम्रै खुशी अनुभूत भएको छ । यो सम्मान अनुशारको कार्यसम्पादन गर्न अझै जिम्मेवारीवोध महशुश भएको छ । राष्ट्रका ४० वर्षमुनिका उत्कृष्ट ४० युवाको सूचीमा सूचिकृत हुनु एकदमै सम्मानजनक र गर्वको विषय हो । यो उपलब्धिले ममा जिम्मेवारीको भावना अझ गहिरो बनाएको छ । यसले मैले गरेको मेहनत, प्रतिबद्धता र योगदानलाई मूल्यांकन गरिएको अनुभूति दिलाएको छ । साथै, यो सम्मान केवल व्यक्तिगत उपलब्धिमात्र नभई, मेरो वरपरका सबै प्रेरणादायी व्यक्तिहरु, टिम र सहयोगीहरुको योगदानको पनि मान्यता हो । अबको यात्रामा अझै सकारात्मक प्रभाव पार्न, नयाँ ऊर्जासाथ काम गर्न र युवाहरुलाई प्रेरित गर्ने दिशामा अघि बढ्ने प्रेरणा पनि मिलेको छ । धेरै धेरै आभारी छु यो अवसर र विश्वासको लागि ।

२. सानै उमेरमा गाउँपालिकाको अध्यक्ष बन्छु भन्ने सोच तपाईंलाई कहिले र किन आयो ?

मस्टर डिग्री गरेर काठमाडौं आइसकेपछी नेताहरुले देश बिगारे भन्ने मात्र सुने । तपाईजस्ता युवाहरुले राम्रो खालको दिशानिर्देश गर्नुप¥यो भन्नेहरु पनि भेटे । राजनीतिमा प्रवेश गरेर आफै केही गर्न सकिएला कि नसकिएला भन्ने पनि लाग्थ्यो । सधैं नेताहरुलाई मात्र दोष लगाएर हुदैंन भनेर आफैं त्यहाँ पुग्ने आँट गरेको हुँ । यसअघिको काँग्रेसको महाधिवेशनमा एकैपटक प्रदेश सभापति लडे र जितियो पनि । त्यसपछी अध्यक्ष बन्छु भन्ने सोच आयो । मेरो परिवारका सदस्य पनि राजनीतिमा छन् । राजनीति मेरो पनि चाहना र रुचिको विषय हो । समाजसेवा गर्नका लागि म राजनीतिमा आएको हुँ ।

३. अर्जुनचौपारी गाउँपालिका अहिले स्वमूल्याङ्कनमा जिल्लामै पहिलो स्थानमा पनि छ, के भन्छन् हिजो तपाईंलाई जिताउने मतदाताहरु ?

मतदाताहरु सन्तुष्ट हुनुहुन्छ होला जस्तो लाग्छ । हामीले सिमित स्रोत र साधनका बाबजुत पनि आधारभूत सेवाहरुमा सुधार ल्याएका छौं । स्थानीय स्तरमा राजनीतिक पूर्वाग्रह राख्नेहरु बाहेक आम मतदाता त खुशी नै भएको मान्छु । कसैकसैलाई आफुभन्दा जुनियर मान्छे पालिका प्रमुख भयो भन्ने लागेको पनि हुनसक्छ । धेरैजनाले त अब ०८४ मा पनि तपाई नै हो है भन्न थाल्नुभएको छ । मतदाताहरुकै समर्थनमा म अध्यक्षमा निर्वाचित भएको हुँ । म निर्वाचित भएकोमा उहाँहरु धेरै खुशी हुनुहुन्थ्यो । उहाँहरुको अपेक्षा धेरै छ । यो गाउँपालिका विकासको दृष्टिकोणले धेरै पिछडिएको छ । गाउँबासीलाई धेरै दुःख छ । मप्रति उहाँहरुको धेरै विश्वास छ । उहाँहरुको आशालाई मर्न दिन्नँ । मन र मस्तिष्कमा राखेर अर्जुनचौपारीलाई देशकै उत्कृष्ट गाउँपालिका बनाउने मेरो चाहना छ ।

४. तपाईं पढेलेखेको एक शिक्षित युवा हुनुहुन्छ । अहिलेसम्म गाउँपालिकामा समस्या र चुनौती के–के देख्नुभयो ?

समस्या र चुनौतीहरु गाउँपालिकामा धेरै छन् । यहाँ बसाइसराइको मुख्य समस्या छ । सरकारी विद्यालयमा अझै गुणस्तरीय शिक्षा प्रदान गर्न सकिएको छैन । कामभन्दा गफ गर्ने प्रवृत्ति पनि समस्याकै रुपमा रहेको छ । खेतीयोग्य जमिन बार्झै छन् । यहाँ शिक्षा, स्वास्थ्यमा धेरै सुधार गर्नुपर्ने छ । खेलकुदमा पनि धेरै विकास गर्नुपर्ने छ । सडक, खानेपानी, विद्युतीकरण, कृषि फार्म, भौतिक संरचना लगायत धेरै कुरामा सुधार गर्नुपर्ने छ । हामीसँग घोषणापत्र पनि छ, त्यो घोषणापत्रको आधारमा सुधारका काम अगाडि बढेका छन् । यहाँका समस्याहरु समाधान गर्न सामूहिक प्रयास, स्थानीय तहमा दक्ष जनशक्ति, प्रविधिको प्रयोग, र नागरिकको सक्रिय सहभागिता अत्यावश्यक छ । शिक्षित युवाको हैसियतले म विश्वास गर्छु—यदि हामी सबै मिलेर काम ग¥यौं भने गाउँपालिकालाई समृद्ध बनाउन सकिन्छ ।

५. तपाईं आफ्नै स्वविवेकले राजनीतिमा आउनुभयो कि कसैको आग्रह वा आवश्यकतामा राजनीतिमा होमिनुभयो ?

आफ्नै स्वविवेकले म राजनीतिमा आएको हुँ । मेरो परिवार पनि राजनीतिक पृष्ठभूमिको भएकाले बेलैमा केही गर्छु भन्ने हुटहुटीले यस क्षेत्रमा आएको हुँ । अध्ययन पूरा भएपछि राजनीतिमा आउने मेरो पहिल्यैदेखिको सोच हो । राजनीति मेरो रुचिको विषय पनि हो । गाउँ र समाजको सेवा गर्न आएको हुँ । राजनीतिमा आउनुको निर्णय मेरो स्वविवेक र समाजप्रतिको उत्तरदायित्वबोध को परिणाम हो । मलाई थाहा थियो — परिवर्तनको अपेक्षा मात्र गरेर होइन, त्यसमा सक्रिय सहभागी भएर मात्र समाजमा सकारात्मक प्रभाव पार्न सकिन्छ । म आफूले देखेका असमानता, अभाव र अवसरहरुको कमीलाई नजिकबाट महसुस गर्दै हुर्किए । ती समस्याहरुको दीगो समाधान नीतिगत तहमै सम्भव हुन्छ भन्ने बुझेपछि, राजनीतिमा सक्रिय सहभागिता जरुरी ठानेँ । तर, साँचो कुरा के हो भने — मेरो निर्णयमा समाजका केही अग्रजहरु, शिक्षकहरु र साथीहरुको प्रेरणा र समर्थन पनि महत्वपूर्ण थियो । उनीहरुले मलाई क्षमता, नेतृत्व र ईमान्दारीता देखेर अगाडि आउन हौस्याएका थिए । अन्ततः राजनीतिमा आउनु न त केवल व्यक्तिगत आकांक्षा थियो, न त केवल कसैको आग्रहमा—यो थियो आवश्यकता र कर्तव्यबोधको संयोजन, जुन मेरो विचार, मूल्य र उद्देश्यसँग मेल खान्थ्यो । राजनीति मेरो लागि शक्ति प्राप्तिको साधन होइन, सेवाको माध्यम हो — जहाँ म आफूले बुझेको समस्या समाधान गर्न सकूँ र आगामी पुस्तालाई अझ सक्षम र न्यायपूर्ण समाज हस्तान्तरण गर्न सकूँ ।

६. सुरुमा निर्वाचनताका एकैचोटी कहिकतै नामै नसुनेको युवा पालिका प्रमुख हुन आयो भन्नेहरु पनि थिए, तपाईं योभन्दा अगाडि कुनै पार्टीको सदस्य वा संगठनामा हुनुहुन्थ्यो ?

नेपाली काँग्रेसको अघिल्लो महाधिवेशन अगाडी म कुनै पनि पार्टीको जिम्मेवार पोस्टमा थिइन । मलाई पहिल्यै देखि नै यहाँका जनताले भविष्यको उम्मेदवारको रुपमा हेरेका थिए । जनताको चाहना र मेरो रुचिले अध्यक्षको उम्मेदवार बनेको हुँ । एकैचोटी आएर राजनीतिमा लाग्यो भन्ने होइन । अध्ययन पूरा गरेर राजनीतिमा आउँछु भन्ने सोच थियो । अध्ययन सकेर आउँदा अलि ढिला भयो । हो, सुरुमा जब म पालिका प्रमुखको उम्मेदवारको रुपमा अघि बढें, धेरैले भने, “नामै नसुनेको मान्छे, कहाँबाट आयो?” यो स्वाभाविक प्रतिक्रिया थियो, किनकि म परम्परागत राजनीति गर्ने शैलीबाट आएको थिइन । प्रचार कम थियो तर काम गर्ने सोच र योजनामा स्पष्टता थियो । मैले यसअघि कुनै पनि पार्टीको औपचारिक सदस्यता लिएको थिइनँ, न कुनै पार्टीको स्थायी संरचनामा बसेको थिएँ । तर यसको मतलब म राजनीति वा सामाजिक गतिविधिबाट टाढा थिएँ भन्ने होइन ।

७. अहिले तपाइको नेतृत्वमा निर्माण गरिएको नवग्रह मन्दिरको कारण पनि अर्जुनचौपारी राष्ट्रिय स्तरमा समेत चिनिएको छ, तर सुरुमा एक युवालाई पार्टीले उम्मेदवार बनाउँदै गर्दा आम मतदाताको प्रतिक्रिया कस्तो आएको थियो ?

हो, अहिले नवग्रह मन्दिर हाम्रो गाउँपालिकाको गौरवको विषय बनेको छ । स्थानीय सांस्कृतिक, धार्मिक र पर्यटनको सम्भावनालाई उजागर गर्ने हाम्रो एउटा साझा सपना थियो, जुन आज अर्जुनचौपारीलाई राष्ट्रिय स्तरमा चिनाउने परियोजना बन्न सफल भयो । अहिले बल्ल यसले हाम्रो पालिकालाई देश विदेशमा चिनायो भन्नुहुहुन्छ । सुरुमा त हाम्रो भाग खोस्न आयो भन्नेहरु पनि थिए । युवाहरुको त साथ पाएकै थिए । धेरैले त मलाई सुरुबाटै समर्थन गर्नुभएको थियो । पब्लिकले स्वीकार गरेकै कारण हाम्रो मतपरिणम पनि सोही अनुशारकै थियो । जनताले मलाई समर्थन र विश्वास गर्नुभयो । यो पढेलेखेको भर्खरको युवा छ, यसले नराम्रो गर्दैन भन्ने उहाँहरुको विश्वास ममाथि खनियो । आम मतदाताकै विश्वासले म आज गाउँपालिकाको अध्यक्ष भएको छु् । म उहाँहरुको विश्वास टुट्न दिने छैन ।

८. अबको २ वर्षमा तपाईं गाउँपालिकालाई कस्तो बनाउने योजनामा हुनुहुन्छ ?

हामी क्रमिक रुपमै अगाडी बढेका छौं । हामी अर्जुनचौपारीलाई नवग्रहको माध्यमबाट छुट्टै पहिचान दिलाउन सफल भएका छौं । युवापुस्ताको आकर्षणका लागि हामी क्रिकेट खेलमैदान समेत गराउँदै छौं । विस्तारै शिक्षामा सुधार हुदैंछ । वार्षिक २०÷२५ लाखको आन्तरिक आय बढेर डेढ करोड पुगेको छ । यो गाउँ हो । सबै किसिमका रोगका उपचार गाउँपालिकामै गर्ने मेरो सोच छ । जिम हल छैन । क्रिकेट मैदान छैन । खेल्नका लागि सामग्री छैन । त्यो उपलब्ध गराउनेछु । अबको २ वर्ष मेरो कार्यकालको अन्तिम तर सबैभन्दा निर्णायक समय हो । यही समयमा मैले जनतालाई देखाएको भिजनलाई मूर्त रुप दिनु छ । त्यसैले, मैले अबको दुई वर्षका लागि स्पष्ट, व्यवहारिक र परिणाममुखी योजना तय गरेको छु । पूर्वाधार विकासको गति तीव्र बनाउने, नवग्रह मन्दिर केन्द्रित पर्यटन विकास गर्ने, शिक्षा सुधार र डिजिटल पालिका बनाउने, कृषि, रोजगारी र उद्यम प्रवद्र्धन गर्ने, सुशासन, जवाफदेहिता र नागरिक सहभागिता बृद्धि गर्ने योजना रहेको छ । अबको दुई वर्षमा अर्जुनचौपारीलाई “समान विकास, समावेशी सेवा र स्थानीय रोजगारीसहितको आत्मनिर्भर पालिका“ बनाउने लक्ष्य छ । यदि जनताको साथ, सहकार्य र सुझाव निरन्तर पाइरहें भने म कामको नतिजा देखिने पालिका निर्माणमा कुनै कसर बाँकी राख्दिनँ ।

९.चुनावताका तपाईको मुख्य नारा के थियो र त्यसको सम्बोधनको काम के कति भयो ?

त्यतीबेला मैले ठूला नारा दिएको थिइन् । युवा भएको हिसाबले संघ र प्रदेशबाट केही रकम ल्याउन सक्छु कि भन्ने थियो, सोही अनुशारको बजेट प्राप्त पनि भएको छ । चुनावताका मेरो मुख्य नारा थियो “युवा नेतृत्व, पारदर्शी विकास – समावेशी समाजको आधार” । यो नारा केवल चुनाव जित्न बनाइएको नारामात्र थिएन, यो मेरो दृष्टिकोण, काम गर्ने शैली र पालिका रुपान्तरणको योजनाको संक्षिप्त सार थियो । मेरो चुनावी नाराको बेसलाइन पूरा भएको छ र बाँकी सुदृढीकरण र संस्थागत स्थायित्वका लागि आगामी २ वर्षमा थप योजना कार्यान्वयन हुँदैछ । मैले चुनावी वाचा भुलिनँ, नतिजा देखाउन थालेको छु । अब जनताको निरन्तर सहयोग र निगरानी नै बाँकी काम सफल पार्ने मेरो पनि प्रेरणा हो ।

१०. अन्त्यमा पब्लिक आवाज मार्फत आम नागरिकहरुलाई के भन्न चाहनुहुन्छ ?

सर्वप्रथम त अर्जुनचौपारीवासीको साथ र सहयोगका लागि धन्यवाद भन्न चाहन्छु । हामी तपाइहरुको सेवामा प्रतिवद्ध छौं । तपाईंहरुकै विश्वासले म आज यहाँ छु । चुनावको बेला धेरैले विश्वास गर्न गाह्रो मानेका थिए — “नयाँ अनुहार, युवा उमेर, कति सक्षम होला?” तर तपाईंहरुले हिम्मत गर्नुभयो र साथ दिनुभयो । त्यो विश्वास मेरो लागि सबैभन्दा ठूला कुरा हो । त्यसैले, तपाईंहरुको विश्वासलाई म श्रम र परिणामले फर्काउने संकल्पमा छु । पालिका विकास सरकारको मात्र होइन, हामी सबैको साझा काम हो । सरकार एउटा संयन्त्र मात्र हो । परिवर्तन तब मात्र सम्भव हुन्छ जब नागरिक सचेत, सक्रिय र उत्तरदायी हुन्छन् । हामीले बनाएका नीति, योजना र सेवा तपाईंहरुसम्म पुग्न, तपाईंहरुको सहभागिता अनिवार्य छ । कृपया गुनासो मात्र होइन, सुझाव पनि दिनुहोस् । कुरो काट्ने होइन — सुधारको बाटो देखाउनुहोस् भन्न चाहन्छु ।

प्रतिक्रिया